कर्णालीका सुत्केरीको जोखिम : उपचार ढिला र कमजोर स्वास्थ्य पहुँचले बढ्दो ज्यानको खतरा
गाेल्डेन बुढा जुम्ला
जुम्ला ,२९ फाल्गुन।
दुर्गम बस्ती, कमजोर स्वास्थ्य पूर्वाधार, परम्परागत विश्वास र ढिलो उपचार,यी सबै कारणले कर्णालीमा सुत्केरी महिलाको ज्यान जोखिममा पर्ने क्रम अझै रोकिएको छैन। तथ्यांकले संख्या घटेको देखाए पनि हरेक मृत्युले स्वास्थ्य प्रणालीका गम्भीर कमजोरी उजागर गरिरहेका छन्।गतवर्ष माघ महिनामा जुम्लाको तातोपानी गाउँपालिका -१ राका गाउँकी ३० वर्षीया सुत्केरी महिलाकाे मृत्यु भयाे। छ।आमा मुगा शाही र उनीबाट जन्मेको नवजात शिशुको मृत्यु भएको थियोे। बेहोस भएर अस्पताल लगिएको उनलाई आईसियूमा राखिएको थियो। उनलाई भेन्टिलेरमा राखिएको थियो।
सुत्केरी शाहीलाई अस्पतालमा ल्याउँदा बच्चा जन्मेर मृत्यु भइसकेको डाक्टर बताउँछन्। आईसियुकाे भेन्टिलेटरमा उपचार भइरहेको थियोे।परिवारले अस्पताल ढिला पुर्याउँदा दुःखद घटना भयो। ‘मृतक सुत्केरी शाहीलाई माघ २ गते राति नै सुत्केरी ब्यथा लागेको थियो। समयमा अस्पतालमा नल्याई धामीझाँक्रीकाे भर परेपछि अस्पताल ढिला पुयाईएको थियोे।’यस्तै गतवर्षको साउन महिनामै जुम्लाको पातारासी-६ बाँताकी एक सुत्केरीको आगो बालेर सुतेको अवस्थामा निस्सासिएर मृत्यु भयो। सुत्केरी भएको ११ ओैं दिनमा आगोले सेक्न बालेको कोइलाको धुवाँमा निस्सासिएर मृत्यु भएको थियोे।जुम्लाको सदरमुकाम खलंगामा बस्दै आएकी २२ वर्षीया मायालक्ष्मी महताराको निस्सासिएर गम्भीर घाइते भएकी थिइन्। गम्भीर घाइते महतारालाई अस्पताल ल्याउँदा उपचारको क्रममा निधन भएको थियोे। ‘मृत्यु हुने महिला सुत्केरी भएको १२ दिन भएको थियो,’ सुत्केरी महतारालाई अस्पताल पुर्याएको केही समयमै निधन भएको थियो।यस्तै जुम्लाको तिला गाउँपालिका–३ की १८ वर्षीया अस्मिता नेपालीलाई सुत्केरीपछिको स्वास्थ्य जटिलता बढेपछि नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत लगिएको छ। सोमबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा सुत्केरी भएकी उनको स्वास्थ्य अवस्था गम्भीर बनेपछि बिहीबार ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ अन्तर्गत हवाई उद्धार गरिएको हो।स्वास्थ्यकर्मीका अनुसार अस्मिताले जन्माएको नवजात शिशुको स्वास्थ्य अवस्था सामान्य छ। तर, सुत्केरीपछिको जटिलताका कारण आमाको मिर्गौला र फोक्सोमा गम्भीर समस्या देखिएपछि प्रतिष्ठानको सघन उपचार कक्ष (आइसीयू) मा राखेर उपचार भइरहेको थियो।कर्णाली स्वास्थ्य प्रतिष्ठानका निर्देशक डा. कमल थानीका अनुसार बिरामीको अवस्था जटिल बन्दै गएको र त्यहाँ उपलब्ध उपचार सुविधाले मात्रै पर्याप्त नहुने निष्कर्ष निकालेपछि तत्काल सुविधासम्पन्न अस्पतालमा रेफर गरिएको हो।‘स्वास्थ्य अवस्था जटिल भएपछि यहाँको उपचारले मात्र पुग्ने अवस्था नरहेकाले थप उपचारका लागि रेफर गरिएको हो।’ उनले सुनाए।जुम्लाका प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले चिकित्सकको सिफारिसपछि नेपाली सेनाको हेलिकप्टर झिकाएर अस्मितालाई कर्णाली प्रदेश अस्पताल (सुर्खेत) पठाइएको बताए।