अघि बढ्यो जावा तिला अर्धजलाशययुक्त जलविद्युत आयोजना
रमेश रावल
सुर्खेत । जुम्ला जिल्लाको तिला नदीमा बन्न लागेको ७०.३७ मेघावाटको जलविद्युत आयोजनाको काम अघि बढेको छ । नेपाल विद्युतले प्राधिकरण जावा तिला अर्धजलासययुक्त जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कको काम अगाडी बढाएको हो । जावा तिला अर्धजलासययूक्त जलविद्युत आयोजना जुम्ला जिल्ला र कालिकोट जिल्ला हुँदै बग्ने तिला नदीमा प्रस्ताव गरिएको छ । यस आयोजनाले ऊर्जाको माग उच्च रहेको अवस्थामा समेत पिकिङ्ग रन अफ दि एयरको रुपमा दैनिक ६ घण्टा विद्युत उत्पादन गर्नेगरी निर्माण गरिने छ । जुम्लालाई केन्द्र बनाएर अगाडि बढाउन थालिएको उक्त आयोजनाको वातावरणिय प्रभाव मूल्याङ्कनको काम थालिएको नेपाल विद्युत् प्राधिकरण वातावरण मूल्याङ्कन अध्ययन टोलीका प्रमुख प्रकाश गौडेलले बताए । ‘अब यो आयोजना अगाडि बढाउन वातावरण प्रभाव मूल्याङ्नपछि डिजाइन स्टमेट तयार गरि स्रोत सुनिश्तिता लगायतका काम अघि बढाउने लक्ष्य छ,’ उनले भने, ‘जुम्लामा निर्माण भइरहेको विद्युत प्राधिकरण सब स्टेसनले पनि विद्युत प्रवाहमा गुणस्तरता कामय गर्न यो परियोजना अगाडि बढेमा राज्यलाई नै फाइदा हुन्छ ।’ जुम्ला जिल्लाको तिला गाउँपालिका, हिमा गाउँपालिका र तातोपानी गाउँपालिका र कालिकोट जिल्लाको तिलागुफा नगरपालिकामा नेपाल विद्युत प्राधिकरणले वातावरणीय मुल्याङ्कन गर्न लागेको छ । यस आयोजनाले ऊर्जाको माग उच्च रहेको बेलामा समेत पिकिङ रन अफ द रिभरको रुपमा दैनिक ६ घण्टा (विहान–२ घण्टा र बेलुका–४ घण्टा) ७०.३७ मेगावाट विद्युत उत्पादन गर्ने गरी निर्माण गरिनेछ ।
यसका लागि जुम्ला जिल्लाको तिला गाउँपालिकाको रारालिहीको पहुखोला स्थानमा १८ मिटर अग्लो तथा ५७.५० मिटर लामो बाँध निर्माण गरिनेछ । यस बाँधले ०.१८४ करोड घनमिटर (१.८४ एमसिएम) पानी तिला नदीमा जम्मा गर्नेछ र आयोजनाको डिजाइन बहाव ५५ घनमिटर प्रति सेकेन्ड छ । बाँधवाट ६.४२३ किलोमिटर लामो सुरुङ्गमार्फत पानी नाग्मामा रहेको विद्युत गृहमा खसाइनेछ । यस आयोजनाको विद्युत गृहमा ३५.१८ मेगावाट क्षमताका दुई फरनसिस टर्वाइनहरु राखिनेछ र विद्युत उत्पादन पश्चात पानी पुनः तिला नदीमा छाडिनेछ । सुरुमा यो आयोजना प्राधिकरणको बोर्डले एक सय ५० मेगावाटको जलविद्युत आयोजना निर्माण गर्ने निर्णय गरेको थियो । तथापि एक सय ५० मेगावाटको जलविद्युत् आयोजना निर्माण गर्न सम्भव नभएपछि ७०.३७ मेगावाटको योजना अघि बढाइएको हो । जुम्लाको तिला नदीमा ७०.३७ मेगावाटको विद्युत्का लागि जवा–तिला जलविद्युत आयोजनाको लाइसेन्स स्वीकृत गरिएपछि विद्युत निर्माणको काम थालिने भएको छ ।
