पक्राउ परेनन् बलात्कार आरोपित सांसद बानियाँ
सुर्खेत । एक शिक्षिकामाथि जबरजस्ती करणी गरेको आरोपमा ओपित एमाले सांसद मोहन बानियाँलाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन ।
जुम्लाकी एक सरकारी शिक्षिकामाथी नेपालगन्जको एक होटलमा बलत्कार गरेको आरोप लागेका सांसद बानियाँ अझै फरार छन् । एमाले मुगुका सामानुपातिक सांसद बानियाँमाथी बलत्कार आरोपमा फागनु ३ गते बाँके प्रहरीले पक्राउ पूर्जि जारी गरेको थियो ।
पक्राउ पूर्जि जारी भएको हप्ता दिन बित्न लाग्दासमेत प्रहरीले उनलाई पक्राउ गर्न सकेको छैन ।
पूर्वमन्त्रीसमेत रहेका बानियाँ शक्तिको आँडमा कानूनलाई नै चुनौति दिदै आएका छन् । प्रहरीको फरार लिष्टमा रहेका बानियाँको बाँके प्रहरीले खोजि कार्य तिव्र पारिरहेको बाँकेका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारीको दावी छ ।
सोही अनुरुप बानियाँलाई पक्राउ गर्न उनको गृह जिल्ला मुगु, काठमाडौं तथा ललितपुर प्रहरीसँगको सहकार्यमा खोजि कार्य तिव्र पारिएको बताउँदै बानियाँ छिट्टै पक्राउ पर्ने उनको भनाई छ ।
पीडित शिक्षिकाले आफूमाथी नेपालगन्जको अप्सरा होटलमा बलत्कार भएको भन्दै माघ २४ गते किटानी जाहेरी दर्ता गर्न खोजेकी थिइन । तर, बाँके प्रहरीले भने माघ २७ गते मात्रै बानियाँविरुद्धको जाहेरी दर्ता गरेको थियो ।
आफूलाई प्रलोभनमा पारेर सांसद बानियाँले बलत्कार गरेको भन्दै पीडक बानियाँलाई पक्राउ गरी आवश्यक कारवाहीको माग पीडित शिक्षिकाको छ ।




