नेपालगञ्जमा गृहिणीलाई घरायसी आगो नियन्त्रण तालिम
बाँके, १४ चैत ।
गर्मीयाम सुरु भएसँगै बढ्दो आगलागीका घटनालाई मध्यनजर गर्दै नेपालगञ्ज उपमहानगरपालिकाले समुदायस्तरमै जोखिम न्यूनीकरणका लागि गृहिणी महिलालाई लक्षित गरी घरायसी आगो नियन्त्रण सम्बन्धी पुनर्ताजगी तालिम सञ्चालन गरेको छ । आगलागीका घटनाबाट हुने मानवीय तथा भौतिक क्षति कम गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिमले स्थानीय समुदायमा सचेतना र सीप अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।
सुपर परियोजनाअन्तर्गत वडा नम्बर ३ र ७ का ४० जना सामुदायिक आपतकालीन प्रतिकार्य समूहका सदस्यहरूको सहभागितामा एकदिने तालिम आयोजना गरिएको हो । पछिल्लो समय दैनिकजसो भइरहेका साना–ठूला आगलागीका घटनालाई नियन्त्रणमा लिन र प्रारम्भिक अवस्थामा नै आगो निभाउने क्षमता विकास गर्न तालिम उपयोगी हुने आयोजकले जनाएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाको वारुण यन्त्र शाखाका प्रमुख झयनबहादुर खड्काका अनुसार तालिममा सहभागीलाई आगो लाग्ने प्रमुख कारणहरू, आगो फैलिने प्रक्रिया तथा त्यसलाई नियन्त्रण गर्ने व्यावहारिक उपायबारे विस्तृत जानकारी दिइएको थियो । “घरमै उपलब्ध बाल्टिन, बालुवा, भिजेको कपडा, ग्यास सिलिन्डर सुरक्षित प्रयोगजस्ता सामान्य उपाय प्रयोग गरेर पनि धेरै हदसम्म आगलागी नियन्त्रण गर्न सकिन्छ,” खड्काले भने, “सही समयमा सही विधि अपनाएमा ठूलो क्षति हुनबाट जोगिन सकिन्छ ।”
उनका अनुसार तालिममा विशेषगरी भान्साघरबाट हुने आगलागी, ग्यास चुहावट, बिजुली सर्ट सर्किटजस्ता सामान्य तर जोखिमपूर्ण अवस्थाबारे सचेतना दिइएको थियो । साथै, आगलागी हुँदा अपनाउनुपर्ने सावधानी र नगर्नुपर्ने गल्तीबारे पनि सहभागीलाई व्यवहारिक अभ्यासमार्फत सिकाइएको थियो ।
विपद सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले सुपर परियोजनाअन्तर्गत तयार गरिएका ४०० स्वयंसेवकमध्ये ४० जनालाई छनौंट गरी यस प्रकारको विशेष सीपमूलक तालिम दिइएको जानकारी दिए । उनले आगलागी भएको अवस्थामा दमकल समयमै पुग्न नसक्ने परिस्थितिमा यस्ता तालिमप्राप्त स्वयंसेवकहरूले समुदायमै तत्काल प्रतिक्रिया जनाएर आगो नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए ।
“हामीले स्थानीय तहमै दक्ष जनशक्ति तयार पार्न खोजेका हौँ” ज्ञवालीले भने, “साना घटनालाई ठूलो बन्न नदिन प्रारम्भिक प्रतिक्रिया नै सबैभन्दा प्रभावकारी उपाय हो । त्यसैले यस्ता तालिमलाई आगामी दिनमा अझ विस्तार गर्ने योजना बनाएका छौँ ।”
त्यस्तै, वडा नम्बर ६ का अध्यक्ष तथा सुपर परियोजना संयोजक समिर प्रताप सिंहले यस प्रकारका तालिमले समुदायस्तरमा विपद् व्यवस्थापन क्षमतामा उल्लेखनीय सुधार ल्याउने विश्वास व्यक्त गरे । उनले गृहिणी महिलाहरू घरमा धेरै समय रहने भएकाले उनीहरूलाई लक्षित गरेर तालिम दिनु निकै प्रभावकारी हुने बताए ।
“घरभित्र हुने अधिकांश आगलागीका घटनामा महिला नै पहिलो साक्षी हुन्छन्” सिंहले भने, “उनीहरू सचेत र दक्ष भएमा ठूलो दुर्घटना हुनबाट रोक्न सकिन्छ ।” स्थानीय सहभागीहरूले पनि तालिमलाई अत्यन्त उपयोगी भएको प्रतिक्रिया दिएका छन् । उनीहरूले यसअघि सामान्य जानकारी मात्र भए पनि अहिले व्यवहारिक रूपमा आगो नियन्त्रण गर्ने सीप सिक्न पाएको बताएका छन् । तालिमपछि आफूहरू अझ आत्मविश्वासी भएको उनीहरूको भनाई छ ।
घरायसी वातावरणमा हुने साना असावधानीका कारण ठूला दुर्घटना निम्तिन सक्ने भएकाले यस्ता सचेतनामूलक तथा सीपमूलक कार्यक्रमले जोखिम न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।




