वैकल्पिक राजनीतिक एकताको ऐतिहासिक आवश्यकता: पुराना दलहरूको विफलता, जेनेरेसन–जेडको विद्रोह र नयाँ जनादेशको अपरिहार्यता
✍️अर्जुन प्रसाद शर्मा
बि .न .पा -१२ सुर्खेत,
नेपालको वर्तमान राजनीतिक परिदृश्यलाई गहिरो रूपमा नियाल्दा एउटा यथार्थ कठोर रूपमा उजागर भएर अगाडि आउँछ—पछिल्ला छत्तीस वर्षदेखि एमाले, कांग्रेस, माओवादी, र राप्रपाजस्ता परम्परागत दलहरूले राजनीतिक सत्तालाई आफ्नो वंशानुगत अधिकारझैँ प्रयोग गर्दै राज्यका स्रोत, संरचना र प्रणालीलाई गुट–व्यक्तिगत स्वार्थअनुसार कब्जा गरेर राखेका छन्। लोकतन्त्र, गणतन्त्र, संघीयता र परिवर्तनका सुगन्धित नाराहरूको तहभित्र लुकेको नातावाद, कृत्रिम जनसम्पर्क, नीतिगत भ्रष्टाचार र दण्डहीनताको अदृश्य जाल आज पनि उत्तिकै शक्तिशाली रूपले क्रियाशील छ। राज्य सञ्चालनमा पारदर्शिता, जवाफदेहिता र सुशासनको स्थानमा अदृश्य कमिसन–सञ्जाल, नीति–किनबेच, पदको कारोबार, प्रशासनिक लगाममाथि पार्टीको नियन्त्रण र जनताभन्दा नेता महान छ भन्ने राजनीतिक मनोविज्ञान अहिले पनि यथावत् छ। राजनीतिक नेतृत्वको ध्यान सेवा र परिवर्तनभन्दा सत्ता टिकाइरख्ने प्रविधिमा बढी केन्द्रित देखिन्छ, र यही विडम्बनाले मुलुकलाई स्थिरता, विकास र विश्वासको मार्गमा अघि बढ्न दिइरहेको छैन।
यही राजनीतिक असफलताले नयाँ पुस्ताको चेतनालाई तीक्ष्ण बनाएको छ। विशेषतः जेनेरेसन–जेडका युवाहरू, जसले पुराना दलहरूको विफलता, असक्षमता र स्वार्थ–प्रधानता आफ्नै आँखाले देखेका छन्, अहिले स्पष्ट रूपमा भन्छन्—“हामीलाई अब नयाँ नेतृत्व चाहिन्छ, नयाँ राजनीतिक संस्कृति चाहिन्छ, र नयाँ शासन शैली चाहिन्छ।” यही पृष्ठभूमिले वैकल्पिक राजनीतिक शक्तिको जन्म मात्र होइन, यसको एकतालाई ऐतिहासिक आवश्यकता बनाइदिएको छ। आज देशले रवि लामिछाने, बालेन शाह, हर्क साङपाङ, कुलमान घिसिङ, गोपाल हमाल, खगेन्द्र सुनारजस्ता काम–उन्मुख, प्रष्ट दृष्टिकोण भएका र भ्रष्टाचारविरुद्ध कठोर प्रतिबद्धता देखाएको नेतृत्वहरूलाई एकै ठाउँमा उभिन आह्वान गरिरहेको छ। यी सबैको आ–आफ्नै क्षेत्र, आ–आफ्नै पहिचान, आ–आफ्नै प्रभाव छन्, तर राष्ट्रिय उद्देश्य भने साझा छ—भ्रष्टाचारमुक्त, न्यायपूर्ण, दक्ष र जवाफदेही शासनसंस्कृतिको पुनःनिर्माण।
तर यिनै वैकल्पिक धाराहरूभित्र देखा परेको सबैभन्दा ठूलो चुनौती हो—‘मेरो मत’, ‘मेरो प्रभावक्षेत्र’, ‘मेरो लोकप्रियता’, ‘मेरो नेतृत्व’ भन्ने क्षुद्र मनोवृत्ति। नयाँहरूबीचको यही अस्वस्थ प्रतिस्पर्धाले पुरानै दलहरूलाई जिताइरहेको छ, र यसले वैकल्पिक राजनीति शक्तिको सम्भावनालाई क्षीण बनाइदिएको छ। मानिसले परिवर्तन चाहेको छ, तर परिवर्तनका नायकहरू एकपटक छुट्टाछुट्टै मोर्चामा उभिंदा परिवर्तनको मत फुटेर सत्तामा फेरि पुरानै दल पुगिरहेका छन्। राजनीतिक विज्ञानमा यसलाई ‘vote fragmentation effect’ भनिन्छ, र नेपालमा यही प्रभावले पुराना दलहरूको रजगजलाई अझै मजबुत बनाइदिएको छ। पुरानाहरू यसबाट खुशी छन्, किनकि उनीहरूलाई थाहा छ—जबसम्म नयाँ दल फुटेका हुनेछन्, तबसम्म पुरानाहरूको राज्यारोहणलाई कसैले रोकेर देखाउन सक्दैन।
यति मात्र होइन, वैकल्पिक शक्तिले अब आफ्नो दायरा ठूलो बनाउँदै कांग्रेसका सुनिल शर्मा, माओवादी पृष्ठभूमिका जनार्दन शर्मा, सुदन किराँती,राम कार्की राष्ट्रिय स्वतन्त्र पार्टी बाट बाहिर गएका सुमना श्रेष्ठ, सांसद सन्तोष परियार, एमाले पृष्ठभूमिका भीम रावल, डन्डीप्रसाद शर्मा लगायतका थुप्रै नेता, राप्रपाका ज्ञानेन्द्र शाहीजस्ता यथार्थवादी, प्रगतिशील र परिवर्तन–उन्मुख नेताहरूलाई पनि स-सम्मानका साथमा लिन सक्ने परिपक्वता देखाउनैपर्छ। यो वैचारिक सङ्कुचन होइन, बरु नयाँ राजनीतिक संस्कृतिको विस्तार हो—जहाँ व्यक्तिको पृष्ठभूमि होइन, योग्यता, इमान र देशप्रतिको प्रतिबद्धता महत्वपूर्ण हुन्छ।
भ्रष्टाचार, अन्याय र असमानताले थिचिएका जनताका आँसु र चीत्कारहरू २०३६ सालको आन्दोलनमा सुनिए, २०४६ सालमा गुन्जिए, २०५२ देखि २०६२/६३ सम्मका युद्ध–आन्दोलनले राज्यशक्ति हल्लाइदिए, तर मूल परिवर्तन किन आएन भने राजनीतिक शक्ति फेरिए पनि राजनीतिक संस्कृतिमा structural परिवर्तन भएन। त्यसपछि आएको जेनेरेसन–जेड आन्दोलनले भने एक कुरा स्पष्ट गरिदियो—अब पुरानै शैली स्वीकार्य छैन, अब पुरानै क्षतिग्रस्त मानसिकताले देश चलाउन पाइने छैन। युवाहरूले चाहेको शासनशैली पारदर्शी हो, तर्कसंगत हो, टेक्नोलोजी–मैत्री हो, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता नीति भएको हो, र सरकारी सेवाबाट जनताले वास्तविक नतिजा महसुस गर्ने हो।
यिनै मागलाई सम्बोधन गर्ने क्षमता अहिले पुराना दलहरूसित छैन। तर वैकल्पिक दल र व्यक्तित्वसँग छ—तर एउटै आवश्यक सर्तमा: “उनीहरू एकजुट हुनुपर्छ।” यदि रवि, बालेन, हर्क, कुलमान, गोपाल, खगेन्द्र, सुमना, सन्तोष, ज्ञानेन्द्र, जनार्दन ,डन्डी ,सुदन—समान राष्ट्रिय धारमा बसेर एउटा साझा मोर्चा बनाएर अघि बढे भने जनताले दिन चाहेको नयाँ जनादेश केवल सम्भावना होइन, निश्चितता बन्न सक्छ। जनताले भोट मात्र होइन, समर्पण, योगदान र जिबन त्याग सम्म गर्नेछन्। जनयुद्धका, जनआन्दोलनका, लोकतान्त्रिक लडाइँका, जेनेरेसन–जेड आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूका परिवारले आज पनि भन्छन्—“हामी देश चाहन्छौँ, व्यक्तिको विजय होइन।” उनीहरू अझै पनि भन्छन्—“यदि नयाँ नेतृत्व मिलेर आउँछ भने हामी जे आवश्यक पर्छ त्यही दिन तयार छौँ।”
तर यदि नयाँ नेतृत्वहरू मिलेर आउँदैनन् भने? त्यसको उत्तर डर लाग्दो छ। देश पुनः पुरानै दलहरूको मनमानी, दण्डहीनता, भ्रष्टाचार, राजनीतिक स्वार्थ, पद–व्यापार र अस्थिरताको भुमरीमा फस्नेछ। आजको भ्रष्टाचारले जरा गाडेको छ, तर वैकल्पिक एकता नहुँदा भोलि यो संरचनागत मात्र होइन, अराजक रूप लिनेछ। अनि नयाँ पुस्ताको सपना, १० वर्ष पछिको नेपाल, भविष्यका नागरिककै आकाङ्क्षा—सबै फेरि पुरानै दलहरूको राजनीतिक स्वार्थको बलिबेदीमा चढ्नेछन्।
त्यसैले आजको मूल राजनीतिक आवश्यकता स्पष्ट छ—वैकल्पिक नेतृत्वबीच एकता, सहकार्य, पद–लोभ त्याग, व्यक्तिगत दम्भको अन्त्य, साझा राष्ट्रिय रणनीति निर्माण, र भ्रष्टाचार र अन्यायविरुद्ध कठोर राजनीतिक संकल्प। जबसम्म नयाँ दलहरूले एकअर्काको अस्तित्व स्वीकारेर नीतिगत रूपमा एकजुट हुँदैनन्, तबसम्म न त परिवर्तनको आकाङ्क्षा पूरा हुन्छ, न त जेनेरेसन–जेडले मागेको नयाँ शासन प्रणाली स्थापित हुन सक्छ। नयाँ पुस्ताले चाहेको प्रणाली—पारदर्शी, जवाफदेही, सक्षम, डिजिटल, भ्रष्टाचारमुक्त र नागरिक–केन्द्रित—त्यही हो जुन तब मात्र सम्भव छ जब वैकल्पिक शक्तिहरू फुटेर होइन, एक भएर अघि बढ्छन्।
नेपाल आज ऐतिहासिक मोडमा छ। एकातिर पुराना दलहरूको जडता, अर्कोतिर युवा पुस्ताको ऊर्जा। एकातिर भ्रष्टाचारको दादागिरी, अर्कोतिर परिवर्तनको तड्प। एकातिर अतीत, अर्कोतिर भविष्य। यस द्वन्द्वमा देश कुन दिशातिर मोडिन्छ भन्ने कुरा अब वैकल्पिक राजनीतिक एकतामाथि निर्भर छ। यदि एकजुट भए—नेपाल नयाँ युगमा प्रवेश गर्छ। यदि फुटे—पुरानै प्रणाली दोब्बर बलियो भई भविष्य फेरि अन्धकारमा धकेलिन सक्छ।
अतः आजको सवाल केवल राजनीतिक होइन, ऐतिहासिक हो—
“वैकल्पिक शक्ति एकजुट हुने कि देश फेरि पुरानै दलहरूको नियन्त्रणमा फस्ने?”
यस प्रश्नको उत्तर नयाँ पुस्ताले, नयाँ नेतृत्वले र नयाँ संस्कृतिले दिनुपर्नेछ।
र त्यो उत्तर केवल एउटै हुन सक्छ:
एकता, नैतिकता, राष्ट्रहित र नयाँ जनादेश।




