साँझ परयो कि मोबाइलको नेटवर्क डाउन, नागरिकलाई सास्ती

सुर्खेत, ११ असार ।
कर्णाली प्रदेशको राजधानी मुकाम सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाबाट २६ किलोमिटरको दुरीमा अवस्थित छ, बराहताल गाउँपालिकाको प्रशासनिक केन्द्र बड्डिचौर । विकासको अग्रलय समातेको वीरेन्द्रनगरसँग छोटो दुरीमा जोडिएका पालिका मध्ये सम्भवत बराहताल नै पहिलो हो । भौगोलिकरुपमा प्रदेशकै सुगम वीरेन्द्रनगरको पश्चिमतर्फको भूभागसँग उत्तर दक्षिण सटिएको छ बराहताल ।

वीरेन्द्रनगरले पूर्वाधार विकासमा छलाङ्ग मार्दा बराहताल भने बत्तिमुनिको अध्यारोमा छ । यहाँका ग्रामिण बस्तीमा न गतिलो सडक सञ्जाल विस्तार भएका छन्, न त विजुली नै । शिक्षा, स्वास्थ्य, खानेपानीको अवस्था पनि दयनिय छ यहाँ । आधारभूत आवश्यकता मध्येको दुरसञ्चार सेवासमेत भरपर्दो छैन । साँझको ४ बज्ने वित्तिकै नेटर्वक डाउन हुने समस्याले भइपरी आउँदा यहाँका स्थानीयले दुरसञ्चार सेवा लिनै पाउँदैनन् ।

बराहताल गाउँपालिका–४, तरंगाका स्थानीय लक्षमण थापाको मोवाइलबाट घाम डुब्ने वित्तिकै नेटवर्क गायब हुन्छ । दिउँसोको समयमा जेनतेन काम गर्ने नेपाल टेलिकमको नेटकर्व घाम डुबेपछि डाउन हुने समस्याले थापा मात्र होइनन् बराहताल गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ को ठुलो जनसंख्या दुरसञ्चार सेवाबाट अलगत हुन्छ ।

यस क्षेत्रका नागरिकलाई लक्षित गरी सरकारी स्वामित्वको दुरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकम सुर्खेतले बराहतला गाउँपालिका–८, को बरडाँडामा फोर जि टावर जडान गरेको छ । तर टावरका उपकरणलाई आवश्यक पर्ने उर्जा संचित हुने प्रणाली गतिलो नहुँदा आफूहरु रातको समयमा मोवाइल सेवाबाट बञ्चित हुनु परेको थापाको गुनासो छ ।

सोलार प्रविधिमा आधारित टावर निर्माण भएको केही समयमै नेटवर्क अनियमित हुन सुरु भएको स्थानीय बताउँछन् । ‘सुरुमा नियमित फोन र इन्टरनेट सेवा चलेको थियो, केही समय बितेपछि बिहान १० बजेमात्र टावर आउँछ, बेलुका चार बजेपछि टावर बन्द भईसक्छ,’ थापाले भने ।

दुरसञ्चारका सेवा अनियमित हुँदा पटक–पटक टेलिकम कार्यालय सुर्खेतको ध्यानाकर्षण गराउँदासमेत समस्या हल नभएको अर्का स्थानीय दिलिप कठायत बताउँछन् । ‘टेलिकमले कुनै पनि व्यवस्थापन गरी हामीलाई नियमित सेवा दिनुप¥यो, हामीले टावर बन्द हुँदा अत्यावश्यक सञ्चार सेवा पनि पाउँदैनौं,’ उनले भने ।

सोलारबाट सञ्चालन गरिएको टावरको विद्युत प्रणाली सुधार गरेर नियमित सेवा सञ्चालन गर्नुपर्ने कठायतको माग छ । विपदको जोखिम बढी जोखिम हुने बर्खाको समयमै टावर बेलुकादेखि बन्द हुँदा अत्यावश्यक सञ्चार गर्नबाट स्थानीय बञ्चित भएको उनले सुनाए ।

‘बेलुका, राति वा बिहान १० बजे अघिसम्म केही विपद भईहाल्यो भने पनि हामीले सम्बन्धित निकायलाई वा आफन्तलाई खबर गर्न सक्ने अवस्था छैन, अहिलेको समयमा फोनको भरमा धेरैजसो कार्य सम्पादन हुने अवस्थामा टावर नियमित नचल्नुले समस्या पारेको छ,’ कठायतले भने, ‘सम्बन्धित निकायले मर्मतसम्भार गरेर नियमित फोन हुने वातावरण मिलाउनुपर्छ ।’ विशेषगरी बर्खा र हिउँदको समयमा दिउँसो मात्र टावर चल्ने गरेको स्थानीयको गुनासो छ ।

