विश्व क्षयरोग दिवस :जुम्लाका कैदीलाई स्वास्थ्य परिक्षण
गाेल्डेन बुढा
जुम्ला,१० चैत ।
विश्व क्षयरोग दिवसको अवसरमा जुम्ला कारागारमा मंगलबार कैदी बन्दीहरूको स्वास्थ्य जाँच कार्यक्रम सम्पन्न भयो। ७६ कैदीमध्ये ६२ जनाको स्वास्थ्य परीक्षण गरिएको छ, जसले कारागारभित्र स्वास्थ्य सेवाको पहुँच र चुनौतीलाई प्रत्यक्ष उजागर गरेको छ।जनस्वास्थ्य सेवा कार्यालय जुम्लाको आयोजना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकार्यमा भएको यो अभियानले केवल स्वास्थ्य जाँचमै सीमित नभई मानसिक स्वास्थ्य र दीर्घकालीन रोगसम्बन्धी समस्यालाई पनि पहिचान गर्ने प्रयत्न गरेको छ।जाँचको तथ्यांक अनुसार २१ जनाले मानसिक स्वास्थ्य सम्बन्धी उपचार वा परामर्श पाएका छन्।
क्षयरोगको सम्भावित सङ्क्रमण भएकाहरूलाई थप परिक्षणका लागि ९ जना अस्पताल पठाइएको छ,भने उच्च रक्तचापका बिरामीको संख्या १० रहेको छ। यसै अवसरमा कैदी बन्दीलाई २७ केजी स्वास्थ्यवर्धक फलफूल वितरण गरिएको थियो।हाल जुम्लामा ४५ जना क्षयरोगका बिरामी सक्रिय रूपमा उपचाररत छन्। कारागारका बन्दीहरू प्रायः सीमित स्वास्थ्य सेवामा पहुँच भएकाले यस्तो स्वास्थ्य परिक्षणले मात्र तात्त्विक राहत दिन सक्दछ; दीर्घकालीन प्रभावका लागि नियमित निगरानी र संरचनागत स्वास्थ्य व्यवस्थापन आवश्यक देखिन्छ।

जनस्वास्थ्य प्रमुख किरण शर्माले भने, “कारागारमा स्वास्थ्य पहुँचको सुधारले केवल रोग नियन्त्रणमा मात्र नभई मानसिक स्वास्थ्य सुधारमा पनि योगदान पुर्याउँछ। यसरी नियमित स्वास्थ्य जाँच र पोषण सहयोगले कैदीहरूमा जीवनस्तर सुधार गर्न सकिन्छ।”कारागारजस्ता बन्दिस्तानमा रोगको जोखिम सामान्यभन्दा धेरै हुन्छ। संक्रमित व्यक्तिले अन्यमा रोग फैलाउने जोखिम बढी हुने हुँदा नियमित जाँच, उचित उपचार र पोषणको व्यवस्था अपरिहार्य छ।यो पहलले कारागारभित्र स्वास्थ्य सेवा सुधार्ने सुरुवातको संकेत गरेको भए पनि दीर्घकालीन दृष्टिले स्थायी रणनीति र स्वास्थ्य पूर्वाधार विकास अपरिहार्य देखिन्छ।





