वीरेन्द्रनगरवासीले कहिले  खान पाउँलान् भेरीको पानी ?

ओम शाही
सुर्खेत, ३ चैत । 
वीरेन्द्रनगर नगरपालिका–११, अमृतडाँडाका रत्नबहादुर वली उमेरले ७२ वर्षका भए । उनी २०५५ सालतिर सुर्खेतकै सिम्ता गाउँपालिकाबाट वीरेन्द्रनगर उपत्यकामा बसाईँ सरेका थिए । तत्कालिन समयमा उनी बसाइँ सरेको अमृतडाँडामा अहिलेको जस्तो बस्ती विकास भइसकेको थिएन ।
विजुली, खानेपानी, सडक र सञ्चारको सुविधा पनि वलीको बस्तीमा पुगेका थिएनन् । उनीहरुको परिवार इनार र कुवाबाट खानेपानीको जोहो गर्दथ्यो । जनघनत्व कम भएकै कारण उतिबेला स्वच्छ खानेपानी सहजै प्राप्त हुन्थ्यो । तर विस्तारै वस्ती विस्तार हुँदै गयो । पानीका स्रोतहरु सुक्दै गए बाँकी रहेका पनि प्रदुषित बन्दै गए । त्यसको केही समयपछि वीरेन्द्रनगर उपत्यकामा खानेपानीको समस्या समाधान गर्न झुप्रा खोलाको पानी ल्याइयो । झुप्रा खोलाको पानी वलीको घरमा पनि पुग्यो ।
उनले झण्डै चार/पाँच वर्ष ढुक्कले पानी खाए । तर केही वर्षयता भने वलीको घरमा झुप्रा खोलाको पानी बिरलै पुग्छ । प्रदेश राजधानी बनेयता वीरेन्द्रनगरमा ह्वात्तै शहरीकरण बढेको छ । जनसंख्याको चाप अनुसार खानेपानीको स्रोत कम हुँदा बिग्रिएको आपूर्ति सन्तुलनका कारण वलीले अहिले निकै समस्या व्यहोर्नु परेको सुनाउँछन् ।
‘पहिले वस्तीहरु पातला थिए, कुवा र इनारको पानी पनि खान योग्य थिए,’ उनी भन्छन्, ‘अहिले त नगदेवाली जस्तै घर बनेका छन् । इनार खन्दा पनि सजिलै पानी आउदैन । भएका पनि खडेरीमा सुक्छन् ।’  यो समस्या वलीले मात्र भोगेका छैनन् । वीरेन्द्रनग नगरपालिका–१, की मनिषा शाहीको घरमा पनि केही वर्ष यता धारामा पानी विगतको जस्तो जादैन ।
झुप्राको पानी अनियमित हुन थालेपछि उनको परिवारले जारको पानी प्रयोग गर्ने गरेको छ । उनी भन्छिन्, ‘हामी सुरुमा वीरेन्द्रनगर आउँदा नियमित धारामा पानी आउथ्यो, तर केही वर्षयता भने खानेपानीको आपूर्ति निकै अनियमित छ । धारामा कहिले पानी आउछ थाहा नै हुँदैन ।’
उनको अनुमानमा चार वर्षयता आफ्‌नो टोलमा खानेपानीको समस्या देखा पर्न थालेको हो । वीरेन्द्रनगर प्रदेशको मुकाम भएसँगै बढेको जनसंख्याका कारण यो समस्या झन् विकराल बनेको उनको अनुभव छ । ‘धारामा नियमित पानी आउँदैन । आएपनि निकै सानो आउछ,’ उनि भन्छिन्, ‘प्राय जारको पानी प्रयोग गर्छौं, पानी त जसरी पनि खानै पर्‍यो ।’
शनिबार वली अमृत डाँडास्थित भेरी लिफ्‌ट खानेपानी आयोजनाको मुख्य ट्याङ्की निर्माणाधिनस्थलमा पुगेका थिए । उक्त स्थानमा उनी हप्तामा दुई/तीन दिन नबिराइ गइरहन्छन् । यो त्यही महात्वाकांक्षी आयोजना हो, जसले खानेपानीको हाहाकार व्यहोरेका वीरेन्द्रनगरका वली जस्ता लाखौ नागरिकलाई स्वच्छ पिउने पानीको जोहो गर्न भौतारिनु पर्ने बाध्यता अन्त्य गर्नेछ ।
यो आयोजना संघीयता कार्यान्वयनपछि तीनै तहका सरकारको लागत साझेदारीमा गतवर्षदेखि कार्यान्वयन भइरहेको छ । जसले भेरी नदीको पाँच सय ६० लिटर प्रतिसकेण्ड पानी तानेर वीरेन्द्रनगरवासीलाई दीर्घकालिन स्वच्छ खानेपानीको पहुँचमा पुर्‍याउने छ ।
१३ भदौ २०८१ बाट सुरु भएको आयोजना निर्धारित समयमा सपन्न हुने आशाका बीच अघि बढिरहेको छ । वलीले निर्माणस्थलको काम हेर्दा तोकिएकै समयमा पानी आउनेमा ढुक्क रहेको बताए । शाहीले पनि आफ्‌नो घरअघिबाट आयोजनाका धमाधम पाइप लाइन विस्तार भइरहदा खानेपानीको समस्या पार लाग्ने अपेक्षा गरेकी छन् ।
विश्व बैंकको सहुलियतपूर्ण ऋण अनुदानमा अघि बढिरहेकोे आयोजना कार्यान्वयनको नेतृत्व वीरेन्द्रनगर नगरपालिकाले गरिरहेको छ । जसमा ८० प्रतिशत संघ, १३ प्रतिशत प्रदेश र सात प्रतिशत वीरेन्द्रनगर नगरपालिकाको साझेदारी छ । खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना वीरेन्द्रनगर आयोजना इकाई कार्यालय सुर्खेतका प्रमुख सन्जिवकुमार शाहले हालसम्म आयोजनाले २० प्रतिशत भौतिक प्रगति हासिल गरेको बताए ।
उनका अनुसार प्याकेज–१ अन्तर्गत लेकवेशी नगरपालिका–१०, मा पानी प्रशोधन प्लाण्ट, वीरेन्द्रनगर–११ को अमृतडाँडामा ३०/३० लाख क्षमताका तीन वटा मुख्य ट्याङकी निर्माण कार्य जारी छ । त्यस्तै, पानी प्रशोधन प्लाण्टबाट मुख्य ट्याङकीसम्म पाइपलाईन विस्तार कार्य पनि अघि बढ्ने चरणमा छ ।
पहिलो प्याकेज अन्तर्गत अमृतडाँडाबाट वीरेन्द्रनगर उपत्यकाका विभिन्न स्थानमा निर्माण हुने ट्याङकीसम्म विस्तार गरिने पाइप लाइन बिछ्याउने कार्य जारी छ । उनका अनुसार ३५ किलोमिटर मध्ये हालसम्म २१ किलोमिटर पाइप बिछ्याउने कार्य सम्पन्न भएको छ । ‘हालसम्म आयोजनाले २० प्रतिशत भौतिक प्रगति गरेको छ,’ उनले भने, ‘पहिलो प्याकेज अन्तर्गतका कामले गति लिएका छन् ।
बीचमा कुनै  प्राविधिक वा स्थानीयस्तरमा समस्या नआए दुई वर्षभित्र भेरीको पानी उपत्यकामा आउँछ ।’ उनका अुसार पहिलो प्याकेज तीन अर्ब ५० करोड आठ लाख रुपैयाँ लागतमा सम्झौता भई काम अघि बढेको थियो । दोस्रो प्याकेज अन्तर्गत पत्येक घरधुरीमा पाइप सञ्जाल विस्तार, धारा जडान र आयोजना सञ्चालन र व्यवस्थापन प्रणाली निर्माणका लागि ग्लोबल टेण्डर आह्वान भइसकेको उनले बताए । उनका अनुसार अबको केही समयमा उक्त ठेक्का खोल्ने तयारी छ ।
यसरी बनेको थियो भेरी लिफ्टको अवधारणा
वीरेन्द्रनगरमा खानेपानीको समस्या अहिलेको भने होइन । २०५७ सालमा स्थापना भएको झुप्रा बृहत हालको सुर्खेत उपत्यका खानेपानी संस्थाले वीरेन्द्रनगरमा खानेपानी आपूर्ति गर्दै आइरहेको छ । तत्कालिन सयममा झुप्रा बृहतको डिजाइनमा २०७१ सम्म बढ्न सक्ने एक लाख चार हजार जनसंख्यालाई आधार मानिएका थियो ।
