पैसाको प्रलोभनमा अबैध अफिम खेतीदेखि ओसार्ने भरिया बन्दा जेलको यात्रा

सुर्खेत, २९ असार ।
सुर्खेत प्रहरीले गएको जेठ महिना यता एउटा अपरेशन चलाइ रहेको थियो । उक्त अपरेशनको मुख्य उद्देश्य थियो, कानूनीरुपमा अबैध मानिने लागुऔषध अफिम कारोवारी समात्नु ।

मध्य जेठमा सुर्खेतको भेरीगंगा नगरपालिकास्थित छिन्चुमा ठुलो परिणाममा अफिमको कारवार भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले स्टिङ अपरेशन चलायो । तर प्रहरीले छापा हान्न लागेको थाहा पाएपछि जाजरकोटबाट ल्याइएको ठुलो परिणाको अफिम प्रहरीले फेला पार्न नपाउदै ओसार पसारमा संलग्न व्यक्तिहरुले शौचालयमा हालेर नष्ट गरे ।

अफिमको केही अंश भने प्रहरीले फेला पा¥यो । सोही दिनदेखि प्रहरीको लागुऔषध व्यूरो छिन्चु क्षेत्रमा सुक्ष्म अनुसन्धानमा खटियो । जाजरकोटबाट ठुलो परिणाममा प्रशोधन गरिएको अफिम भारततर्फ लगिँदै छ भन्ने सूचनाका आधारमा झण्डै एक महिना लामो अनुसन्धान थालेको प्रहरीले २५ असारमा अचम्मको तथ्य फेला पारयो ।

सो दिन लागुऔषध अफिम भारततर्फ निकासी हुन लागेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेत र इलाका प्रहरी कार्यालय छिन्चुबाट अनुसन्धान अधिकृतसहित खटिएको प्रहरीले जाजरकोटको जुनिचाँदे गाउँपालिका–१०, का ४६ वर्षीय जयबहादुर बस्नेतलाई संकाको घेरामा राखेर सोधपुछ गरयो ।

प्रहरीको केरकारपछि बस्नेतले बोकेको कालो रंगको झोलामा पाँच किलो पाँच सय ४० ग्राम लागुऔषध अफिम फेला प¥यो । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार आर्थिक लाभ लिने उद्देश्यले बस्नेत जाजरकोटमा अवैध अफिम खेतीमा संलग्नसँगै आसपासका क्षेत्रबाट संकलन गरी नेपाल–भारत सिमावर्ती क्षेत्र बाँकेको रुपैडियाँसम्म पु¥याउने गिरोहमा संलग्न हुँदै आएको खुलेको छ ।

अबैध बाटोबाट पैसा कमाउने धन्दामा लागेका बस्नेत यसअघि पनि ठुलो परिणाममा अवैध अफिम भारत निकासी गर्ने गिरोहका मुख्य भरिया रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । लागुऔषध कसुरमा जन्मकैदसम्मको सजायमा नजरअन्दाज गर्दा बस्नेतको जेल यात्रा तय भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक सुधिरराज शाहीले छोटो समयमा बढी आर्थिक लाभ लिने उद्देश्यले जाजरकोटबाट सिमावर्ती क्षेत्रसम्म अफिम पुरयाउने कार्यमा संलग्न मध्येका बस्नेतलाई पक्राउ गरी अनुसन्धान थालिएको बताए ।

‘हामीलाई केही महिना यता ठुलो परिणामको आगुऔषध अफिम भारत लगिदै छ भन्ने सूचनाका आधारमा अनुसन्धान थलिएको थियो,’ शाहीले भने, ‘अनुसन्धान गर्दै जादा केही आफुले उत्पादन गरेको र बाँकी जाजरकोट लगायतका क्षेत्रबाट संकलन गरेर ल्याएको शुद्ध अफिमसहित बस्नेतलाई पक्राउ गरिएको हो । उनलाई लागुऔषध नियन्त्रण ऐनमा भएको व्यवस्था अनुसार कारवाही हुन्छ ।’