टेलिकमका सेवा अनियमित बनेपछि स्थानीयले ५ साउनमा नेपाल टेलिकम प्रदेश निर्देशनालयका उपनिर्देशक मधुसुदन दाहालको ध्यानाकर्षणसमेत गराएका छन् । सो क्षेत्रलाई लक्षित गरी निर्माण गरिएको टेलिकमको टावर नियमित सञ्चालन नभएको भन्दै स्थानीयले व्यवस्थापन गरी नियमित गर्न टेलिकमलाई ध्यानाकर्षण गराएका हुन् ।

स्थानीयले हस्ताक्षरसहित टेलिकमको कार्यालयमा प्रतिनिधि पठाएर ध्यानाकर्षण गराएका थिए । स्थानीयको ध्यानाकर्षण पत्र बुझ्दै टेलिकमको प्रादेशिक निर्देशनालयका उपनिर्देशक दाहालले ढिलोमा दुई हप्ताभित्र सोलार ब्याट्री परिवर्तन गरेर टावर नियमित चलाउन प्रयास गरिने दावी गरे ।

टावर नियमित गर्न विद्युत अनिवार्य भएपनि तत्काल कार्यालयका तर्फबाट सोलार ब्याट्री थप गरेर केही समय थप टावर सञ्चालनको वातावरण बनाउने प्रतिबद्धता उनले जनाए । ‘सोलारबाट सञ्चालनमा ल्याईएका टावरहरु सुरुमा नियमित भएपछि पछि ब्याट्रिको जीवनचक्र सकिँदै जाँदा नियमित चल्दैनन्, यसका लागि बिजुली जडानको विकल्प छैन,’ दाहालले भने, ‘हामीले ब्याट्री वा सोलार परिवर्तन, थप जे गरेपनि बढीमा चार घण्टा थप सञ्चालन हुन सक्ने मात्र हो, त्यो काम कार्यालयबाट हामी तत्काल गर्छौं ।’

सुरुमा टावर सञ्चालनमा आउँदा ट्राफिक (उपभोक्ता) कम भएकाले पनि नियमित सञ्चालन हुन सकेको उनले बताए । टावर सञ्चालनमा आईसकेपछि ट्राफिक पनि बढ्ने हुनाले प्रयोगअनुसार टावरमा भएको विद्युतीय शक्ति चाँडो खर्च हुँदा बेलुका बन्द भईदिने उनले बताए ।

यो समस्या बराहतालको मात्रै होइन । भौगोलिक रुपमा सुगम मानिएको सुर्खेतमा मात्रै होइन, यो समस्या कर्णालीका १० वटै जिल्लामा छ । जसका कारण बादल लाग्ने वित्तिकै दुरसञ्चार सेवा गायब हुने समस्या झेल्न नागरिक बाध्य छन् । यसको मुख्य कारण विजुली । नेपाल टेलिकम प्रादेशिक कार्यालय सुर्खेतद्वारा निर्माण गरिएका कर्णालीका अधिकांश क्षेत्रका टावरहरु सोलार प्रविधिमा आधारित छन् ।

प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख कमल लामिछानेका अनुसार प्रदेशभर एक सय ४० वटा बिटिए टावरहरु सोलार प्रणालीमा आधारित छन् । लामो समय बादल लाग्दा यी टावरहरुले पूर्णरुपमा काम गर्न सक्दैनन् । यो समस्या हिमाली क्षेत्र (जहाँ घाम कम लाग्छ)मा झन् ठुलो छ । ‘लामो सयम घाम नलाग्दा नेटवर्क अपरेटिङ्ग उपकरणलाई चाहिने विद्युतिय शक्ति सप्लाई नहुँदा दुरसञ्चारका सेवाहरु पूर्णरुपमा रोकिन्छन्,’ उनी भन्छन्, ‘घाम नलागेको अवस्थामा दुईदेखि तीन दिनसम्म पुग्ने विद्युत सञ्चित हुने ब्याट्री राखिएको हुन्छ । तर लामो समय घाम नलाग्दा सञ्चित पावर सकिदा पुनः ति ब्याट्रीहरु रिचार्ज नहुँदा थप सेवा अवरुद्ध हुने अवस्था छ ।’

घाम नलागेकै कारण अवरुद्ध हुने दुरसञ्चार सेवा नियमित गराउँन विद्युत प्रशारण लाइन विस्तार नभएसम्म यसको विकल्प नरहेको उनी बताउँछन् । जनशक्ति, साधन र स्रोतको अभावका बिच पनि कर्णालीमा गुणस्तरिय दुरसञ्चार सेवा विस्तारमा लागि परेको दावी गर्दै उनले सेवा नियमित बनाउँन टावर निर्माण गरिएका क्षेत्रसम्म विद्युतको लाइन पु¥याउन तीनै तहका सरकारले अपनत्व लिनुपर्ने बताए ।

साँझ परयो कि मोबाइलको नेटवर्क डाउन, नागरिकलाई सास्ती

घुँयत्राे : सुर्खेताँ ठग्न पाईन्छ भनेरै त

Leave a comment

Your email address will not be published. Required fields are marked *