२०६० सालमा वीरेन्द्रनगरको कुल जनसंख्या ५४ हजार थियो । झुप्रा बृहत खानेपानी आयोजना निर्माणपछि वीरेन्द्रनगरमा २०६४ सम्म खानेपानीको सहज आपूर्ति हुन्थ्यो । तर, २०६१/२०६२ मा तत्कालिन नेकपा माओवादी र राज्य पक्षबीच चलेको सशस्त्र युद्ध चरम उत्कर्षमा पुगेको थियो । सोही समयमा सुरक्षाका कारण वीरेन्द्रनगर बसाईँ सर्नेको संख्या ह्वात्तै बढ्यो । जसका कारण २०७१ मा एक लाख चार हजार जनसंख्या पुग्ने आँकलन गरिएकोमा चार/पाँच वर्ष अघि नै वीरेन्द्रनगरको जनसंख्या दोब्बर भएपछि माग अनुसारको खानेपानी पुर्‍याउन सकस भइरहेको सुर्खेत उपत्यका खानेपानी संस्थाका इन्जिनियर बालाराम तिवारी बताउँछन् ।
वीरेन्द्रनगरमा खानेपानीको हाहाकारको श्रृंखला प्रदेश राजधानी भएयता झन चुलिएको छ । २०७२ को संविधान जारी भएपश्चात सुर्खेतलाई कर्णालीको राजधानी बनाइयो । राजधानीका सम्पूर्ण संरचनाहरु वीरेन्द्रनगरमा स्थापना भए । त्यसपश्चात वीरेन्द्रनगरको जनसंख्या एक्कासी बढ्यो । झण्डै २० हजार चार सय २९ घरधुरीलाई पुगनपुग पानीको आपूर्ति भइरहेको अवस्थामा यो संख्या बढेर झण्डै ३५ हजार पुगेपछि खानेपानीको आपूर्ति श्रृंखला झनै बिग्रिएको तिवारी बताउँछन् ।
सुर्खेत उपत्यकामा अहिलको अवस्थामा तीन सय ७१ लिटर प्रतिसेकेण्ड पानी आवश्यक रहेकोमा आपुर्ति भने एक सय ५४ लिटर मात्रै रहेको उनी बताउँछन् । उनका अनुसार सुरुमा झुप्रा खोलाबाट मात्रै पानी ल्याइएको थियो । पछि माग बढ्दै गएपछि खरी र बोरी खोलाको पानी झुप्रामा थप गरियो । तर मागअनुसारको आपूर्ति भने हुन नसकेपछि वीरेन्द्रनगरमा दीर्घकालिन खानेपानीको विकल्प खोजियो ।
त्यही विकल्पस्वरुप २०७३ सालमा भेरी लिफ्टको अवधारणा अघि सारिएको उनी बताउँछन् । उति बेला संस्थाको साधारणसभाबाट भेरीको पानी लिफ्ट प्रविधिमार्फत वीरेन्द्रनगरमा ल्याउने प्रस्ताव पारित गरिएको थियो । त्यसको झण्डै आठ वर्षपछि आयोजना कार्यान्वयन गएको थियो । दुई वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी अघि बढाइएको आयोजनाबाट ल्याइने भेरीको पाँच सय ६० लिटर प्रतिसेकेण्ड र अहिले आपूर्ति भइरहेको एक सय ५४ लिटर प्रतिसेकेण्ड पानीले वीरेन्द्रनगरमा सन् २०५० सम्म बृद्धि हुनसक्ने जनसंख्याको आवश्यकता धान्ने उनी बताउँछन् ।
वीरेन्द्रनगरवासीले कहिले  खान पाउँलान् भेरीको पानी ?

स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन

वीरेन्द्रनगरवासीले कहिले  खान पाउँलान् भेरीको पानी ?

बाजुरामा ढुङ्गा प्रहार गरी एक जनाको हत्या

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds