कोहलपुरमा निःशुल्क आँखा शिविर २,६८७ जनाको परीक्षण, ३७३ जनाको मोतिबिन्दु शल्यक्रिया
बाँके, १९ चैत ।
बाँकेको कोहलपुरमा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरबाट २६ सयभन्दा बढी नागरिक लाभान्वित भएका छन् । कोहलपुर नगरपालिका र तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँको संयुक्त आयोजनामा सञ्चालन गरिएको शिविरबाट २ हजार ६८७ जनाले निःशुल्क आँखा परीक्षण सेवा लिएका हुन् ।
नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक अमृतकुमार रानाका अनुसार चैत ९ गतेदेखि १५ गतेसम्म सञ्चालन गरिएको स्क्रिनिङ शिविरमा १ हजार ५९६ महिला र १ हजार ९१ पुरुष सहभागी भएका थिए ।
परीक्षणका क्रममा ३७३ जनामा मोतिबिन्दु समस्या पहिचान भएपछि उनीहरूको निःशुल्क शल्यक्रिया गरिएको छ । चैत १६ देखि १८ गतेसम्म कोहलपुर नगर अस्पतालमा सञ्चालन गरिएको शल्यक्रियामा २०१ महिला र १७२ पुरुषको सफल उपचार गरिएको रानाले जानकारी दिए ।
शिविरमा सहभागी सबै नागरिकलाई आवश्यक औषधी निःशुल्क वितरण गरिएको थियो भने शल्यक्रिया गरिएका बिरामीलाई औषधिसँगै फलफूलसमेत प्रदान गरिएको थियो । नगर प्रमुख पूर्णप्रसाद आचार्यले नगरवासीको स्वास्थ्य संरक्षण नगरपालिका प्राथमिकतामा रहेको बताउँदै यस्ता निःशुल्क स्वास्थ्य सेवा कार्यक्रम निरन्तर सञ्चालन गरिँदै आएको उल्लेख गरे । उनका अनुसार तिलगङ्गा आँखा प्रतिष्ठानसँगको सहकार्यमा गत वर्षदेखि नियमित रूपमा आँखा परीक्षण तथा मोतिबिन्दु शल्यक्रिया कार्यक्रम सञ्चालन हुँदै आएको छ ।
नगर स्वास्थ्य शाखाका अनुसार गत वर्ष पनि २ हजार ५०३ जनाको आँखा परीक्षण गरिएको थियो, जसमध्ये ४४२ जनाको निःशुल्क शल्यक्रिया गरिएको थियो । यस वर्षको शिविरमा डा. रिता गुरुङ र डा. सुरेन्द्र यादवको नेतृत्वमा आएको विशेषज्ञ टोलीले आँखा परीक्षण तथा शल्यक्रिया सेवा प्रदान गरेको जनाएको छ ।




