दशैंको मुखमा रास्काेटका २१ कर्मचारीको बर्खास्त
कालीकाेट जिल्लाको रास्कोट नगरपालिकामा कार्यरत २१ जना कर्मचारीलाई बर्खास्त गरिएको छ । दसँैको बेला २१ जना करारका कर्मचारीलाई हटाएको पत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको छ ।
नगर प्रमुख धर्मराज शाहीले कहिले शिक्षकको काज सरुवा गर्ने, कहिले कर्मचारीलाई एकाएक अर्को वडामा खटाउने, बिनाअनुमतिपत्रका शिक्षक नियुक्त गर्ने र कहिले बिनानिर्णय प्रशासन शाखालाई पत्र लेख्न लगाएर कर्मचारी हटाउने जस्ता मनोमानी गरिरहेको आरोप कर्मचारीले लगाएका छन् ।
लामो समयदेखि कार्यालय सहयोगी पदमा कार्यरत पहलबहादुर शाहीले बिना जानकारी आफूलगायत २१ जनालाई रोजगारीबाट हटाएको बताए । साबिकको सिप्खाना गाउँ विकास समितिमा सहले खापाल पदमा नियुक्त भएर काम गर्दै आएका उत्तम खड्का, जिल्ला विकास समितिदेखिका कार्यालय सहयोगी देउमल सार्की, कोपिला सन्ज्याल, चरना उपाध्याय, नमराज उपाध्याय, पुष्पराज न्यौपाने, चतुरर्भज बराल, लोकजङ्ग शाहीलगायत २१ जनालाई पदमुक्त गरिएको छ ।
गत नगर सभामा कार्यालय सहयोगी देउमल सार्कीले राम्रो काम गरेको भन्दै सम्मान समेत गरिएको थियो । नगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत मात्र लेखिएको पत्रमा गाडीचालक अमल फर्साल, एम्बुले न्सचालक पङ्ख फडेराका साथै कर्मचारी जीवन शाही, हिक्मत बराल, मातृका सन्ज्याल, शारदा न्यौपाने, गङ्गन शाही, कमलराज सन्ज्याल पनि बर्खास्तमा परेका छन् ।
उनीहरूको कार्यसम्पादन समेत नगरी बिनाजानकारी हटाएको बताइएको छ । वडा नंं. ४ का वडाध्यक्ष दिनेश सन्ज्यालले यसरी भूमिगत शैलीमा कर्मचारीलाई बर्खास्त गर्नु उचित नभएको बताए । नगरका प्रमुख प्रशासकीय अधिकृत जवानसिहं बमले कार्यपालिकाले निर्णय गरे अनुसार नै भएको बताए । कार्यपालिकाले गरेको कार्यान्वयन गर्नु आफ्नो कर्तव्य भएको भन्दै निर्णय अनुसार भएकाले यसमा हामी कर्मचारीको केही नलाग्ने बताए ।