शाहीले अफिमलाई भारतीय बजारमा पठाउन लागुऔषध कारोवारीको सञ्जालले आर्थिक प्रलोभनमा पारी भरियाका रुपमा महिलालाई समेत प्रयोग गर्दै आएको बताए । प्रहरी प्रमुख शाहीका अनुसार २०८२ को तीन महिना (बैशाख, जेठ र असार)को अवधिमा लागुऔषध मुद्दामा ३९ पुरुष र पाँच महिला गरी ४४ व्यक्ति प्रक्राउ परेका छन् ।

यसरी पक्राउ परेकाहरु अफिम मुद्दामा धेरै छन् । नेपालमा अफिम खेती र कारोवारलाई कानूनीरुपमा अवैध मानिन्छ । लागुऔषध नियन्त्रण ऐन २०३३ को पच्छिेद ३ को दफा १४ को उपदाफा ६(३) बमोजिम २५ ग्रामभन्दा माथि जतिसुकै परिणाममा अफिमको कारोवार गर्नेलाई १५ वर्षदेखि जन्मकैदसँगै पाँच लाखदेखि २५ लाखसम्म जरिवाना तिराउने व्यवस्था छ ।

तर कानूनले यति ठुलो सजाय करार गर्दा पनि कर्णाली प्रदेश विशेष गरी जाजरकोट र रुकुम पश्चिम जिल्लामा अफिमको अबैध खेतीसँगै कारोवार हुने क्रम बढ्दै जानुले समाजमा नकारात्मक प्रभाव पर्दै गएको प्रहरी उपरीक्षक शाहीले बताए । यी जिल्लाबाट अफिम बोकेर जानेहरु सुर्खेत र नेपालगन्जमा समेत पक्राउ पर्ने गरेको उनले बताए ।

छोटो समयमा बढी लाभ लिने उद्देश्यले अधिकांशले जन्मकैदसम्मको सजायलाई बिर्सनेसम्मको जोखिम मोल्नेक्रम बढेको छ, भने कतिपयको आर्थिक अवस्था कमजोर हुनु, कानूनी साक्षरता अभाव लगायतका कारणको फाइदा लागुऔषध कारोवारीले उठाउनुले लागुऔषध ओसार–पसार तथा कारोवारी जस्तो जघन्य अपराधको जालो फैलिरहेको प्रहरीका विभिन्न अनुसन्धानमुलक तथ्यांकले देखाउँछन् ।

कानून जान्दिन भन्न पाइदैन तर कतिपय अवस्थामा गरिबीसँग आर्थिक पाटो जोडिदा लागुऔषध न्यूनिकरणका क्षेत्रमा काम गर्न प्रहरीलाई हम्मेहम्मे भइरहेको छ । लागुऔषध मुद्दामा संलग्न व्यक्तिलाई पक्राउ गरिएको तथ्यांक केलाउने हो भने लागुऔषध प्रयोगकर्ता र बोक्न प्रयोग हुने भरिया मात्रै प्रहरीको ट्रयापमा परेको देखिन्छ भने, खुला सिमा र भारतसम्म फैलिएको लामो तस्करहरुको जालोका कारण मुख्य कारोवारीसँग प्रहरी पुग्न सकेको देखिँदैन । मुख्य कारोवारी भारतीय हुने हँुदा ९० दिनसम्मको अनुसन्धान गरिए पनि भरियामार्फत लागुऔषधको जालो भेट्न प्रहरीले सकेको छैन ।

बढ्दै अबैध अफिम खेती
प्रहरीले उपलब्ध गराएको त्रिवर्षिय तथ्यांक अनुसार लागुऔषध अफिम खेती, तयारी, खरिद तथा बिक्री वितरण, निकासी वा पैठारी, ओसार पसार तथा सञ्चय गर्ने कार्यमा संलग्न १३ व्यक्तिले कानून बमोजिम सजाय भोगिरहेका छन् ।

यस मुद्दामा प्रहरीको फन्दामा परेर सजाय भोग्नेहरु जाजरकोट र रुकुम पश्चिम जिल्लाका धेरै छन् । तथ्यांक अनुसार आर्थिक वर्ष २०८०/०८१ मा सुर्खेतमा नौ सय ४० ग्राम अफिमसहित एक जना पक्राउ परेका छन् । त्यस्तै आर्थिक वर्ष २०८१/०८२ मा सुर्खेतबाट पाँच किलाग्राम चार सय ग्राम र सात सय २० मिलिग्रामसहित दुई जना पक्राउ परेको तथ्यांक प्रहरीसँग छ ।

