अत्यधिक चिसो र शीतलहरको प्रभाव बाँकेका स्थानीय तहद्वारा विद्यालय बन्द
बाँके, ९ पुस ।
बाँकेमा अत्यधिक चिसो र शीतलहर बढेसँगै स्थानीय तहहरूले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । चिसोका कारण बालबालिकालाई विद्यालय आउन–जान असहज हुनुका साथै स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने अवस्थालाई ध्यानमा राख्दै खजुरा गाउँपालिकाले पुस ९ र ११ गते विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
खजुरा गाउँपालिकाले शिक्षा समितिको निर्णयअनुसार पुस ९ र ११ गते सम्पूर्ण विद्यालयमा पठनपाठन स्थगित गरिने जनाएको छ । पुस १० गते भने क्रिसमस पर्वका अवसरमा पहिल्यै विदा रहेको छ । विद्यालय बन्द रहे पनि प्रशासनिक कार्य भने नियमित रूपमा सञ्चालन गर्न पालिकाले अनुरोध गरेको छ ।
खजुरा गाउँपालिका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले अत्यधिक चिसो र शीतलहरका कारण बालबालिकाको स्वास्थ्य जोखिममा पर्न सक्ने भएकाले विद्यालय बन्द गर्ने निर्णय गरिएको जानकारी दिए । उनका अनुसार आम अभिभावकहरूको आग्रह र चिसोको बढ्दो प्रभावलाई मध्यनजर गर्दै यस्तो निर्णय लिइएको हो ।
“अत्यधिक जाडो र शीतलहरका कारण विद्यालय सञ्चालनमा समेत कठिनाइ भइरहेको छ,” शिक्षा शाखा प्रमुख मल्लले भने, “बालबालिकाको स्वास्थ्य सुरक्षा हाम्रो प्राथमिकता भएकाले अभिभावकहरूको मागलाई सम्मान गर्दै विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।”
बाँके जिल्लामा मङ्सिर अन्तिम सातादेखि नै बिहानै बाक्लो हुस्सु र शीतलहर चल्न थालेपछि जनजीवन प्रभावित हुँदै आएको छ । चिसोका कारण दैनिक गतिविधि प्रभावित हुनुका साथै हवाइ उडानसमेत प्रभावित र अनियमित हुँदै आएका छन् । अत्यधिक चिसोबाट जोगिन सर्वसाधारण आगो तापेर बस्न बाध्य छन् ।
त्यसैबीच कोहलपुर र नेपालगञ्ज उप–महानगरपालिकासहित जिल्लाका अन्य स्थानीय तहमा पनि चिसोको प्रभाव बढ्दै गएको छ। बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राख्दै अन्य स्थानीय तहमा समेत विद्यालय बन्द गर्नुपर्ने माग अभिभावकहरूबाट उठ्न थालेको छ । मौसम अझै केही दिन चिसो रहने पूर्वानुमान रहेकाले स्थानीय तहहरूले अवस्था हेरेर थप निर्णय लिन सक्ने संकेत दिएका छन् ।





