सम्पादकीय : एसईईमा नयाँ प्राव्धानका चुनौती 

 

यस वर्षको माध्यमिक क्षिक्षा परीक्षा (एसईई) आज (बिहिबार) बाट भएको छ। चैत पहिलो साता तय भएको कक्षा १० को वार्षिक परीक्षा २१ फागुनमा तय भएको प्रतिनिधिसभा निर्वाचनका कारण सरेको थियो । २३–२३ भदौको जेन–जी आन्दोलपछि उत्पन्न राजनीतिक गतिरोधलाई निकास दिन पूर्वप्रधानन्यायधिश सुशीला कार्की नेतृत्वको सरकारले २१ फागुनमा निर्वाचनको मिति तय गरेको थियो । उच्च शिक्षाको ढोका खोल्ने तहको रुपमा लिइने एसईई परीक्षामा यस वर्ष कर्णालीका १० जिल्लाबाट ३८ हजार तीन सय ७९ विद्यार्थी सहभागी हुँदैछन् । गत वर्ष कर्णालीबाट ३७ हजार नौ सय ११ विद्यार्थीले एसईई दिएका थिए भने अघिल्लो वर्ष २०८१ मा ३८ हजार नौ सय ७० र २०८० मा ३५ हजार आठ सय आठ विद्यार्थी एसईई परीक्षमा सहभागी भएको तथ्यांक छ । यो तथ्यांकले कर्णालीमा एसईई दिने विद्यार्थीको संख्या केही बढेको देखिन्छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनमा वर्षौंदेखि देखिँदै आएको ढिलाइ अन्त्य गर्ने उद्देश्यसहित सरकारले यस वर्षदेखि उत्तरपुस्तिका परीक्षा केन्द्रमै परीक्षण गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्ड को यो नयाँ व्यवस्था नतिजा छिटो सार्वजनिक गर्ने दिशामा महत्वपूर्ण कदम हो । तीन दिनभित्र कपी जाँच र एक महिनाभित्र नतिजा प्रकाशन गर्ने लक्ष्यले विद्यार्थी, अभिभावक र शैक्षिक क्षेत्रका सरोकारवालामा आशा जगाएको छ । यसअघि उत्तरपुस्तिका संकलन गरेर जिल्ला वा प्रदेशस्तरमा पठाइने र गोप्य रूपमा परीक्षण गरिने अभ्यास थियो । त्यसले पारदर्शिता कायम राखे पनि समय अत्यधिक लाग्ने समस्या देखिएको थियो । अहिलेको व्यवस्था भने समय बचत गर्ने दृष्टिले प्रभावकारी देखिन्छ । परीक्षा केन्द्रमै जाँच गर्दा ढुवानी, व्यवस्थापन र समन्वयमा लाग्ने समय घट्नेछ, जसले नतिजा छिटो ल्याउन सहयोग पुर्‍याउनेछ ।

तर हरेक सुधारसँग चुनौती पनि जोडिएका हुन्छन् । केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्दा निष्पक्षता र गुणस्तर कायम राख्न सकिन्छ कि सकिँदैन भन्ने प्रमुख प्रश्न उठ्छ । एउटै विद्यालय वा केन्द्रमा जाँच हुँदा ‘चिनेका विद्यार्थीलाई फाइदा’ हुने आशंका पूर्ण रूपमा नकार्न सकिँदैन । त्यसैले कडा अनुगमन, स्पष्ट मापदण्ड र उत्तरदायी संयन्त्र अनिवार्य हुन्छ ।

त्यस्तै, देशभरका सबै परीक्षा केन्द्रमा समान स्तरको जनशक्ति र प्राविधिक तयारी छ कि छैन भन्ने पनि विचारणीय विषय हो । कतिपय दुर्गम क्षेत्रमा दक्ष परीक्षकको अभाव वा व्यवस्थापन कमजोर हुन सक्छ, जसले नतिजाको विश्वसनीयतामै प्रश्न उठाउन सक्छ । यस अवस्थामा आवश्यकता अनुसार शिक्षा विकास तथा समन्वय इकाईमार्फत परीक्षण गर्ने विकल्प राखिनु सकारात्मक लचकता हो । तर निर्णय गर्ने अधिकार दिँदा त्यसको सही प्रयोग सुनिश्चित गर्नु अझै महत्वपूर्ण हुन्छ । छिटो नतिजा प्रकाशन मात्र लक्ष्य होइन—विश्वसनीय, निष्पक्ष र गुणस्तरीय मूल्याङ्कन नै शिक्षा प्रणालीको मेरुदण्ड हो । यदि सरकारले प्रभावकारी अनुगमन, पारदर्शिता र मापदण्ड कार्यान्वयनमा कडाइ गर्न सकेमा यो नयाँ व्यवस्था शिक्षा क्षेत्रमा सुधारको उदाहरण बन्न सक्छ । नत्र हतारमा गरिएको निर्णयले विश्वासको संकट निम्त्याउने जोखिम पनि उत्तिकै छ ।

सम्पादकीय : एसईईमा नयाँ प्राव्धानका चुनौती 

जुम्लाका चार पालिकामा फेरिए प्रमुख प्रशासकीय अधिकृत

सम्पादकीय : एसईईमा नयाँ प्राव्धानका चुनौती 

न्याय निरुपण गर्ने निकायमाथि नागरिकको अविश्वास २७

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds