हियाँखोला अझै नो नेटवर्क जोनमा : जुम्लाका अधिकांश नागरिक डाँडा उक्लेर सिग्नल खोज्दै

काली बहादुर परियार

जुम्ला,२८ मंसिर।

देशभर फाेरजी र फाइप जी विस्तार, चौतारोमा निःशुल्क वाइफाइ र मसानघाट सम्म इन्टरनेटको बहस चलिरहेका बेला जुम्ला जिल्लाको तातोपानी गाउँपालिका–६ हियाँखोला भने आज पनि मोबाइल टावरविहीनमा छ ।

डिजिटल नेपालका नारा गुञ्जिरहेकाे समयमा हियाँखोलाका बासिन्दा अझै नेटवर्क खोज्दै अग्ला डाँडाकाँडा चढ्न बाध्य छन् । मोबाइल टावर नहुँदा हियाँखोलाका नागरिक शिक्षा, स्वास्थ्य, सूचना र आपतकालीन सेवाबाट गम्भीर रूपमा वञ्चित हुँदै आएकाे स्थानीय कालाे कामीले गुनासाे गरे ।

उनले भने, विद्यार्थीहरू अनलाइन कक्षा लिन, परीक्षा फाराम भर्न वा शैक्षिक सूचना पाउन असमर्थ छन् । बिरामी पर्दा स्वास्थ्यकर्मी वा एम्बुलेन्स सँग सम्पर्क गर्न समेत सकिँदैन ।

हामी जस्ता किसानले बजार मूल्य, मौसम सूचना र कृषि प्रविधि बारे जानकारी लिन नपाएकाे उनकाे भनाइ छ । यो समस्या नयाँ होइन वर्षौँ देखि दोहोरिँदै आएको हाम्रो पीडा रहेकाे कामिकाे भनाइ छ ।

यस्तै अर्का स्थानीय तुल तिरूवाका अनुसार पटक पटक जनप्रतिनिधि, सम्बन्धित निकाय र सरकार सम्म माग पुर्‍याइए पनि नतिजा शून्य रहेकाे बताए । उनले भने, भोट माग्दा तपाईंको गाउँमा टावर राख्छु भन्ने, जितेपछि बिर्सिने प्रवृत्तिले हामीलाई दोस्रो दर्जाको नागरिक बनाइयो भन्दै आक्रोश व्यक्त गरे ।

उनका अनुसार चुनावी बाचा कागजमै सीमित हुँदा हियाँखोला आज सम्म पनि नेटवर्क विहीन रहनु परेको बताए ।
टावर नहुँदा वैदेशिक रोजगारीमा रहेका आफन्त सँग सम्पर्क गर्न समेत गाउँका डाँडामा घण्टौ कुर्नुपर्ने अवस्था रहेकाे तिरूवाकाे देखेसाे छ ।

आकस्मिक खबर दिनु, दुःख सुख साटासाट गर्नु वा सामान्य कुराकानी गर्न समेत जोखिम र धैर्य चाहिन्छ । सूचना र सञ्चारको पहुँच नागरिकको मौलिक अधिकार भए पनि राज्यले हियाँखोलाका नागरिकलाई यो अधिकार बाट बञ्चित गरिरहेको तिरूवाकाे आरोप छ।

डिजिटल विभाजनको यो चित्रले हियाँखोलालाई पछाडि धकेलेको मात्र छैन, गाउँको सामाजिक, आर्थिक विकास समेत अवरुद्ध बनाएको स्थानीयहरूकाे भनाइ छल । इन्टरनेट पहुँच नहुँदा उद्यम, पर्यटन प्रवर्द्धन, ई–सेवा र सरकारी अनलाइन प्रणाली बाट स्थानीय टाढा छन् ।

विकासका अवसरहरू शहर र सहर नजिक सीमित हुँदा हियाँखोला जस्ता बस्ती झन् पछाडि परिरहेका छन् । हियाँखाेला गाउँका अगुवा युवा तथा कालिका आधारभुत बिद्यालयका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्ली कामीले हामीले बारम्बार तपने बदे माग अघि सारेका छाै , याे समयमा हाम्रा माग पूरा नभए आन्दोलन गर्ने स्पष्ट चेतावनी दिएका छन् ।

अगुवा युवा कामीका अनुसार, छिटो भन्दा छिटो मोबाइल टावरको व्यवस्था गरिनुपर्छ । यदि हाम्रा स्थानीयले भने जसाे नभए ध्यानाकर्षण र कडा दबाबका कार्यक्रम अघि बढाइने युवा कामीकाे भनाइ छ ।

सरकार, दूरसञ्चार सेवा प्रदायक र सम्बन्धित निकायले हियाँखोलाको पीडा नसुने पछि आन्दोलनका सम्पूर्ण जिम्मेवारी सरकारले लिनु पर्ने युवाहरूकाे भनाइ छ । स्थानीयका अनुसार शान्तिपूर्ण दबाब कार्यक्रम देखि चरणबद्ध आन्दोलन सम्मको तयारी भइरहेको बताए ।

हामी विकास विरोधी होइनौँ, तर आधारभूत अधिकार बाट वञ्चित हुन पनि तयार छैनौँ अर्का एक स्थानीय युवा राज बहादुर राेकायाले बताए । उनले भने, हामीहरूका लागि मोबाइल टावर विलासिता होइन, जीवनरेखा बनेको छ।

हियाँखोलाको यो प्रश्न अब सरकारका लागि गम्भीर चुनौती बनेको छ । डिजिटल समावेशीकरणको नारा व्यवहारमा उतार्ने हो भने दुर्गम बस्तीलाई प्राथमिकतामा राख्नुपर्ने राेकायाकाे जोड छ । टावर स्थापनाका लागि प्राविधिक अध्ययन, बजेट व्यवस्था र सेवा प्रदायक सँग समन्वय तत्काल थाल्नुपर्ने हाम्रो माग रहेकाे उनकाे भनाइ छ ।

देशले डिजिटल युगमा फड्को मार्ने दाबी गरिरहेका बेला हियाँखोला जस्ता बस्ती नो नेटवर्क जोन मै सीमित रहनु राज्यका नीति माथि प्रश्न हो । अब आश्वासन होइन, समाधान चाहिएको छ । हियाँखोलाको आवाज सुन्ने कि फेरि डाँडामै हराउने उत्तर अब सरकार र सम्बन्धित निकायले दिनुपर्ने समय आएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *