मडारिएको बादलदेखि शाश्वत सत्यसम्म
नारायणप्रसाद तिमिल्सेना
वि.सं. २०५९ सालमा १९ वर्षकै विद्यार्थी जीवनमा ‘मडारिएको बादल’ कविता सङ्ग्रहबाट साहित्यिक यात्राको आरम्भ गरेका कवि घनश्याम भण्डारी करिब २३ वर्षपछि, वि.सं. २०८२ सालमा, अर्को कविताकृति ‘शाश्वत सत्य’ लिएर पुनः पाठकसामु उपस्थित भएका छन्। विद्यार्थी कालदेखि नै साहित्यप्रति आकर्षित भण्डारीले लामो समय साहित्यलाई पेशागत लक्ष्यका रूपमा अघि बढाउन नसके पनि साहित्यिक गतिविधिप्रति उनको लगाव भने निरन्तर, समर्पित र महत्त्वपूर्ण रहँदै आएको छ।
कर्णाली प्रदेशको साहित्यिक क्षेत्रमा मात्र होइन, नेपाली भाषा, लोकसाहित्य, संस्कृति, इतिहास, पुरातत्त्व, परम्परागत कला र गलाको संरक्षण, संवर्द्धन तथा शोध–अनुसन्धानमा उनले पुर्याएको योगदान प्रशंसनीय र गर्व गर्नलायक छ। दुल्लु नगरपालिकाका नगरप्रमुख रहँदा उनले कर्णाली क्षेत्रको भाषा, साहित्य, संस्कृति, इतिहास तथा पुरातात्त्विक सम्पदाको खोज, संरक्षण, संवर्द्धन र प्रचार–प्रसारका लागि आधा दर्जनभन्दा बढी राष्ट्रियस्तरका कार्यक्रम आयोजना गरी उल्लेखनीय योगदान दिएका छन्। भौतिक विकासभन्दा सांस्कृतिक, पुरातात्त्विक र ऐतिहासिक सम्पदाको संरक्षण राष्ट्रका लागि बढी महत्त्वपूर्ण हुन्छ भन्ने दृढ धारणा बोकेका भण्डारी कर्णाली क्षेत्रका मूर्त र अमूर्त सम्पदा जोगाउन अन्तःआत्मादेखि नै समर्पित व्यक्तित्वका रूपमा देखिन्छन्।
वि.सं. २०५२ मा आरम्भ भएको कथित् जनआन्दोलन र त्यसपछि दस वर्षसम्म चलेको गृहयुद्धले सिर्जना गरेको अन्याय, अत्याचार, शोषण, दमन र प्रतिशोधका कारण नेपाली समाज राजनीतिक अन्धकारको गर्तमा फसेको थियो। त्यही बाध्यता र विवशताबाट उत्पन्न आत्मबोधको अभिव्यक्तिका रूपमा आएको कृति हो ‘मडारिएको बादल’। त्यसैगरी, परिवर्तनका नाममा जन्मिएको गणतान्त्रिक शासन व्यवस्थामा मौलाएको भ्रष्टाचार, उत्पीडन, निराशा, आत्मग्लानि र वितृष्णासँगै केही आशा र सम्भावनालाई समेटेर आएको कविताकृति हो ‘शाश्वत सत्य’ ।
यस कृतिमा समेटिएका कविताहरू प्राकृतिक सौन्दर्य, सामाजिक वैभव, सांस्कृतिक मूल्य–मान्यता, लोकजीवन, ऐतिहासिक पृष्ठभूमि, पुरातात्त्विक सम्पदा तथा राजनीतिले जन्माएको विकृत संस्कारप्रतिको वितृष्णामा केन्द्रित छन्। केही कविताहरू जीवन भोगाइबाट जन्मिएका अनुत्तरित प्रश्नका रूपमा उपस्थित छन्। बाल्यकालमै पितृस्नेहबाट वञ्चित र आमाको ममतामा हुर्किएका भण्डारी साहित्यभन्दा बढी राजनीतिमा सफल व्यक्तित्वका रूपमा देखिन्छन्। त्यसैले उनका कवितामा कविभन्दा पनि राजनीतिक व्यक्तित्वको छायाँ बढी झल्किएको पाइन्छ। यो कविता सङ्ग्रह काव्यिक सौन्दर्यभन्दा बढी राजनीतिक आरोह–अवरोहबाट उत्पन्न भावनाको आत्मदर्पण हो।
