नदी कटान रोक्न जैविक तटबन्ध
कञ्चनपुर, १९ चैत ।
कञ्चनपुरमा नदी नियन्त्रणका लागि दातृ निकाय र जनश्रमदानमा जैविक तटबन्ध निर्माण गरिएको छ । कञ्चनपुरको पुनर्वास नगरपालिका र लालझाडी गाउँपालिकास्थित दोदा नदीको कटान रोक्न जैविक तटबन्ध निर्माण गरिएको पुनर्वास नगरपालिका– ७ का अध्यक्ष मुलचन्द रानाले नदी जानकारी दिए ।
हरेक प्रत्येक वर्ष नदीको बाढीबाट प्रभावित हुँदै आएको क्षेत्रमा तटबन्ध निर्माण गरिएको उनले बताए । “हरेक वर्ष यहाँ करिब तीन सय परिवार बाढीबाट प्रभावित हुँदै आएका छन् । खेतीयोग्य जग्गा कटान हुँदै आएको छ । त्यसलाई रोक्न जैविक तटबन्ध निर्माण गरिएको हो”, वडाध्यक्ष रानाले भने । लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मला रानाले यहाँको पुनर्वास र लालझाडी गाउँपालिका हरेक वर्ष बाढीबाट प्रभावित हुँदै आएको बताए । उनले बाढी प्रभावित वडा नं १ र ४ मा जैविक तटबन्ध निमार्णको काम भइरहेको जानकारी दिए ।
नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ, स्थानीय पालिका र जनश्रमदानमा नदी नियन्त्रणका लागि जैविक तटबन्ध निर्माण गरिएको हो । सङ्घद्वारा सञ्चालित ‘नेपालमा पूर्वानुमानमा आधारित पूर्वकार्यको सुदृढीकरण (सान)’ परियोजनाअन्तर्गत कञ्चनपुर र कैलाली जिल्लाका नदी तटीय क्षेत्रमा कटान तथा डुबान नियन्त्रणका लागि जैविक तटबन्ध निर्माण गरिएको परियोजनाका संयोजक देवराज बडूले जानकारी दिए ।
उनका अनुसार कञ्चनपुरको पुनर्वास नगरपालिकामा ७०० मिटर, लालझाडी गाउँपालिकामा ६०० र कैलालीको भजनी नगरपालिकामा ७०० मिटर जैविक तटबन्ध निर्माण गरिएको छे । पुनर्वासमा रु २९ लाख १३ हजार, लालझाडीमा रु ४४ लाख ७९ हजारको लागतमा तटबन्ध निर्माण गरिएको बडूले बताए ।
उनले भने, “परियोजना, पालिका र जनश्रमदानमा तटबन्ध निमार्ण गर्ने थालिएको हो । स्थानीय स्रोतसाधनको प्रयोग र समुदायको सक्रिय श्रमदानका कारण यो तटबन्ध परम्परागत संरचनाभन्दा दिगो र वातावरणमैत्री छ ।” परियोजना संयोजक बडूले जैविक तटबन्धले नदीको बहावलाई प्राकृतिक रूपमा व्यवस्थापन गर्ने भएकाले यसले दीर्घकालीन रूपमा भूक्षय रोक्न र तटीय क्षेत्रको जैविक विविधता संरक्षणमासमेत महत्वपूर्ण टेवा पुगाउने विश्वास व्यक्त गरे ।





