लुम्बिनीमा सरसफाइ अध्ययन केन्द्र उद्घाटनः फोहोरलाई मोहरमा रूपान्तरण गर्ने अभियान सुरु
लुम्बिनी,१० चैत ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाको वडा नं. ५ ढोडहवामा ‘सरसफाइ अध्ययन केन्द्र’ को उद्घाटन गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मंगलबार उक्त केन्द्रको उद्घाटन गर्नुभएको हो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी क्षेत्रलाई सरसफाइमा नमुना बनाउने दिशामा महत्वपूर्ण सुरुवात भएको बताउनुभयो । उहाँले वर्षेनी १३ देखि १४ लाखसम्म पर्यटक आउने लुम्बिनी क्षेत्रमा विगतमा फोहोरका कारण बिग्रिएको छवि अव छवि सकारात्मक रुपमा बदलिने उल्लेख गर्नुभयो

‘लुम्बिनी परिसर वरिपरि फोहोरका थुप्रा हुने, पर्यटकले नाकमुख छोपेर हिँड्नुपर्ने अवस्था थियो । अब त्यो परिस्थितिको अन्त्य हुँदैछ,’उहाँले भन्नुभयो‘आज त्यो फोहोरलाई यहाँ ल्याएर मोहरमा परिणत गर्ने उद्देश्यका साथ यो काम अघि बढाइएको छ ।’
मुख्यमन्त्री आचार्यले फोहोर व्यवस्थापन लुम्बिनी सांस्कृतिक नगरपालिकाको मात्र नभई प्रदेश सरकारको पनि साझा जिम्मेवारी भएको स्पष्ट पार्नुभयो । उहाँले प्रदेश सरकारले यस्ता योजनाको कार्यान्वयनमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाउँदै यस आयोजनालाई प्रदेशकै गौरवको परियोजना भएको उल्लेख गर्नुभयो ।
उहाँले ‘ग्रेटर लुम्बिनी’ अवधारणाअन्तर्गत आवश्यक बजेट सुनिश्चित भएको जानकारी दिदै अव योजनाले पूर्णता पाउने विश्वास व्यक्त गर्नुभयो । साथै, लुम्बिनीलाई हरित सहरका रूपमा विकास गर्न प्रदेश सरकारको पूर्ण साथ र सहयोग रहने उहाँले बताउनुभयो ।
लुम्बिनी सांस्कृतिक नगरपालिका, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) र द कोका–कोला फाउन्डेसनको सहकार्यमा सञ्चालनमा आएको उक्त केन्द्रले फोहोर व्यवस्थापनलाई दिगो विकास र हरित अर्थतन्त्रसँग जोड्ने लक्ष्य लिएको छ ।
कार्यक्रममा प्रदेश सभा सदस्य रत्न खत्री र चन्द्रकेश गुप्ता, लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यवाहक मेयर कल्पना हरिजन, यूएनडीपी नेपाल र द कोका–कोला फाउन्डेसनका प्रतिनिधिहरू, स्थानीय जनप्रतिनिधि तथा समुदायका सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।