गत वर्ष रुकुम पश्चिमबाट १५ किलोग्राम सात सय १३ ग्राम अफिमसहित पाँच जना पक्राउ पर्दा जाजरकोटबाट नौ किलोग्राम ६ सय ७० ग्राम अफिमसहित पाँच जना पक्राउ परेका छन् । प्रहरीले उपलब्ध गराएको तथ्यांक अनुसार जाजरकोट र रुकुम पश्चिममा अफिम खेतीसमेत बढ्दै गएको छ ।

प्रहरीले यी जिल्लामा तीन वर्षको अवधिमा दुई हजार आठ सय २७ रोपनी क्षेत्रफलमा लगाइएको अफिम खेती नष्ट गरेको छ । यसमा सबैभन्दा धेरै जाजरकोटमा दुई हजार दुई सय ६६ रोपनी क्षेत्रफलमा लगाइएको अफिम खेती नष्ट गरिएको छ ।

त्यस्तै, रुकुम पश्चिमबाट पाँच सय ३२ रोपनी जग्गामा लगाइएको अफिम नष्ट गरिदा डोल्पामा २९ रोपनी जग्गामा खेती गरिएको अफिम नष्ट गरिएको छ । प्रहरीको तथ्यांक अनुसार यी जिल्लामा वर्षेनी अफिम खेती बढ्दै गएको छ ।

प्रदेश प्रहरी कार्यालय सुर्खेतले उपलब्ध गराएको तथ्यांक अनुसार जाजरकोटमा आर्थिक वर्ष २०७९/०८० मा तीन सय ७२ रोपनी क्षेत्रफलमा अफिम खेती नष्ट गरिएकोमा आर्थिक वर्ष २०८०/०८१ मा पाँच सय ७२ रोपनी जग्गामा अफिम खेती विस्तार भएको पाइएको छ । जाजरकोटमा आर्थिक वर्ष २०८१/०८२ मा अफिम खेती दोब्बरले बढेर एक हजार तीन सय २२ रोपनी क्षेत्रफलमा फैलिएको प्रहरीको तथ्यांकले देखाउँछ ।

त्यस्तै, रुकुम पश्चिममा पनि अबैध अफिम खेतीले प्रसय पाइरहेको छ । यस जिल्लामा आर्थिक वर्ष २०७९/०८० मा ७० रोपनीमा फैलिएको अफिम खेती आर्थिक वर्ष २०८०/०८१ म आएर दुई सय ४० रोपनीमा विस्तार भएको छ । त्यस्तै, रुकुम पश्चिममा आर्थिक वर्ष २०८१/०८२ मा प्रहरीले दुई सय २२ रोपनी क्षेत्रफलमा लगाइएको अफिम नष्ट गरेको छ । यो तथ्यांक प्रहरीले अफिम खेती भएको स्थान फेला पारी नष्ट गरिएको मात्रै हो ।

प्रहरीलाई सूचना प्राप्त नभएका क्षेत्रहरुमा के कति परिणाममा अफिम खेती गरिएको छ, त्यसको एकिन गर्न सकिने अवस्था छैन । वर्षेनी जाजरकोट तथा अन्य जिल्लामा अफिम खेती नष्ट गर्दै आएको भएपनि यसको न्यूनिकरणमा प्रहरीलाई ठुलो चुनौती रहेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरु नै बताउँछन् ।

लागुऔषध नियन्त्रणका क्षेत्रमा लामो समयदेखि अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बढी अफिम खेती हुने जाजरकोट तथा रुकुम पश्चिममा प्रहरीलाई सूचना प्राप्त गर्न कठिन हुने बताउँछन् ।

पाइहाले पनि स्थानीयहरुले संलग्न व्यक्तिका बारेमा आवश्यक जानकारी नै नदिने उनले बताए । प्रहरीलाई अफिम खेतीका बारेमा जानकारी आएपछि नष्ट गर्न जादा स्थानीयहरुले कसले लगाएको हो भन्ने बारेमा जानकारी दिनसमेत नमान्ने ति प्रहरी अधिकृतले बताए ।

