सम्पाकीय : जनमत खेर नजाओस्
नेपालको ४३औं प्रधानमन्त्रीमा बालेन्द्र शाह (बालेन) नियूक्त भएका छन् । शुक्रबार शाहलाई राष्ट्रपति रामचन्द्र पौडेलले शीतलनिवासमा पद तथा गोपनीयताको शपथ गराए । शपथ ग्रहण पश्चात यसअघि काठमाडौं महानगरपालिकाका मेयर रहेका ३६ वर्षे शाहको हातमा देशको बागडोर परेको छ ।
२०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर विजयी बनेका शाहले २१ फागुनको आमचुनावमा भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट चुनाव जितेका हुन् । उनी झापा–५ बाट पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई फराकिलो मतान्तरले पराजित गरी विजेता बनेका थिए । बिहीबार मात्रै रास्वपाले उनलाई संसदीय दलको नेतामा चयन गरेपछि शाहको प्रधानमन्त्री बन्ने बाटो खुलेको थियो । बालेन क्रेजमा नागरिक अपेक्षा थपिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झण्डै दुईतिहाइ शक्तिसहित सिंहदरबार प्रवेश गरेको छ ।
यतिबेला, नागरिकले बालेनलाई बलियो साथ दिएका छन् । परम्परागत दल र नेतृत्वसँग असन्तुष्टि, आक्रोश, रोष अधिक छ । त्यही असन्तुष्टि, आक्रोश र रोषमा बालेनप्रति भारी भरोसा बढेको हो । त्यसैअनुसार आर्जन गरेको शक्तिका कारण बालेनलाई सजिलो अवसर छ । बालेनलाई मतादेशको शक्ति र ऊर्जा नै सबैभन्दा ठूलो अवसर हो । उनीप्रतिको आकर्षण पनि समाजमा निकै छ ।
त्यो अवसरलाई शक्तिमा बदलेर नागरिकको सुशासन र समृद्दिको सपनालाई पूरा गर्न सक्छन् । बालेनसँग नागरिकको विश्वास, भरोसाको बल छ । नयाँ पुस्ताको आँट, आतुरता र आत्मविश्वास छ । ऊर्जासहितका उत्प्रेरक छन् । परीक्षित हुन बाँकी नैतिक बल छ । नागरिकको भरोसाको भारी परम्परागत राजनीतिक दलप्रति बढेको असन्तुष्टि, आक्रोशले भरिएको छ । त्यस अर्थमा, प्रधानमन्त्री बालेन शाहप्रति एकल विश्वास र भरोसा मात्र होइन, नागरिकले विकल्प पनि रोजेका हुन् । त्यो विकल्पमा खरो उत्रिएर नेतृत्व गर्ने वा नगर्ने उनको कार्यशैलीमै भर पर्नेछ । एक नेतृत्वले नेपालको राजनीतिको एक दशक नयाँ नेतृत्व गर्ने अवसर पाएका छन् । २०६२ देखि २०७२ सालसम्म पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक दबदबा थियो । २०७२ सालमा नयाँ संविधान जारी भएसँगै केपी ओलीको दबदबा सुरु भएको थियो । उनकै वरिपरि नेपालको राजनीति घुमेको थियो । तर २०८२ सालपछि उनको राजनीतिक जीवनमा कालो बादल मडारियो र बालेनको उदय भएको छ । त्यसैले अबको दशक बालेन दशक हुने सम्भावना छ । त्यस अर्थमा बालेनले विगतको तितो अनुभवको समीक्षा गरेर अघि बढ्दा मात्रै पनि उनी अवसरकै थुप्रोमा हुनेछन् । बालेनसँग नागरिकले सेवा प्रवाहमा प्रभावकारिता, सुशासन र भ्रष्टाचार नियन्त्रण, विकासमा तीव्रता अपेक्षा गरेका छन् ।
शिक्षा र स्वास्थ्यको सहज पहुँचको आस राखेका छन् । त्यसैले, बालेनका सामु भ्रष्टाचारले संक्रमित समाजलाई उपचार गर्नुपर्ने चुनौती छ, जसमा उनी खरो उत्रिने सम्भावना छ । तर वालेन क्रेजको शक्ति सन्तुलन देशको समृद्धिमा लाग्छ वा पुरानै दलको कित्तामा पुग्छ त्यो हेर्न भने केही समय अवश्य कुर्नुपर्ने छ । अर्को महत्वपूर्ण विषय बालेनका सामु भुराजनीति पनि चुनौती बन्ने निश्चि छ ।
नेपाली राजनीतिमा सक्ता समिकरणको विगत भन्छ– दलको आन्तरिक शक्ति सन्तुलन पनि महत्त्वपूर्ण हुन्छ । दुईतिहाइ ल्याएको कांग्रेस होस् वा झण्डै दुईतिहाइको नजिकको शक्ति आर्जन गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आन्तरिक शक्ति सन्तुलनको विवादले दल मात्रै विभाजित भएनन्, देशको राजनीतिक दिशा अप्ठ्यारोमा धकेलिदिए । कांग्रेस र नेकपाको उछालकुद सन्दर्भले भन्छ–शक्ति आर्जनभन्दा बढी त्यसलाई ऊर्जामा परिणत गर्नुचाहिँ कुशलता र अर्थपूर्ण हुनेछ । त्यो बालेनका हकमा पनि लागू हुनेछ । आशा गरौं बालेन सरकारले यी सबै चुनौतीको समाना गरेर देशलाई समृद्धिको बाटोमा लैजाने छ !





