जुम्लामा मार्सी धानको बेर्ना राखियो
गाेल्डेन बुढा
जुम्ला,२० चैत।
जुम्लाका किसानहरूले प्रसिद्ध कालीमार्सी र रातीमार्सी धानको बेर्ना राखेका छन् । परम्परागत संस्कारअनुसार चैत २० गते उमारेर टुसा भएको धानको बेर्ना राख्ने चलन रहिआएको छ । सोही परम्पराअनुसार शुक्रबार किसानहरूले टुसा उमारेको धानको बेर्ना राखेका हुन् ।पुरानो संस्कारअनुसार चैत १२ गते बिउलाई पानीमा बोराभित्र राखेर भिजाइन्छ, १६ गते बाहिर निकालिन्छ र २० गते बेर्नामा छरिन्छ । हरेक वर्ष चैत २० गते कर्णालीमार्सी धानको बिउ घरमै उत्पादन गरी बेर्नामा छर्ने गरिन्छ । चैत १२ लाई यहाँको संस्कारमा ‘विच्छेति’ पनि भनिन्छ । अर्थात धानको बिउ बोरामा पानीमा भिजाइ राख्ने दिनलाई धान उत्पादनको आरम्भ दिनका रूपमा लिइन्छ ।स्थानीय चलनअनुसार महिलाले मागल पुकारेसँगै चन्दननाथ, भैरवनाथ, कनकासुन्दरी, मष्टो, कालिका, मालिका देवता तथा आ–आफ्ना कुलदेवताहरूलाई सम्झेर चैत १२ गतेबाट धान उत्पादन सुरु गरिन्छ । विशेषगरी जुम्लामा चन्दननाथ बाबाले दिएको उपदेशका आधारमा धान खेतीको सुरुवात गरिएको पाइन्छ ।इतिहासअनुसार श्री शाके ९६३ अर्थात विसं १०९८ सालमा जुम्लामा धान खेती सुरु भएको उल्लेख छ । त्यसपछि विशाल खस सिञ्जा राज्यभर विसं १११२ मा धान खेती विस्तार भएको इतिहास भेटिन्छ । चन्दननाथ बाबाले चैत १२ गते बिउ राखी २० गते बेर्नामा छर्न तथा आफन्त र छोरी–कुटुम्बलाई बोलाई मिठो भोजन गराउन उपदेश दिएको भन्ने किंवदन्ती छ । चैत १६ गते भिजाइएको धानको चिउरा कुट्ने र खाने चलन पनि रहिआएको छ ।मार्सी धानको खेतीसँगै यसको महत्व पनि उत्तिकै मानिन्छ । यसलाई विभिन्न रोगको औषधिका रूपमा समेत प्रयोग गरिन्छ । यसको रातो भातको खीर स्वादिलो मानिन्छ । इतिहासमा राजपरिवारमा समेत जुम्लाकै मार्सी धान पठाउने गरिएको उल्लेख पाइन्छ । पछिल्लो समय नेपालका पुर्व प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जुम्ली मार्सी भात खाएको सार्वजनिक भएपछि यसको लोकप्रियता थप बढेको छ ।

अहिले नेपाली बजारमा यसको माग बढ्दो छ ।जुम्लामा लामो समयदेखि मार्सी धान खेती हुँदै आए पनि विश्वकै अग्लो स्थानमा धान फल्ने छुम चौर क्षेत्रमा यसको खेती घट्दै गएको स्थानीय देवीप्रसाद सिम्खाडाले बताए । पछिल्लो समय कीटनाशक औषधिको प्रयोग बढ्नु र पानीका मुहान सुक्दै जानुले खेतीमा ह्रास आएको हो । जुम्लालाई प्राङ्गारिक जिल्ला घोषणा गरिए पनि पर्याप्त सिँचाइ व्यवस्था नहुँदा उत्पादन बढाउन चुनौती रहेको छ ।यहाँ मार्सीधान, चन्दननाथ–१, चन्दननाथ–३, लेकाली–१ र लेकाली–३ जातका धान रोप्ने गरिन्छ । कृषि अनुसन्धान केन्द्रले चन्दननाथ–१ र ३ सिफारिस गरिसकेको छ, भने मार्सी १८, २० र २२ परीक्षणको चरणमा छन् । कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार समुद्री सतहदेखि करिब तीन हजार ५० मिटर उचाइमा फल्ने जुम्ली मार्सी धान स्वाद र पोषणका दृष्टिले अत्यन्त महत्वपूर्ण छ ।उनका अनुसार जुम्ली मार्सी चामलबाट वार्षिक करिब ३ करोड ५० लाख रुपैयाँ आम्दानी हुने गरेको छ । यस वर्ष ६ हजार १ सय २५ मेट्रिक टन उत्पादन भएको छ भने अघिल्लो वर्ष २ हजार ८ सय ९० हेक्टर क्षेत्रफलमा ५ हजार ९ सय ८७ मेट्रिक टन उत्पादन भएको थियो । यो अघिल्लो वर्षको तुलनामा २.३ प्रतिशतले बढी हो । रोपाइँ क्षेत्र घटेर २ हजार ८८ हेक्टरमा सीमित भए पनि उत्पादन भने बढेको छ । जुम्ली मार्सी धानको सहरमा माग बढ्दो छ । हाल जुम्लामा २ हजार ८ सय ९० हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ ।कुनै समय ८० मुरीसम्म उत्पादन हुने खेत अहिले ३० मुरीमा सीमित भएको किसानहरूको गुनासो छ । कामका लागि बाहिर गएका स्थानीयहरू पनि यही समयअघि घर फर्किने परम्परा छ । ‘चैत १२ मा नआएको जुम्ली मर्यो सरह’ भन्ने जनविश्वासले यसको सामाजिक महत्व झल्काउँछ । जुम्ली मार्सी चामल प्रतिकिलो १ सय ८० रुपैयाँमा बिक्री हुँदै आएको छ ।देशभर असार १५ मा धान दिवस मनाइए पनि जुम्लामा चैत १२ देखि २० गतेसम्म धान दिवस मनाउने गरिन्छ । संघीयता कार्यान्वयनसँगै प्रदेश सरकार बनेपछि जुम्लामा चैत १२ गते सार्वजनिक बिदा दिने व्यवस्था गरिएको छ । प्रदेश सभा सदस्य हुँदै कानुन मन्त्री बनेका नरेश भण्डारीको पहलमा २०७७ जेठ १२ गते बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले उक्त दिनलाई धान दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।चन्दननाथ बाबाले कश्मिरबाट धान ल्याएको मान्यताअनुसार आज पनि चन्दननाथ र भैरवनाथलाई नयाँ धान एक–एक पाथी छुट्याएर चढाउने चलन छ । जिल्लाका आठै स्थानीय तहमा मार्सी धान खेती हुने भए पनि पातारासी गाउँपालिकाको छुम, चौर र ज्युलो क्षेत्रमा सबैभन्दा बढी खेती गरिन्छ । बिउ राख्दा भेँडाबाख्राको धुलो मल, कालो कोइला र घर बढारेको कसिङ्गर मलका रूपमा प्रयोग गरिन्छ ।