उनका अनुसार जाजरकोट र रुकुम पश्चिममा वर्षौ पहिलेदेखि नै अबैध अफिम खेती हुँदै आएको छ । यी जिल्लाहरुमा अफिम खेती गर्न भारतीय आगुऔषध कारोवारीको गिरोहले खेती गरिन समयमा स्थानीयलाई अग्रीम पैसा र अफिमको बेर्नासमेत वितरण गर्ने गरिएको बताइन्छ ।

जन्म कैदसँगै २५ लाख सजाय
लागुऔषध नियन्त्रण ऐन, २०३३ ले प्राकृतिक तथा औषधीजन्य लागु पदार्थको खेती, उत्पादन, निर्माण, खरिद–बिक्री, सञ्चय, ओसारपसार, सेवन तथा निकासी पैठारीमा प्रतिबन्ध गरेको छ । यही व्यवस्थामा टेकेर संकास्पद व्यक्ति वा स्थानमा प्रहरीले बिना वारेन्ट प्रवेश, खानतलासी, कब्जा र गिरफ्तार गर्न सक्छ ।

लागुऔषध अपराधमा संलग्न व्यक्तिलाई एक महिनादेखि जन्म कैद तथा २५ लाखसम्म जरिवानाको व्यवस्था कानूनमा छ । त्यस्तै, आर्थिक कारोबारको विवरण माग गर्न सक्ने र सम्पत्ती रोक्का तथा जफत गर्न सक्ने, अपराधसँग सम्बन्धित कुनै कुरा टेप गर्न वा सेन्सर गर्न सक्ने, प्रमाणको भार प्रतिवादीमा रहने, लागऔषध सम्बन्धी सूचना दिने व्यक्तिलाई पुरस्कार दिने, अनुसन्धान तहकिकात गर्न ९० दिनसम्मको हद म्याद हुने व्यवस्था छ ।

कानून अनुसार २५ बोटसम्म अफिम खेती गर्नेलाई एक वर्षदेखि तीन बर्षसम्म र पाँच हजारसम्म जरिवाना हुन्छ । यस्तै, २५ बोटभन्दा माथि अफिम खेती गरेको फेला परे तीन वर्षदेखि १० वर्षसम्म कैद तथा २५ हजारदेखि दुई लाखसम्म जरिवाना हुने प्राव्धान कानूनमा छ ।

अफिम उत्पादन, तयारी, खरिद तथा बिक्रि वितरण, निकासी वा पैटारी, ओसार पसार तथा सञ्चय गर्ने कार्यमा संलग्न व्यक्तिलाई समेत कानूनले दण्डित गर्ने व्यवस्था गरेको छ । जसमा २५ ग्रामदेखि एक सय ग्रामसम्म अफिम कारोवार तथा सेवन गर्ने व्यक्तिलाई एक वर्षदेखि तीन वर्षसम्म कैद र पाँच हजारदेखि १० हजारसम्म जरिवाना हुन्छ ।

यस्तै, २५ देखि एक सय ग्रामसम्म सेवन तथा कारोवार गर्नेलाई १० वर्षदेखि १५ वर्षसम्म कैद र ७५ हजारदेखि दुई लाखसम्म जरिवाना हुने व्यवस्था कानूनमा छ । एक सय ग्रामदेखि माथिको हकमा १५ वर्षदेखि जन्म कैद, पाँच लाखदेखि २५ लाखसम्म जरिवाना हुने कानूनी प्राव्धान छ ।

पैसाको प्रलोभनमा अबैध अफिम खेतीदेखि ओसार्ने भरिया बन्दा जेलको यात्रा

सम्पादकीय : संस्थागत सुधारमा ध्यान देऊ !

पैसाको प्रलोभनमा अबैध अफिम खेतीदेखि ओसार्ने भरिया बन्दा जेलको यात्रा

घुँयत्राे : कुलिङ पिरियडै लागू नहुनेगरि शब्द

Leave a comment

Your email address will not be published. Required fields are marked *