प्रहरीले टुङ्ग्यायो इनिशा विक मृत्यु प्रकरणको अनुसन्धान
ओम शाही
सुर्खेत ,१२ चैत ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले इनिशा विक मृत्यु प्रकरणको अनुसन्धान टुङ्गोमा पुर्याएको छ । घटना घटेको १९ दिनपछि प्रहरीले सामुहिक बलत्कारपछि हत्या गरिएको भनिएकी इनिशा मृत्यु प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकील कार्यालयमा बुझाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्तासमेत रहेका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइएको जानकारी दिए । दक्ष जनशक्ति र उच्च प्रविधि प्रयोग गरी थालिएको अनुसन्धानबाट इनिशाको मृत्यु सामुहिक बलत्कार नभई मुख्य अभियूक्त अनमोल गौलीसँगको शारीरिक सम्पर्कले यौनाङ्गको भित्रि भागमा लागेको गहिरो चोटपछि भएको रक्तश्राप रहेको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतको दावी छ । ति अधिकृत भन्छन्, ‘प्रहरीले इनिशा विक मृत्यु प्रकरणको अनुसन्धान पुरा गरेको छ । मृत्युको कारण सामुहिक बलत्कार नभई मुख्य अभियूक्तसँगको यौन सम्पर्कपछि भएको रक्तश्राप देखिएको छ ।’ उनका अनुसार मुख्य अभियूक्त अनमोल गौलीलाई जबरजस्ती करणी र कर्तत्व ज्यान सम्बिन्धि मुद्दामा जन्मकैदको माग गरिएको छ । पक्राउ परेका अन्य तीन जनाविरुद्ध घटनास्थल पुगेको र इनिशालाई बचाउन भूमिका नखेलेको अभियोगमा कर्तव्य ज्यान सम्बन्धि मुद्दा चलाईएको उनले बताए ।
गएको २३ फागुनमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१, कि १६ वर्षीया इनिशा विकको रहस्यमय तवरबाट मृत्यु भएको थियो । त्यस दिन विद्यालय जान्छु भन्दै घरबाट निस्किएकी इनिशा वीरेन्द्रनगर–४, स्थित जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा फेला परेकी थिइन । प्रहरीले उनलाई कर्णाली प्रदेश अस्पताल पुर्याएको थियो । लगत्तै अस्पतालले उनलाई मृत घोषणा गरेको थियो । प्रहरीले घटनास्थलबाट एक १६ वर्षीय अनमोल गौलीलाई गिरफ्तार गरी अनुसन्धान थालेका थियो । पक्राउ परेका गौलीले इनिशासँग शारीरिक सम्पर्कपछि भएको अत्याधिक रक्तश्रापका कारण बेहोस भएको बयान दिएका थिए । गौलीको बयान, घटनासँग सम्बन्धित सीसी टिभी फुटेज, आरोपितहरुको मोवाइल, इनिशाको पोष्टमार्टम रिपोर्टका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो । इनिशा र आरोपित किशोरहरुको बायोलोजिकल स्वाब संकलन गरी फरेन्सिक परीक्षणसमेत गरिएको प्रहरीले जनाएको छ । उक्त घटनामा संलग्न भएको भन्दै अन्य तीन जनालाई समेत पक्राउ गरी प्रहरीले अनुन्धान थालेको थियो ।
इनिशाका आफन्तले सामुहिक बलत्कारपछि हत्या भएको भन्दै विरोध जनाएपछि घटनाको अनुसन्धानमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) समेत खटिएको थियो । पीडित परिवारले घटनामा संलग्नहरु माथि कारवाही नहुञ्जेल शव नबुझ्ने अडान लिएका छन् । २० दिनयता इनिशाको शव कर्णाली प्रदेश अस्पतालको शव गृहमा अलपत्र छ ।
२३ फागुनमा इनिशा बिहान ६ बजे स्कुल जान्छु भन्दै निस्किएकी थिइन् । वीरेन्द्रनगरकै उषा बालबाटिका माविमा कक्षा ११ मा पढ्ने इनिशाले भनेकी थिइन्, ‘सरहरूले नि बोलाउनुभएको हो क्या । आज स्कुलमा प्राक्टिकल क्लास छ दुई घण्टामा आइहाल्छु नि ।’ त्यो बिहान इनिशासँग शारीरिक सम्बन्ध राखेपछि अत्यधिक रक्तश्राप भएको र आतिएर अरु तीन जनालाई बोलाएको बयान ती किशोरले प्रहरीसमक्ष दिएका छन् । यो कुरा इनिशाको परिवार अझै मान्न तयार भएको छैन । घटनाको पर्सिपल्ट २५ फागुनमा पिडित परिवारले पक्राउ परेका चारै जनाविरुद्ध कर्तव्य ज्यान र जबर्जस्ती करणी मुद्दामा किटानी जाहेरी दर्ता गराएका थिए । परिवारको जाहेरीपछि भेरी अस्पताल बाकेका फरेन्सिक विशेषज्ञ डाक्टर अर्विन शाक्यको टोलीले प्रदेश अस्पतालमा पुगेर इनिशाको सब परिक्षण गरेको थियो । त्यो परीक्षणबाट जबर्जस्ती करणीका क्रममा संवेदनशील अंगमा गम्भीर चोट लागेर अत्यधिक रक्तश्राप भई उनको मृत्यु भएको उल्लेख छ । अस्पतालको यस्तो रिपोर्ट पीडित परिवारलाई अपत्यारिलो लागिरहेको छ । संवेदनशील अंग पनि क्षत्विक्षत् भएको अवस्थामा भेटिएकाले यसलाई उनीहरूले क्रूर सामूहिक बलात्कार र हत्या मानेका छन् । दोषीहरूले हदैसम्मको सजाय पाऊन् भन्ने उनीहरूको माग छ । यता प्रहरीले इनिशा मृत्यु प्रकरणमा प्राप्त सबुत प्रमाणका आधारमा तयार पारेको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकील कार्यालय सुर्खेतले अध्ययन थालेको छ । जिल्ला सरकारी वकील कार्यालयका जिल्ला न्यायाधिवक्ता कर्णबहादुर महतले अनुसन्धान प्रतिवेदन उपर अध्ययन थालिएको बताए । अनुसन्धान प्रतिवेदनको पूर्ण अध्ययनपछि मात्रै आरोपितविरुद्ध अभियोग पत्र तयार हुने उनले बताए । उनले भने, ‘प्रहरीको अनुसन्धान प्रतिवेदन प्राप्त भए पश्चात मैले अध्ययन थालिसकेको छुँ, केही दिन निरन्तर सरकारी बिदा रहेकाले आइतबार अभियोग पत्र जिल्ला अदालतमा लैजाने गरी तयारी भइरहेको छ ।’





