मुख्यमन्त्रीले पहिले सरकार विस्तार गरेपछि मात्रै विश्वासको मत लिने

कर्णाली प्रदेशमा सरकार विस्तार पछि मात्रै मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिनका लागि कार्यसूची तय गर्ने संसद सचिवालयलाई मंगलबार पत्र पठाएका मुख्यमन्त्रीले पहिले सरकार विस्तार गरेपछि मात्रै विश्वासको मत लिने भएका हुन् ।
मुख्यमन्त्रीले बुधबार सरकार विस्तार गरेर बिहीबार संसदबाट विश्वासको मत लिने सहमति भएको माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक रणसिंह परियारले जानकारी दिए । ‘मन्त्रालय भागबन्डाको कुराकानी मिलिसक्यो, अब भोलि सानो आकारको भएपनि सरकार विस्तार हुन्छ’ उनले भने, ‘पर्सी मुख्यमन्त्रीले संसदमा विश्वासको मत लिनुहुन्छ ।
सत्तारुढ दलमा माओवादीले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय लिने माटामोटी सहमति भएको छ ।
त्यस्तै एमालेले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, आन्तरिक मामिला तथा योजना मन्त्रालय र भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय लिने छ । यसअघि गठबन्धन दल माओवादी र एमालेले मन्त्रालयको भागबन्डा टुङ्गाउन ढिलाई भएकै कारण मुख्यमन्त्री कँडेल एक्लैले सरकार सञ्चालन गर्दै आएका छन् ।