प्रदेश सरकारको मन्त्रीजस्तो गरिमामय पदमा रहेर पनि कर्णालीवासीको दुःख, पीडा र अभावका लागि आफू औषधि बन्न नसकेको आत्मग्लानि कवितामा व्यक्त भएको छ। राज्यले कर्णालीप्रति गर्ने परम्परागत सौतेनी व्यवहारको साक्षी मात्र बन्नुपरेको पीडा कविताका पंक्तिहरूमा पोखिएको छ। यस अर्थमा ‘शाश्वत सत्य’ निःस्वार्थ राजनीतिप्रतिको उद्बोधन पनि हो।
जन्म र मृत्युलाई शाश्वत सत्यका रूपमा स्वीकार्ने कविले पूर्वीय दर्शनको ‘सत्यम् शिवम् सुन्दरम्’ भन्दा पर, अभाव र अभियोगले पिल्सिएको जनजीवनको यथार्थलाई शाश्वत सत्यका रूपमा चित्रित गरेका छन्। वर्तमान नेपाली समाजमा लौकिक वा अलौकिक कुनै पनि विरासत नदेखिएको असन्तुष्टि कवितामार्फत प्रकट भएको छ।
कर्णाली प्रदेशको भूगोल, संस्कार, संस्कृति, सभ्यता, विवशता र पर्यावरणीय सुन्दरता भित्र लुकेको पीडाको कथासङ्गालो हो ‘शाश्वत सत्य’। प्रचुर सम्भावना हुँदाहुँदै पनि राज्यको हेपाहा प्रवृत्तिका कारण आन्तरिक उपनिवेशको अवस्थाबाट माथि उठ्न नसकेको कर्णालीको यथार्थ यस कृतिमा सशक्त रूपमा झल्किएको छ।
लामा र छोटा गरी ३४ वटा कविता समेटिएको यस सङ्ग्रहमा भौगोलिक, सामाजिक, सांस्कृतिक, ऐतिहासिक, राजनीतिक र भाषिक विषयवस्तु समग्र रूपमा प्रस्तुत गरिएको छ। ‘बदलिने छ भैरवी’ शीर्षकको पहिलो कवितामार्फत पञ्चकोशी क्षेत्रको ऐतिहासिकता र सांस्कृतिक गौरव उजागर गरिएको छ। ‘असारको त्रिशुली’, ‘बादलु माथि’, ‘लाटो बोल्न थाल्यो’, ‘माफ गर आमा’, ‘तिमी कर्ण हौ’ जस्ता कविताहरूले सामाजिक यथार्थ, पीडा र राजनीतिक विसंगतिमाथि तीखो प्रश्न उठाएका छन्।
‘शाश्वत सत्य’ शीर्षक कविता स्वयं कृतिको प्रतीक बनेर आएको छ, जहाँ वैदेशिक रोजगारीका कारण उजाडिएको गाउँ, लास बनेर फर्किएका युवा र आशामा दिन काटिरहेका वृद्ध आमाबाबुको यथार्थ चित्रण गरिएको छ। प्रविधिले विश्वलाई नियन्त्रणमा लिने होड चलिरहँदा कर्णालीका नागरिक सामान्य औषधिसमेत नपाएर तड्पिनु पर्ने बाध्यता नै यस कृतिको मूल सत्य हो।
समग्रमा, ‘शाश्वत सत्य’ कर्णालीको पीडा, सम्भावना, वितृष्णा र अलिकति आशालाई कवितामार्फत अभिव्यक्त गर्ने सशक्त कृति हो। प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, ऐतिहासिक धरोहर र राज्य व्यवस्थाप्रतिको आलोचनात्मक दृष्टि यस कृतिको विशेषता हो।
कृतिबाट उद्धृत पंक्तिहरू—
“मसँग बजारमा बिक्री नभएको मोफसलको एउटा जिन्दगी छ जुन आफैँमा प्यारो लाग्छ अनि अर्को तिमी छौ जुन जिन्दगीभन्दा पनि बढी प्यारो लाग्छ कसरी बुझाउँ मेरो वास्तविकता प्रियतम्, आफ्नै चप्पलमा अल्झिएर लडेको मान्छे हुँ।”अस्तु।




