रत्न राजमार्गमा पहिरोले अबरुद्ध सडक सुचारु, गुर्भाकोटमा कच्ची घर भत्किँदा परिवारको सकुशल उद्धार
सुर्खेत, २० साउन।
लगातारको अविरल वर्षाका कारण सुर्खेतको विभिन्न स्थानमा पहिरो र भौतिक क्षतिको घटना भएको छ। रत्न राजमार्गअन्तर्गत भेरीगंगा नगरपालिका–२ पैसठ्ठीस्थित सडक खण्डमा पहिरो जाँदा यातायात केही समयका लागि अवरुद्ध भएको थियो भने गुर्भाकोट नगरपालिकामा एक कच्ची घरको भित्तो भत्किएको छ।
प्राप्त जानकारीअनुसार आज बिहान ६:०० बजे तिर अविरल वर्षाका कारण पहाडबाट खसेको ढुङ्गामाटोसहितको पहिरोले रत्न राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो। खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय छिन्चुबाट प्रहरी निरीक्षक प्रेमबहादुर गुरुङको नेतृत्वमा सात सदस्यीय प्रहरी टोली खटिएको थियो। उक्त टोलीले जेसीबीको सहायताले पहिरो हटाउँदै बिहान ७:०० बजे एकतर्फी सडक खुलाएको र बिहान ७:३० बजेबाट दुवै तर्फ यातायात सञ्चालनमा ल्याइएको छ।
यसैबीच गुर्भाकोट नगरपालिका–१ काल्चे घुमाउनेमा वर्षाका कारण एक स्थानीयको घरको भित्तो भत्किएको छ। दालमाया बुढाको तीनतले ढुङ्गा माटोको घरको पूर्वपट्टिको भित्तो खस्दा पाँच कोठे घरमा क्षति पुगेको हो। घटनाको बेला घरमा चार जना सदस्य (दालमाया बुढा, उनका एक छोरा र एक छोरी सहित) रहेका भए पनि सबै सकुशल छन्। उनीहरू माईतीघरमा गएर सुरक्षित बसेका छन्। मानवीय र चौपाया क्षति नभएको प्रहरीले जनाएको छ।
उक्त घटनास्थलमा प्रहरी चौकी मालारानीबाट टोली खटिई उद्धार कार्य गरिएको थियो।
स्थानीय प्रशासनले अविरल वर्षाका कारण अझै जोखिम कायमै रहेको भन्दै सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।





