जुम्लामा प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयकाे अवलोकन
काली बहादुर परियार
जुम्ला,५ चैत ।
कर्णालीको विकट भूगोलमै प्रधानमन्त्रीको अप्रत्याशित उपस्थिति देखिँदा जुम्ला यतिबेला राजनीतिक र शैक्षिक रूपमा एकाएक चर्चामा आएको छ । प्रधानमन्त्री सुशीला कार्कीले विहिबार जुम्ला स्थित ऐतिहासिक कर्णाली प्राविधिक शिक्षालयको अवलोकन गर्दै यहाँको सम्भावना र समस्यालाई नजिकबाट नियालेकी छन् ।
जुम्ला पुगेकी प्रधानमन्त्री कार्की सुर्खेत बाट रारा ताल हुँदै जुम्ला आइपुगेकी हुन् । सदरमुकाम खलंगाको उत्तरी क्षेत्रमा अवस्थित शिक्षालयमा पुगेपछि उनले प्राविधिक शिक्षाको वर्तमान अवस्था, पूर्वाधार र जनशक्ति उत्पादनको अवस्था बारे प्रत्यक्ष जानकारी लिइन् ।
प्रधानमन्त्रीको सुरक्षाका लागि प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको समन्वयमा नम्बर २४ बाहिनी अड्डाले कडा सुरक्षा व्यवस्था मिलाएको थियो । अवलोकनकै क्रममा शिक्षालय परिसर नजिकै निर्माणाधीन एक मेगावाट क्षमताको सौर्य ऊर्जा आयोजनाको समेत निरीक्षण गरिएको छ ।
जसले आगामी दिनमा ऊर्जा आपूर्तिमा ठूलो राहत दिने अपेक्षा गरिएको छ । २०३७ सालमा स्थापना भएको कर्णाली प्राविधिक शिक्षालय कर्णाली मात्र नभई देशकै प्राविधिक शिक्षाको महत्वपूर्ण धरोहरका रूपमा चिनिन्छ ।
यहाँ कर्णालीका १० जिल्लासहित विभिन्न क्षेत्रका हजारौ विद्यार्थी प्राविधिक शिक्षा अध्ययनरत छन् । अहिले सम्म यस शिक्षालयबाट उत्पादन भएका ४ हजारभन्दा बढी दक्ष जनशक्ति रोजगारीमा संलग्न भइसकेका छन्, जसले यसको प्रभावकारिता स्पष्ट देखाउँछ ।
तर, यति महत्वपूर्ण संस्था समेत राज्यको प्राथमिकतामा नपर्दा अपेक्षित रूपमा स्तरोन्नति हुन नसकेको स्थानीयको गुनासो छ । प्रधानमन्त्री कार्कीको यो अवलोकनले अब शिक्षालयको विकास, पूर्वाधार विस्तार र गुणस्तर सुधारका मुद्दा राष्ट्रिय एजेन्डामा प्रवेश गर्ने आशा जुम्लाबासीमा पलाएको छ ।





