उम्मेदवार सहमति नजुट्दा जुम्ला कांग्रेसमा विवाद
गाेल्डेन बुढा
जुम्ला,२८ मंसिर ।
आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मंसिर २४ गतेदेखि निरन्तर बैठक बसेको नेपाली कांग्रेस जुम्ला अझै पनि उम्मेदवार छनोटको निर्णायक मोडमा पुग्न सकेको छैन । चार दिनसम्म चलेका औपचारिक,अनौपचारिक छलफल, आन्तरिक संवाद र शक्ति सन्तुलनका गणनापछि पनि नाम टुंगो नलाग्दा जिल्लाभित्रको आन्तरिक राजनीति सतहमा आएको छ ।नेपाली कांग्रेस जुम्लाका प्रवक्ता मेघराज गिरीका अनुसार छलफल सामान्य चरण पार गरिसकेको भए पनि औपचारिक निर्णयको तहमा पुग्न सकेको छैन ।
‘बहस धेरै भइसकेको छ, तर सहमतिका बिन्दुमा पुग्न कठिन भइरहेको छ,’ उनले भने, ‘आइतबारसम्म सहमतिका आधारमा नाम सिफारिस गर्ने प्रयास भइरहेको छ ।’प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सुरुआतमा सात जनाले दाबी गरेकामा अहिले तीन जनामा नाम सीमित भएको छ । पूर्व सांसद कान्तिका सेजुवाल, कांग्रेस जुम्लाका पार्टीसभापति कर्णबहादुर शाही र पूर्व उपसभापति खड्कबहादुर सेजुवालबीच अन्तिम प्रतिस्पर्धा देखिएको छ । यद्यपि, एक जनामा सहमति जुटाउन नसक्दा बैठक लम्बिँदै गएको छ ।पार्टीका अधिकांश नेता,कार्यकर्ता सभापति शाहीको नाम एकल सिफारिस गर्नुपर्ने पक्षमा देखिए पनि समानुपातिक र राष्ट्रियसभाको विवादले प्रत्यक्षतर्फ पनि गाँठो कसिएको छ । ‘एक ठाउँमा सहमति नहुँदा त्यसको असर सबै तहमा परेको छ,’ एक नेताले भने ।समानुपातिकतर्फ सबैभन्दा ठूलो पेच देखिएको छ । १५ जनासम्म आकांक्षी भएपछि उम्मेदवार छनोट झन् जटिल बनेको छ । संस्थापन इतर समूहले धनबहादुर बस्नेतको नाम मात्र सिफारिस गर्नुपर्ने अडान कायमै राखेपछि छलफल निर्णायक मोडमा पुग्न सकेको छैन । आकांक्षी धेरै र सिट सीमित हुँदा असन्तुष्टि व्यवस्थापन कांग्रेसका लागि चुनौती बनेको छ ।राष्ट्रियसभातर्फ पूर्व वनराज्यमन्त्री भक्तबहादुर रोकाया र कांग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाहीको नाममा छलफल भए पनि अन्ततः एक जनाको मात्र नाम सिफारिस गर्नुपर्ने विषयमा मतभेद देखिएको छ । संस्थापन इतर पक्षले रोकायाको एकल नाममै जोड दिँदै आएको छ, जसले सहमति प्रक्रिया थप पेचिलो बनाएको छ ।मंसिर २४ गतेको बैठकमा आकांक्षीहरूको सूची तयार गरिएको थियो । मंसिर २५ गते बसेको बैठकमा उपस्थित अधिकांश नेता,कार्यकर्ताले प्रतिनिधिसभामा सभापति कर्णबहादुर शाही, राष्ट्रियसभामा भक्तबहादुर रोकाया र समानुपातिकमा धनबहादुर बस्नेतको नाम एकल सिफारिस गर्नुपर्ने पक्षमा हात उठाएका थिए । तर, नेताहरूबीच शक्ति सन्तुलन र भागबण्डाको कुरामा सहमति नजुट्दा त्यो निर्णय औपचारिक बन्न सकेन ।यसबीच, पूर्व सांसद कान्तिका सेजुवाललाई जुम्लाबाट कांग्रेसको बलियो विकल्पका रूपमा हेरिएको छ ।
उनी चन्दननाथ नगरपालिकाकी नेपालकै पहिलो निर्वाचित महिला मेयर हुन् । समानुपातिक सांसद भइसकेकी सेजुवाल यसपटक प्रत्यक्ष निर्वाचनमार्फत जनमत परीक्षण गर्ने चाहनासहित संगठन सुदृढीकरण र नेता–कार्यकर्ता समेट्ने अभियानमा सक्रिय देखिन्छिन् ।लामो छलफलका बाबजुद उम्मेदवार टुंगो नलाग्दा तल्लो तहका कार्यकर्तामा अन्योल बढ्दै गएको छ । निर्वाचनको समय नजिकिँदै गर्दा नेतृत्वमाथि सहमतिको दबाब पनि बढ्दो छ । प्रवक्ता गिरीका अनुसार परिस्थिति जस्तो भए पनि आइतबारसम्म आपसी समझदारीका आधारमा उम्मेदवार छनोट गरी केन्द्रमा सिफारिस गर्ने तयारी कांग्रेस जुम्लाले गरेको छ ।चार दिनको निरन्तर बैठकपछि पनि सहमति नजुट्नुले जुम्ला कांग्रेसभित्रको शक्ति सन्तुलन, आकांक्षा र आन्तरिक प्रतिस्पर्धा आगामी निर्वाचनको निर्णायक मुद्दा बनेको स्पष्ट संकेत दिएको छ ।




