जुम्लाका मौरीमा अज्ञात रोग, हारगुहार गर्दै किसान

जुम्लाको चन्दननाथ नगरपालिका–४ मालाभिड गाउँ का नारायण चौलागाईंको आँगनमा ५÷६ वर्षअघि २५ घार मौरीका थिए । हरेक घारबाट वर्षमा कम्तीमा ५ केजी मह निकाल्दा उनलाई राम्रै आम्दानी हुन्थ्यो ।
अहिले उनले ११ घार मौरी पालेर एक वर्षमा डेढदेखि २ लाख रुपैयाँसम्म कमाइ गरिरहेका छन् । पाँच वर्षयता रोगका कारण ७ घारका मौरी मरे । धमाधम घार रित्ता हुन थालेपछि उनले ७ घार मौरी २० हजार रुपैयाँका दरले बेचे । यस्तै चन्दननाथ नगरपालिका –२ खोलिकोट गाउँका रामकृष्ण बुढाथापाले मह बेचेरै वार्षिक पाँच लाख रुपैयाँ भित्र्याउँथे ।
१ सय ५० घारसम्म पालेका उनको घरमा अहिले ५ घार मात्रै मौरी छन् । रोगले गर्दा झन्डै आधा जति घारको मौरी नष्ट भएको सुनाउँछन् । ‘धमाधम मर्न थालेपछि रित्तो हुने डरले एक सय घारको मौरी बेचे,’ उनले भने, ‘मौरीपालनमा आकर्षण छ । तर किसानको मनोबल बढाउने काम कसैबाट हुन सकेको छैन ।उनको गुनासो छ ।’
उत्पादन गरेको मह हेर्दा मौरीपालन व्यावसाय हौसिए पनि मौरी मरेको देख्दा जागर मर्ने गरेको उनले बताए । उनको जस्तो पिडा सुनाउँछन् जुम्लाको पातारासी–२ का कैलो ऐडी उनका ८÷९ वर्ष पहिले एक सय बढी मौरीघारका मालिक थिए ।
रोगले झन्डै आधा जति घारका मौरी मरिसके। मह बेचेर वार्षिक ४ देखि ५ लाख कमाइ गर्ने ऐडीले मौरी बचाउन माग गरिरहेका छन् । मौरीमा लागेको रोगको उपचारका लागि घरेलु औषधिदेखि विज्ञहरूको परामर्शसमेत लिए ।
तर रोग निवारण हुन सकेको छैन । उनीहरूजस्तै जिल्लाका सयौं किसान मौरी मर्ने रोगले मर्कामा छन् । मौरी घारदेखि बाहिर निस्कने, उड्न नसक्ने र मर्ने गरेका छन् । तर लामो समय बित्दासमेत यो रोगको पहिचान हुन नसक्दा घाटा बेहोर्नुपरेको उनीहरू बताउँछन् । जुम्लामा ‘सेराना सेराना’ जातको मौरीपालन हुने गरेको छ । यो जातको मौरीले चिसो सहन सक्ने, कम रिसाहा र रोग प्रतिरोधात्मक गुण हुने गरे पनि पछिल्ला वर्ष रोगले सखाप भइरहेको स्थानीय किसान नारायण चौलागाईंले बताए । जुम्लाको एक नगरपालिका,सात वटै गाउँपालिकाका र ६० वटै वडामा मौरीपालन हुने गरेको छ । जुम्लाको मह काठमाडौं, नेपालगन्ज, सुर्खेत, बुटवल, चितवन र पोखरालगायत सहरमा लैजाने गरिएको छ ।
जिल्लाभित्रका कोसेली पसलदेखि आन्तरिक तथा बाह्य पर्यटकले समेत मह किनेर लैजाने गरेका छन् । जंगलमा र अर्गानिक फूल फुल्ने भएकाले यहाँ उत्पादित महमा औषधीय गुण हुने किसान बताउँछन् । मौरीमा देखिएको रोगबारे राष्ट्रिय मौरी विकास केन्द्रमा जानकारी गराएपछि चार वर्षअघि प्राविधिक टोली आएको थियो ।
‘मौरी विकास केन्द्रको विज्ञ टोलीले अहिलेसम्म न रिपोर्ट दियो न त कुनै सुझाव नै । उनीहरूको प्रतिवेदन देख्न, सुन्न पाइएको छैन,’ चौलागाईंले भने । मौरीपालनबारे जिल्लामा सरकारी तथ्यांक छैन । तर कर्णाली मौरीपालन सहकारी संस्था लिमिटेड जुम्लाले भने पटक–पटक किसानलाई तालिम, उपकरण उपलब्ध गराएर मौरी पाल्न उत्साहित बनाइरहेको छ । जिल्लामा अहिले ८ हजार ४ सय मौरी घार छन् । एक घारमा कम्तीमा ६ केजी मह उत्पादन भइरहेको छ ।
‘जिल्लाभर वर्षमा ५० हजार केजी हाराहारी मह उत्पादन भइरहेको छ,’ सहकारीका सचिवसमेत रहेका चौलागाईंले भने, ‘प्रतिकिलो २ हजार ५ सय रुपैयाँले बेच्दा बार्षिक १२ करोड रुपैयाँ जिल्ला भित्रिने गरेको छ ।’ सबैभन्दा बढी पातारासी गाउँपालिका र सबैभन्दा कम तातोपानी र सिँजा गाउँपालिकामा मौरीपालन हुने गरेको छ । सहकारीको तथ्यांकअनुसार पातारासी गाउँपालिकामा सबैभन्दा बढी १ हजार ६ सय घार, तिलामा १ हजार ५ सय, गुठीचौरमा १ हजार ४ सय, कनकासुन्दरीमा १ हजार २ सय, हिमामा ७ सय, चन्दननाथमा १ हजार र तातोपानी र सिँजामा ५ ÷५ सय घार मौरी पालेका छन् । जिल्ला कृषि विकास कार्यालय, स्याउ सुपरजोन, कर्णाली मौरीपालन सहकारी र किसान बसेर मौरीपालनको भविष्यबारे चिन्तन गर्नुपर्ने किसानले बताएका छन् ।
मौरीपालनका क्षेत्रमा कुनै पनि कार्यक्रम नहुनु दुःखद् भएको समेत उनीहरूको दुखेसो छ । चरन क्षेत्रको अभाव, जलवायु परिवर्तनको असर र खेतीपातीमा विषादी प्रयोगले गर्दा मौरीपालनमा समस्या आएको जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले बताए । ‘मौरीमा देखिएको रोग पत्ता लाग्न सकेको त छैन । तर मौरी विकास केन्द्रको टोलीले मानवीय त्रुटिका कारण समस्या आएको बताएको छ,’ उनले भने, ‘प्रतिकूल वर्षा र खडेरीले मौरीपालन घट्दो क्रममा समस्या आइरहेको छ ।