यसैगरी, तिला गाउँपालिका–२ की अनुस्का रोकायलाई पनि सोही हेलिकप्टरमार्फत उद्धार गरिएको छ। लडेर टाउकोमा गम्भीर चोट लागेकी उनलाई थप उपचारका लागि नेपाली सेनाको ‘एन–ए ०५५’ कलसाइनको हेलिकप्टरबाट अस्पताल लगिएको हो।कर्णालीका दुर्गम गाउँमा सुत्केरीपछिका जटिल स्वास्थ्य समस्या देखिँदा समयमै उपचार सुविधा उपलब्ध नहुँदा ज्यानको जोखिम बढ्ने गरेको छ। यस्तो अवस्थामा ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ मार्फत गरिने हवाई उद्धारले दुर्गम क्षेत्रका महिलाको जीवनरक्षा गर्न महत्त्वपूर्ण अवसर दिइरहेको स्थानीय प्रशासनले जनाएको छ।कर्णालीमा समयमै उपचार नपाएर पछिल्ला ९ वर्षमा १ सय ७२ सुत्केरीको मृत्यु भएको छ। स्वास्थ्य सेवा निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७०/७१ मा ३३ सुत्केरीको मृत्यु भयो। तीन वर्षअघि १७ जनाले ज्यान गुमाए। गत आर्थिक वर्षमा १४ र चालु आर्थिक वर्षमा ९ जनाको मृत्यु भएको तथ्यांक छ। संख्या घटे पनि एक जनाको मृत्यु पनि गम्भीर चिन्ताको विषय हो।प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको अध्ययनअनुसार २३ दशमलव ६ प्रतिशत परिवार मात्र आधा घन्टामा स्वास्थ्य संस्था पुग्न सक्छन्। अर्थात् झन्डै तीन चौथाइ परिवारका लागि स्वास्थ्य सेवा अझै पहुँचबाहिर छ।कर्णालीमा ३ लाख ७१ हजार १ सय २५ घरपरिवार छन्। १६ लाख ९४ हजार ८ सय ८९ जनसंख्याका लागि १ सय ८४ चिकित्सकको दरबन्दी छ। प्रदेशभर ३ सय ५९ बर्थिङ सेन्टर छन्, तर दक्ष जनशक्ति, उपकरण र नियमित सेवा अभाव छ।आर्थिक वर्ष २०७४/७५ अघिसम्म संघीय स्वास्थ्य मन्त्रालयमार्फत जोखिममा परेका गर्भवतीका लागि ‘एयर लिफ्टिङ’ सेवा सञ्चालनमा थियो। पछिल्ला तीन वर्षमा १ सय ५८ जनाको उद्धार गरिएको तथ्यांक छ।
नवजात शिशु मृत्युदर पनि चिन्ताजनक छ। पछिल्ला ४ वर्षमा ७ सय ७७ नवजात शिशुको मृत्यु भएको छ। गत आर्थिक वर्षमा मात्र १ सय ९९ शिशुको मृत्यु भयो। कर्णाली प्रदेश योजना आयोगको प्रथम पञ्चवर्षीय योजनाअनुसार नवजात शिशु मृत्युदर प्रतिहजार २९ छ, जुन राष्ट्रिय औसतभन्दा उच्च हो।स्वास्थ्य बीमामा २९ प्रतिशत नागरिक मात्र सहभागी छन्। स्वास्थ्य सेवातर्फ ९ सय ८ दरबन्दीमध्ये ४ सय ६३ जना मात्र कार्यरत छन्। १ सय ८४ चिकित्सकको दरबन्दी भए पनि करारबाहेक ३२ दरबन्दी मात्र पूर्ति भएका छन्। चिकित्सक टिकाउन ७५ देखि १ सय ५ प्रतिशतसम्म भत्ता व्यवस्था गरिएको छ।प्रदेशमा १२ सरकारी अस्पताल र १३ प्राथमिक स्वास्थ्य केन्द्र छन्। प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान बाहेक अन्य अस्पतालमा नियमित चिकित्सक पाउन कठिन छ। ७९ स्थानीय तहमध्ये ३१ तहमा मात्र आधारभूत अस्पताल सञ्चालनमा छन्। २५ नगरपालिका, ५४ गाउँपालिका र ७ सय १८ वडा रहेको प्रदेशका १ सय १७ वडामा स्वास्थ्यचौकी छैन।जुम्लामा नयाँ आधारभूत स्वास्थ्य केन्द्र स्थापना भए पनि दरबन्दी पूर्ति हुन सकेको छैन।यता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका नर्सिङ प्रमुख सविता खड्काका अनुसार गर्भावस्थामा आवश्यक औषधि नियमित नखाने, महिलाले स्वास्थ्यसम्बन्धी निर्णय आफैँ गर्न नसक्ने र स्वास्थ्य संस्थामा जान परिवारको निर्णय कुर्नुपर्ने अवस्था पनि जोखिमको कारण हो।

