रैथाने परिकारकाे स्वाद चाख्न कृषि प्रदर्शनी मेला
गाेल्डेन बुढा
जुम्ला ,२७ मंसिर ।
स्याउ र मार्सी चामलले मात्रै जुम्लाको पहिचान पूरा हुँदैन। फापर, कोदो, कागुनो, चिनो, उवा, गहत, सिमीदेखि जडीबुटी र तिनबाट बनेका परिकारसम्म जुम्लाको खाद्य संस्कृति गहिरो छ । यही पहिचानलाई पुनः जाेगाउन जुम्लामा ‘कृषि जैविक विविधता तथा रैथाने खाद्य परिकार प्रदर्शनी मेला’ आयोजना गरिएको छ ।मेला केवल परिकार चाख्ने थलोमा सीमित छैन । बदलिँदो खाद्य प्रणाली, बढ्दो आयातित खाद्यान्नको प्रयोग र लोपोन्मुख बालीको भविष्यबारे गम्भीर बहस र पैरवी बनेको छ ।

एकातर्फ खेतीयोग्य जमिनको ठूलो हिस्सा बाँझो छ, अर्कोतर्फ बजारमा आयातित चामल, पिठो र प्याकेट खाद्यवस्तुको खपत बढ्दो छ । स्थानीय रूपमा उत्पादन हुने पोषिलो अर्गानिक बाली हुँदाहुँदै बाहिरको खाद्यान्नमा निर्भर हुनु जुम्लाको विरोधाभास हो । यही यथार्थलाई देखाउँदै मेलाले ‘आफैं उत्पादन गरौं, आफैं खाऔं, बाँकी बजारमा बेचौं’ भन्ने सन्देश प्रवाह गरेको छ ।जिल्ला समन्वय समिति प्रमुख गौरीनन्द आचार्यका अनुसार रैथाने बाली केवल खाद्यान्न होइनन्, खाद्य सुरक्षाको आधार हुन् । “विषादीयुक्त आयातित खाद्यान्नले स्वास्थ्य जोखिम बढाइरहेको छ । रैथाने बाली संरक्षण गर्नु भनेको स्वास्थ्य र आत्मनिर्भरता दुवै जोगाउनु हो,” उनले उद्घाटन समारोहमा भने ।यसअघि जुम्लामा सडक नाटक, देउडा र गोष्ठीमार्फत रैथाने बाली संरक्षणको सन्देश दिइँदै आएको थियो । तर यसपटक मेलाले चेतनालाई स्वादसँग जोडेको छ ।

फापरको सेलरोटी, कोदोको रोटी, कागुनोको खिर, मार्सी चामलको सेल, ढटेलोको तेल, जडीबुटीजन्य अचार र घुच्ची च्याउले दर्शकलाई हेर्ने मात्र होइन, चाख्ने र बुझ्ने अवसर दिएको छ ।यता चन्दननाथ नगरपालिका कृषि विकास शाखा प्रमुख सरद पोखरेल भन्छन्, “पोषणका हिसाबले यहाँका खाद्यवस्तु बलिया छन् । तर हामी आफैं उत्पादन गरेका वस्तु बाहिर पठाएर आयातित खाद्यान्न खाइरहेका छौं । यो प्रवृत्ति बदल्न मेला एउटा सांकेतिक तर महत्वपूर्ण कदम हो ।”मेलाको अर्को महत्वपूर्ण पक्ष लोप हुँदै गएका बालीका बीउ प्रदर्शनीमा राखिनु हो । बीउ हराउनु भनेको संस्कृतिको एक पुस्ता हराउनु जस्तै भएको कृषकहरूको बुझाइ छ । उत्पादन भए पनि बजार नपाउँदा किसान रैथाने बाली छाड्न बाध्य भएको उनीहरूको गुनासो छ । उद्योग वाणिज्य संघ जुम्लाका उपाध्यक्ष बालकृष्ण बुढाले गुणस्तर, प्याकेजिङ र ब्रान्डिङमा जोड दिए । “निर्यात भइरहेको छ, तर मूल्यअनुसारको गुणस्तर छैन । आफ्नै उत्पादनलाई हेला गर्ने प्रवृत्ति अन्त्य नगरेसम्म रैथाने बालीले बजार पाउँदैन,” उनले भने ।कृषि विकास कार्यालय जुम्लाका तथ्यांकले जिल्लामा खाद्यान्न उत्पादनको ठूलो सम्भावना देखाउँछन् । जुम्लाको कुल क्षेत्रफल २ लाख ५३ हजार १ सय ६ हेक्टरमध्ये ३८ हजार ४ सय ८६ हेक्टर (१५.२१ प्रतिशत) खेतीयोग्य जमिन छ । तीमध्ये १२ हजार ५१ हेक्टर (३१.३१ प्रतिशत) जमिन बाँझो छ ।

आर्थिक वर्ष २०८०/८१ मा १४ हजार ५ सय ३३ हेक्टरमा खाद्यान्न खेती भई २४ हजार २ सय ३१ मेट्रिक टन उत्पादन भएको छ । धान २ हजार ८ सय ९० हेक्टरमा ५ हजार ९ सय ८७ मेट्रिक टन, मकै ४ हजार ४ सय ५० हेक्टरमा १० हजार ५ सय मेट्रिक टन, कोदो २ हजार ७ सय ४० हेक्टरमा ३ हजार ८ सय ५० मेट्रिक टन र जौँ १ हजार ९ सय ३५ हेक्टरमा ३ हजार ५ सय १५ मेट्रिक टन उत्पादन भएको कार्यालयले जनाएको छ ।

फापर, उवा, चिनो र कागुनो जस्ता रैथाने बाली अझै सानो क्षेत्रमै सीमित छन् ।कृषि विज्ञहरूका अनुसार यस्ता मेला एक–दुई दिनको उत्सवमा सीमित भए पर्याप्त हुँदैन । बीउ बैंक स्थापना, न्यूनतम समर्थन मूल्य, स्थानीय विद्यालयको मध्याह्न भोजनमा रैथाने खाद्य प्रयोग र स्थानीय तहबाट सुनिश्चित बजारजस्ता दीर्घकालीन उपाय आवश्यक छन् । किसान, उपभोक्ता र सरकारबीच समन्वय हुन सके मात्र जुम्लाका रैथाने बाली र स्वादले पुनर्जागरण पाउने विज्ञहरूको निष्कर्ष छ ।




