लागुऔषधविरुद्ध प्रदर्शन उग्र बन्दा गुलरियामा प्रहरी–स्थानीय झडप, ११ प्रहरी घाइते
बाँके ,१० चैत ।
गुलरिया नगरपालिका–११ गणेशपुरमा लागुऔषधविरुद्ध भएको प्रदर्शन उग्र बन्दा स्थानीय र प्रहरीबीच झडप हुँदा ११ जना प्रहरी घाइते भएका छन्। प्रदर्शनकारीले हुलाकी सडक अवरुद्ध गरेपछि सडक खुलाउन पुगेका प्रहरी र स्थानीयबीच तनाव बढ्दै झडपको स्थिति सिर्जना भएको हो।
झडपका क्रममा केही स्थानीयसमेत घाइते भएका छन्। स्थिति नियन्त्रणमा लिन प्रहरीले ९ राउन्ड हवाई फायर तथा ४ राउन्ड अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी डीएसपी प्रमेश विष्टले जानकारी दिनुभयो।
प्रहरीका अनुसार घटनास्थलबाट सात जनालाई नियन्त्रणमा लिइएको छ। “प्रहरीमाथि ढुंगा प्रहार हुन थालेपछि बाध्य भएर हवाई फायर र अश्रुग्यास प्रयोग गर्नुपरेको हो,” डीएसपी विष्टले बताउनुभयो।
झडपमा प्रहरीका सहायक हवलदार सन्तोष विक गम्भीर घाइते भएका छन्। उहाँको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
स्थानीयका अनुसार पछिल्लो समय भारतबाट भित्रिने ब्राउन सुगर, कोरेक्सलगायत लागुऔषधको सेवनका कारण दुई जनाको ज्यान गएको घटनापछि आक्रोशित स्थानीय सडकमा उत्रिएका थिए। उनीहरूले सीमावर्ती भारतीय बजारतर्फ जाने नाका बन्द गर्नुपर्ने, लागुऔषध कारोबारमा संलग्नमाथि कडा कारबाही गर्नुपर्ने माग राखेका छन्।
गुलरिया–११ का पूर्व वडाध्यक्ष रामनारायण केशरीका अनुसार क्षेत्र लागुऔषधको ‘हब’ बन्दै गएकाले नाका पूर्ण रूपमा बन्द गर्नुपर्ने स्थानीयको मुख्य माग रहेको छ।
घटनापछि क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको प्रहरीले जनाएको छ।




