फेरि थुनियो नाग्म–गमगडी सडक
गाेल्डेन बुढा
जुम्ला,१४ माघ।
कर्णाली राजमार्ग अन्तर्गतको नाग्म–गमगडी सडक फेरि बन्द भएको छ। डेढ फिटभन्दा बढी हिउँ जमेपछि दुई दिनअघि मात्रै खोलिएको सडक दोस्रो हिमपातसँगै पुनः अवरुद्ध भयो। कर्णाली राजमार्ग हुँदै सिञ्जादेखि मुगु जोड्ने यो सडक हिउँद लाग्नेबित्तिकै बन्द हुने पुरानै नियतिमा फर्किएको छ।यो अवरोध आकस्मिक विपत्ति होइन। मुगुका लागि हिउँ पर्नु सामान्य मौसमीय घटना हो। असामान्य त हिउँ पर्दा हरेक वर्ष बाटो थुनिनु हो। राज्यको तयारी यहीँ प्रश्नको घेरामा पर्छ।सडक बन्द भएसँगै मुगु बाहिरी छिमेकी जिल्लासँग आवतजावत लगभग काटिएको छ। सवारी साधन ठप्प छन्। इन्धन ढुवानी रोकिएको छ। बिरामी बोकेका एम्बुलेन्ससमेत अघि बढ्न सकेका छैनन्। सडक अवरुद्ध हुनुको अर्थ यहाँ केवल यात्रा असहज हुनु होइन्।स्वास्थ्य, आपूर्ति र सुरक्षा सबै एकैचोटि जोखिममा पर्नु हो।मुगुवासी हिउँमाथि पैदल हिँड्न बाध्य छन्।
जमेको हिउँ र चिसो हावाबीच भारी बोकेर यात्रा गर्नु उनीहरूको दैनिकी बनेको छ। ‘सवारी चल्ने आशा थियो,’ सातमाडका एक यात्रु भन्छन्, ‘तर हिउँ बढ्दै गयो। हिँड्नुबाहेक विकल्प रहेन।’मुगुमा हिउँ पन्छाउने उपकरण छैन। सडक बन्द भएपछि प्रशासनले छिमेकी जिल्ला जुम्लासँग सहयोग माग्नुपर्छ। पहिलो पटकको हिमपातपछि सडक डिभिजन कार्यालय जुम्लाबाट डोजर मगाएर झन्डै तीन किलोमिटर सडक खण्डमा जमेको बाक्लो हिउँ हटाइयो।‘जिल्लामै डोजर नहुँदा समय लाग्यो,’ मुगुका प्रमुख जिल्ला अधिकारी खडानन्द खत्री भन्छन्, ‘जुम्लाबाटै डोजर ल्याएर सडक खोल्नुबाहेक अर्को उपाय थिएन।’डोजर चल्दा पनि समस्या सकिएन। ठूला मालवाहक सवारी साधन सहज भएनन्।
कतिपय गाडी डोजरले तानेरै जुम्लातर्फ पठाइयो।माघ १२ गतेदेखि सडक पूर्ण रूपमा सुचारु भएको थियो। तर त्यो खुलाइ दीर्घकालीन भएन।पुनः माघ १४ गते रातिदेखि वर्षासँगै परेको हिमपातले सडक पुनः अवरुद्ध गर्यो। अहिले सवारी साधन चल्न सकेका छैनन्।‘हिउँ पर्दापर्दै सडक खुलाउन सकिने अवस्था छैन,’ सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ। हिउँ रोकिने बित्तिकै डोजर लगाइने भनिए पनि यात्रुहरू बीचैमा अलपत्र परेका छन्।स्थानीय प्रशासनले जोखिम मोलेर यात्रा नगर्न आग्रह गरेको छ। तर,मुगुजस्ता दुर्गम जिल्लामा ‘नहिँड्नु’ भन्ने सुझाव आफैंमा व्यावहारिक हुँदैन।नाग्म–गमगडी सडक बन्द हुनु प्राविधिक समस्या मात्रै होइन। यो पूर्वतयारी र नीतिगत बेवास्ताको परिणाम हो।हिउँ पर्ने भूगोलमा हिउँ पर्दा सडक खुला राख्न नसक्नु अस्वाभाविक होइन। तर हरेक वर्ष उही ठाउँमा उही समय उही समस्या दोहोरिनु राज्यको असफलता हो।यात्रुहरूले हिउँदभर नाग्म र गमगडी दुवैतर्फ डोजर तयारी अवस्थामा राख्न माग गरेका छन्। मौसम विज्ञान विभागले अझै हिमपातको सम्भावना रहेको जनाएको अवस्थामा यो माग झन् सान्दर्भिक देखिन्छ। तर,कर्णालीमा हिमपातले किसानहरू उत्साहित छन्। बालीका लागि हिउँ उपयोगी मानिन्छ। तर बाटो थुनिँदा त्यो लाभ धेरैका लागि संकटमा रूपान्तरण हुन्छ।मुगुमा सडक केवल पूर्वाधार होइन् यो जीवनरेखा हो।हिउँ पग्लिएपछि सडक फेरि खुल्नेछ। सवारी चल्नेछन्।
जनजीवन बिस्तारै सामान्य बन्ला।तर तयारी, उपकरण र दृष्टिकोण नबदलिँदासम्म यो दृश्य फेरि दोहोरिनेछ।मुगुवासीका लागि बाटो खुल्नु भनेको केवल यात्रा सहज हुनु होइन।यो राज्यसँग जोडिएको उनीहरूको भरोसा खुल्नु हो।अहिले सडकमै डोजर तयारी अवस्थामा राखिएको छ । तर हिउँ रोकिएपछि मात्रै खुलाउने काम सुरु हुनेछ । हिउँले सडक अवरुद्ध भए पनि यात्रुहरू मर्कामा परेका छन् । अहिले मुगुदेखि जुम्ला, सुर्खेत र नेपालगन्ज जाने सवारीसाधन चल्न सकेका छैनन् ।नेपालगन्ज, सुर्खेत र जुम्लाबाट मुगु जाने गाडीहरू समेत बीचैमा रोकिएका छन् । जुम्लामा यो पटक गरेर दोस्रो पटक हिमपात भएको छ । हिमपातले किसानहरू उत्साहित छन् । बिहानैदेखि सडक मार्ग र हवाई मार्ग दुवै अवरुद्ध भएको छ