पूर्वमन्त्री नरेश भण्डारीका अनुसार तिला नदीमा ७०.३७ मेगावाट विद्युत लाइसेन्स तीन वर्ष लामो समयदेखि पहल भएको हो । नेपाल विद्युत प्राधिकरणले ७०.३७ मेगावाट क्षमताको जावा–तिला जलविद्युत आयोजना निर्माणका लागि सर्भे लाइसेन्स प्राप्त गरेको छ । अहिले प्रारम्भिक चरणमा एक करोड ६० लाख रकम निकासा गरिएको छ । आयोजना कार्यान्वयन हुँदा जुम्ला जिल्लाको तिला गाउँपालिकाका वडा नं. १, २, ३, ४, ७ र ८ हिमा गाउँपालिकाका वडा नं. ७ र तातोपानी गाउँपालिका वडा नं.–१ कालिकोट जिल्लाको तिलागुफा नगरपालिका वडा नं.–१ प्रभावित हुनेछन् । प्रभावित क्षेत्रमा वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन सम्बन्धी क्षेत्र निर्धारण तयारी गर्ने क्रममा सो क्षेत्रको प्राकृतिक, भौतिक प्रणाली, जैबिक प्रणाली, सामाजिक प्रणाली, साँस्कृतिक प्रणाली र आर्थिक प्रणालीमा के कस्तो प्रभाव पर्दछ भनी यकिन गर्न ती स्थानको नगरपालिका÷गाउँपालिका तथा त्यस क्षेत्रका विद्यालय, अस्पताल, स्वास्थ्य चौकी तथा सरोकारवाला व्यक्ति वा संस्थाको लिखित राय सुझाव लिनेछ ।
३५ अर्ब लाग्ने अनुमान
प्राधिकरणको २१ मंसिर २०७९ को सञ्चालक समितिको बैंठकले आयोजना निर्माण गर्ने निर्णय गरेको थियो । जुम्लामा बिजुलीको समस्या समाधान गर्न र बिक्री गरी आम्दानी समेत गर्न लक्ष्यका साथ संविधानसभा सदस्य एंव कर्णाली प्रदेशका पूर्वमन्त्री भण्डारीले आयोजनालाई अघि बढाउन सरकारसँग अनुरोध गरेका थिए । कोहलपुरदेखि लामो दरी तय गरेर जुम्ला पुगेको ११ केभी क्षमताको प्रसारण लाइनले प्रवाह गर्ने बिजुली गुणस्तरमा रहेको समस्या समाधान गर्न आयोजना निर्माण गर्न लागिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार कर्णाली प्रदेशको विद्युतीय पूर्वाधार निर्माणका लागि २५ अर्ब रुपैयाँ बराबरको लगानी गर्ने तयारी भइरहेको छ । प्रारम्भिक अनुमानका आधारमा आयोजनाको कुल लागत ३५ अर्ब रुपैयाँ रहनेछ । क्षमता तलमाथि हुँदा लागत पनि परीवर्तन हुनेछ । आयोजनाको कार्यन्वयन भएपछि जुम्लाबासीमा सहज आपूर्ति हुनेछ । जुम्लाको जनताको जीवनमा आयोजनाले उज्यालोको अनुभूति मात्रै होइन, मुलुकका लागि बिजुली निर्यातमा समेत सहयोग पुग्नेछ ।
जावा हुँदै तिलामा बगेर खेर गइहेको पानीलाई जुम्लाको समृद्धिमा उपयोग गर्ने लक्ष्यका साथ जलविद्युत निर्यात गर्ने वर्षौंको सपना सार्थक हुँदैछ । जुम्लाका लागि गौरवको कुरा हो । विद्युत अभावकै कारण जुम्लामा औधोगिकीकरण हुन सकेको छैन । उद्यमशीलता फष्टाउन सकेको छैन । उत्पादित वस्तुको प्रशोधनमा उस्तै समस्या छ । विद्युत उत्पादनको अथाह सम्भावना बोकेको जुम्लाले वर्षौंदेखि अँध्यारो झेलिरहेको छ । विद्युत अभावले यहाँका कृषि उत्पादनको प्रशोधनदेखि बजारीकरण हुन सकेको छैन । राष्ट्रिय प्रसारणलाइन भरपर्दो नभएकाले जावा र तिला जलविद्युत आयोजनाको निर्माण पश्चातमात्रै जुम्लाले पूर्णकालीन रुपमा अँध्यारोबाट मुक्ति पाउने छ ।




