नविन शिक्षण अभ्यासमा जोड: नेल्टा बाँकेद्वारा १६औँ साधारण सभा तथा जिल्ला सम्मेलन सम्पन्न

बाँके ,२१ चैत ।
नेपाल अङ्ग्रेजी भाषा शिक्षक संघ (NELTA) बाँके शाखाको आयोजनामा १६औँ वार्षिक साधारण सभा (AGM) तथा जिल्ला सम्मेलन २०२६ कोहलपुरस्थित ज्ञान बहुमुखी क्याम्पसमा भव्यताका साथ सम्पन्न भएको छ। “Innovative Practices and Professional Growth in ELT” विषयमा केन्द्रित उक्त कार्यक्रममा जिल्लाभरका ६० भन्दा बढी अङ्ग्रेजी भाषा शिक्षकहरूको उत्साहजनक सहभागिता रहेको थियो।


कार्यक्रम NELTA बाँके शाखाका अध्यक्ष प्रमोद सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथिका रूपमा कोहलपुर नगरपालिकाका नगरप्रमुख पुर्णप्रसाद आचार्यको उपस्थिति रहेको थियो भने विशिष्ट अतिथिहरूमा कोहलपुर नगरपालिका सामाजिक विकास समिति संयोजक इश्वरीप्रसाद बि.क., NELTA लुम्बिनी प्रदेश अध्यक्ष गोपालप्रसाद बस्याल, ज्ञान बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख टेकबहादुर गुरुङ, NELTA बाँकेका सल्लाहकार तथा NELTA लुम्बिनीका वरिष्ठ उपाध्यक्ष होमराज खड्का तथा NELTA दाङका अध्यक्ष दामोदर गिरीको गरिमामय उपस्थिति रहेको थियो।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि पुर्णप्रसाद आचार्यले अङ्ग्रेजी भाषा शिक्षण क्षेत्रमा NELTA ले पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्नुभयो। उहाँले शिक्षामा सूचना तथा सञ्चार प्रविधि (ICT) र कृत्रिम बुद्धिमत्ता (AI) को प्रभावकारी प्रयोगमार्फत गुणस्तर अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो। साथै, स्थानीय तह र पेशागत संस्थाबीच सहकार्यलाई अझ सुदृढ बनाउँदै शिक्षकहरूको क्षमता विकासमा लगानी बढाउनुपर्ने धारणा व्यक्त गर्नुभयो।
विशिष्ट अतिथि इश्वरीप्रसाद बि.क.ले शिक्षकहरूको पेशागत विकास नै शिक्षा सुधारको मूल आधार भएको उल्लेख गर्दै यस्ता कार्यक्रमहरूले शिक्षकहरूलाई व्यवहारिक रूपमा सक्षम बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा पनि स्थानीय तहले NELTA सँग सहकार्य गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो।


सम्मेलन अन्तर्गत सञ्चालन गरिएका कार्यशाला तथा शैक्षिक सत्रहरूमा गोपालप्रसाद बस्याल, होमराज खड्का, प्रमोद सुवेदी, सञ्जिव कुमार सींघल, बिन्दु सुवेदी र शिवशरण उपाध्यायले प्रस्तुती दिएका थिए। प्रस्तुतिहरू नविन शिक्षण विधि, ICT तथा AI को प्रयोग र कक्षाकोठा अभ्याससँग सम्बन्धित रहेका थिए, जसले सहभागी शिक्षकहरूलाई व्यवहारिक तथा उपयोगी ज्ञान प्रदान गरेको आयोजकले जनाएको छ।


त्यसैगरी, वार्षिक साधारण सभा अन्तर्गत संस्थाको वार्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरी छलफलसहित अनुमोदन गरिएको थियो। आगामी कार्ययोजना सम्बन्धी विषयमा समेत सहभागीहरूबीच रचनात्मक छलफल भएको थियो।
कार्यक्रमको सञ्चालन भिम प्रसाद खरेलले गर्नुभएको थियो। सहभागीहरूले कार्यक्रमलाई समयसापेक्ष, ज्ञानमूलक तथा प्रभावकारी भएको प्रतिक्रिया दिएका छन् ।

नविन शिक्षण अभ्यासमा जोड: नेल्टा बाँकेद्वारा १६औँ साधारण सभा तथा जिल्ला सम्मेलन सम्पन्न

सम्पादकीय : कानुन कार्यान्वयनलाई प्रभावकारी बनाऊ 

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds