भूकम्पबाट दुई अर्ब बढीको आर्थिक क्षति
भूकम्पका कारण कर्णालीमा दुई अर्बभन्दा बढीको आर्थिक क्षति भएको छ । यही कात्तिक १७ गते राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण कर्णालीमा दुई अर्ब २४ करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्रदेश सरकारले जनाएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले शुक्रवार सार्वजनिक गरेको तथ्यांकमा जाजरकोट र रुकुमपश्चिममा यो क्षति भएको उल्लेख छ ।
भूकम्पका कारण भएको क्षतिको विवरण संकलन हुने क्रम जारी नै रहेको भन्दै मन्त्रालयले शुक्रबारसम्मको तथ्यांकअनुसार प्रभावित जिल्लामा दुई अर्ब २४ करोड रूपैयाँबराबरको आर्थिक नोक्सान भएको अनुमान गरेको हो ।
जाजरकोट र रुकुमपश्चिममा १५४ जनाको ज्यान गएको भूकम्पमा ठूलो भौतिक क्षति भएको छ । भौतिक क्षतिको अन्तिम विवरण आउन बाँकी रहे पनि मन्त्रालयले आर्थिक क्षतिको मात्रा बढ्न सक्ने अनुमान गरेको छ ।
मन्त्रालयका अधिकृत कृष्णबहादुर रोकायाका अनुसार भूकम्पका कारण सबैभन्दा क्षति जाजरकोट र रुकुमपश्चिममा भएको छ ।
भूकम्पका कारण जाजरकोट, रुकुमपश्चिम, सल्यान, जुम्ला र दैलेखमा गरी १३ हजार एक सय २४ वटा घर पूर्णरूपमा क्षति भएका छन् । ११ हजार एक सय ९३ वटा घरमा आंशिक क्षति पुगेको छ ।
मन्त्रालयले शुक्रवार सार्वजनिक गरेको तथ्यांकअनुसार जाजरकोटमा नौ हजार सात सय ९४ वटा घरहरू पूर्णरूपमा ध्वस्त भएका छन् ।
यस्तै, त्यहाँ २४ हजार सात सय सात वटा घरहरूमा आंशिक क्षति पुगेको छ । त्यसैगरी रुकुमपश्चिममा तीन हजार एक सय ७४ वटा घरहरू पूर्णरूपमा क्षति भएका छन् ।
त्यहाँ आट हजार तीन सय ५८ घरमा आंशिक क्षति पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । मन्त्रालयका अनुसार भूकम्पमा परी तीन सय ७२ जना घाइते भएको मन्त्रालयको भनाइ छ ।
यस्तै, भूकम्पका कारण एक सय ६ वटा विद्यालयमा क्षति पुगेको छ । मन्त्रालयका अधिकृत रोकायाले भने, ‘भूकम्प प्रभावित जिल्लामा निजी घरहरूसँगै विद्यालयका भवनहरू पनि भत्किएका छन् ।
१७ वटा विद्यालयहरू पूर्णरूपमा भत्किएका छन् । ८९ वटा विद्यालयहरूमा आंशिक क्षति पुगेको छ भने केही सरकारी कार्यालयका भवनहरू पनि भत्किएका छन् ।’ उनका अनुसार ३१ वटा सरकारी कार्यालयका भवनहरूमा क्षति पुगेको छ । ६ वटा सरकारी कार्यालयहरू पूर्णरूपमा भत्किएका छन् भने २५ वटा कार्यालयका भवनहरूमा आंशिक क्षति पुगेको छ । सरकारी कार्यालयहरू भत्किएका कारण सेवा प्रवाह प्रभावित बनेको मन्त्रालयले जनाएको छ ।
भूकम्पका कारण प्रभावित भएका जिल्लाहरूमा १३ हजार नागरिक विस्थापित भएका छन् ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार घरबारविहीन बनेपछि १३ हजार एक सय २४ जना नागरिक विस्थापित भएका हुन् ।
उनीहरू हाल त्रिपालको सहारामा रहेको मन्त्रालयको भनाइ छ । यस्तै भूकम्पका कारण हालसम्म ११ हजार एक सय ९३ जना नागरिक भने प्रभावित भएका छन् ।(अन्नपुर्ण)





