साढे तीन वर्षअघि नै बन्नुपर्ने पुलको निर्माण २१ प्रतिशतमात्र
कालीकोट, २३ चैत ।
कालीकोटको पचालझरना र पलाँता गाउँपालिका जोड्ने जारकोट पुल निर्माण अलपत्र परेको छ । ठेकेदार कम्पनीले सम्झौता अनुसारको काम नगर्दा पुल निर्माणको काम अधुरो अवस्थामा रहेको हो। समयमै पुल नबन्दा स्थानीयले कर्णाली करिडोरसँग सहज रुपमा जोडिन पाएका छैनन् । तीन वर्षमा बन्नुपर्ने पुल सम्झौताको साढे ५ वर्ष हुँदा समेत सकिएको छैन ।
०७७ सालको असोज १३ गते हिराचन क्याराभान सुपरस्टार जेभिले यो पुल निर्माणका लागि भ्याटसहित १३ करोड ३६ लाख ३९ हजारमा ठेक्का सम्झौता पाएको थियो । सम्झौता अनुसार २०७९ असोज १३ गते काम सक्काउनुपर्ने थियो । तर ठेकेदार कम्पनीको लापरबाहीले सम्झौताअनुसार काम नसकिएपछि पहिलो पटक २०८१ जेठ ०४ देखि २०८१ चैत ३१ गतेसम्म म्याद थपियो तर काम भने सकिएन । दोस्रो पटक २०८२ जेठ १९ बाट २०८३ को चैत ३० गतेसम्मका लागि म्याद थपिएको छ । तर अझै काम सकिने छाँट देखिँदैन । हालसम्म पुल निर्माणको कामले गति लिन सकेको छैन ।
पचालझरना गाउँपालिका उपाध्यक्ष अल्किना बमका अनुसार चरम लापरबाहीका कारण पुल निर्माण अलपत्र परेको बताइन् । लामो समयसम्म पुल नबन्दा स्थानीयले कर्णाली नदीबाट वारपार गर्न घन्टौ हिड्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।
मौखिक तथा लिखित रुपमा पटक–पटक ताकेता गर्दा पनि ठेकेदार कम्पनीले सम्झौता अनुसारको काम नगर्दा पुल निर्माणको काम अलपत्र परेको पूर्वाधार विकास कार्यालय कालीकोटका प्रमुख प्रभाकरप्रसाद सिंहले बताए । उनले भने, ‘हामीले धेरै पटक काम गराउन प्रयास गरेका हौँ । अहिलेसम्म २१ प्रतिशत मात्र पुलको भौतीक प्रगती छ । पुलको साइडमा हालसम्म एकतर्फको पिल्लरमात्र देखिन्छ ।’
‘कर्णाली नदीमा पुल निर्माण हुन नसक्दा स्थानीयलाई सास्ती छ ।’ पलाँता गाउँपालिका —९ का पूर्व वडाध्यक्ष टक्क बमले भने, उक्त पुल नबन्दा पलाँताका स्थानीयले समेत धेरै सास्ती खेपेका छन् ।
पुलको प्राविधिक काम हेर्दै आएका पूर्वाधार विकास कार्यालयका इन्जिनियर विसराम पुन मगरले पुलको भौतिक प्रगति नखेखिएको दाबी गरे । ठेकेदार कम्पनीले अहिलेसम्म ३ करोड ३ लाख ९१ हजार रुपैयाँ भुक्तानी लिइसकेको उनले बताए । पुल निर्माणको जिम्मा पाएको हिराचन क्याराभान सुपरस्टार जे.भिका ठेकेदार तारा शाहाले पुलको काम भइरहेको बताइन् ।





