जुम्लाका ६० वडामध्ये १४ वटा वडा बालविवाह मुक्त घोषणा
गोल्डेन बुढा
जुम्ला / जुम्लाको हिमा गाउँपालिका भित्रका ६ वटा वडा बालविवाह मुक्त गरिएका छन् । ७ वटा वडा मध्ये ६ वडालाई बालविवाह मुक्त गरिएको हो ।
शुक्रबार– ७ वडालाई बालविवाह मुक्त गरिएको थियो । सिंजा क्षेत्रमा पर्ने हिमा गाउँपालिकाका वडा नं. १, २, ३, ४, ५ र ७ वडाहरु बालविवाह मुक्त वडा घोषणा भएका छन् । बालविवाहले मानव जीवनमा गर्ने असरलाई न्युनीकरण गर्नका लागि हिमा गाउँपालिकाले सबै वडामा आधारभूत सूचक पुरा गरेर बालविवाह मुक्त गाउँपालिका अभियानमा अगाडि बढेको छ।एक मात्रै वडा बाँकी छ । छिट्टै बालविवाह मुक्त घोषणा गर्ने तयारी छ ।
जुम्लामा एक नगरपालिका र सात गाउँपालिका गरी आठ वटा स्थानीय तह छन् । यी स्थानीय तहअन्तर्गत ६० वटा वडा छन् । जसमा अझै ४६ वडा बालविवाहमुक्त हुन बाँकी छन् । १४ वटा वडा बालविवाह मुक्त वडा घोषणा भइसकेका छन् । हिमा गाउँपालिकाका वडा नं. १, २, ३, ४, ५ र ७ वडा यस्तै, सिंजा गाउँपालिका वडा नं. २, ४ र ६ यता कनकासुन्दरी गाउँपालिका वडा नं. ४ र जुम्लामा पहिलोपटक जुम्लाको पातारासी गाउँपालिका–५ वडालाई बालविवाह मुक्त वडा घोषणा गरिएको थियो ।
तिला गाउँपालिकाको वडा– ६ र गुठिचौर गाउँपालिका– ४ वडा यसअघि नै बालविवाह मुक्त घोषणा भइसकेका थिए।हिमा गाउँपालिकामा “बिहेवारी २० वर्ष पारी, हामी सबैको ऐक्यबद्धता, बालविवाह मुक्त हिमा गाउँपालिकाको प्रतिबद्धता“भन्ने मूल नाराका साथ धमाधम बालविवाह मुक्त वडा घोषणा भइरहेका छन् । स्थानीय तहले घोषित वडामा बालविवाह सम्बन्धी रणनीति जारी, बाल संरक्षण नीति लागु, बालविवाह मुक्त अभियान सञ्चालन निर्देशिका, बाल अधिकार संरक्षण समिति गाउँपालिका, वडा र विद्यालय स्तरमा क्रियाशील रहेको लगायतका मापदण्ड पूरा भएकाले वडालाई बाल विवाहमुक्त घोषणा गरिएको छ ।
राष्ट्र घोषणा गर्ने लक्ष्यअनुसार गैरसरकारी संस्थाको सहयोग र समन्वयमा यहाँका स्थानीय तहले बालविवाहमुक्त वडा घोषणा गरिरहेका छन् । मुलुकी अपराध संहिता ऐन २०७४ अनुसार बाल विवाह गर्ने व्यक्तिलाई तीन वर्ष सम्म कैद र तीस हजारसम्म जरिवाना हुने कानूनी व्यवस्था गरिएको छ ।



