२०८२ फाल्गुन २८ गते
×

Now Playing

सुर्खेतमा फस्टाउँदै फुलको व्यवसायः गाउँतिर प्लाष्टिक मालाकै जग्जगी

सिर्जना बुढाथोकी
सुर्खैत,१ कार्तिक ।

पहिले पहिले चाडपर्व आउँदा गाँउघरमा आफु आँगनी छेउ या छरछिमेकीबाट फुल मागजाग गरेरै भएपनि तिहारका माला बनाएर गुजारा गर्ने गरिन्थ्यो । शहरीकरणसंगै घरआँगनका डिलमा मखमली, सयपत्री, सुपारी आदि तिहारमा माला बनाउन चाहिने फुलको कमी हुँदै गएका कारण पछिल्लो समय सुर्खेतमा व्यापारिक उद्देश्यले फुल र मालाको व्यवसायिक खेती हुन थालेको छ ।

पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिका १४ को भर्लेनीमा सञ्चालित कर्णाली ड्रागन फ्रुट फर्ममा झपक्कै फुलेका सयपत्री र हजारी फुलका लागि अग्रिम बुकिङ्ग लिन भ्याई नभ्याई हुन थालेको छ । हजारी फुल सीमित मात्रामा फुल्ने भएकाले ग्राहकको माग अनुसारको फुल र मालासमेत तयार गरिने बताउँदै फर्मका सञ्चालक हिराबहादुर घर्तिले तिहार नजिकिंदै जाँदा डेलिभरी दिन भ्याइ नभ्याई हुने भएकाले प्रिअर्डर बुंिकंग शुरु गरिएको जानकारी दिए । ‘मैले यो पहिलो पटक दुई कठ्ठामा पाँचसय विरुवा रोपेको हो, दशै अगाडिबाटै फुल बेच्न शुरु भएको छ ।

उनले भने, ‘माग धान्नै समस्या भैसक्यो, अर्को वर्ष धेरै जग्गामा लगाउने योजना बनाएको छु । दशैंतिहारका बेला मात्र नभई विभिन्न संघसंस्था र सहकारीहरुको वार्षिक उत्सब, विभिन्न पूजाआजा र शुभकार्यमा फुलनै चाहिने भएकाले फुलको माग झनै बढेको उनको भनाई छ । आफुले लगाएको फुल सबै बुकिङ्ग भैसकेकाले अन्य जिल्लाका फर्मबाट मगाएर बिक्रि गर्ने योजना बनाएको घर्तिले बताए ।

सयपत्री फुल प्रति के.जी सात सय रुपैयाँ र माला तीनदेखि चारसय रुपैयाँसम्म बिक्रि गरिरहेको उनले जानकारी दिए । करिब दश वर्षदेखि सुर्खेतमा फुल र बोटविरुवाको व्यवसाय गर्दै आएको झरना नर्सरीले यसवर्ष चार कठ्ठा जग्गामा सयपत्री फुल लगाएको छ । माग अत्याधिक भएपनि यस वर्ष पोहोर सालको तुलनामा फुल कम लगाएको झरना नर्सरीका सञ्चालक झरना थापाले जानकारी दिइन् ।

‘पोहोर त फुल र माला माग अनुसार पुर्याउनै सकेनौ, तर यसपटक भने कम लगायौं । ’, उनले भनिन्, ‘हाम्रो नर्सरीबाट यसवर्षको फुलको पचास हजार बेर्नामात्रै बेच्यौ ।’ पोहोर चाडपर्वका बेला फुल र मालाको माग अनि व्यापार दुबै मनग्य भएको देखेर त्यसैको सिको गरेर व्यवसाय गर्नेको संख्या बढेकाले पनि बढ्दो प्रतिष्पर्धाका कारण आफुहरुले उत्पादन घटाएको उनको भनाई छ ।

झरना नर्सरीले यसवर्ष ५० हजार बेर्ना बिक्री गरेको छ । पोहोर मौसमले साथ नदिएर सोचेभन्दा कम उत्पादन भएपनि यसवर्ष मौसमले साथ दिएको सञ्चालक थापाको भनाई छ । झण्डै दशक लामो अनुभवका आधारमा अब सुर्खेत फुलको माग पूरा गर्ने अवस्थामा पुगेको आफ बुझाई रहेको थापाले उल्लेख गरिन ।

सुर्खेत फुलमा आत्मनिर्भर भैसकेको र यसवर्ष फुलकै व्यवसाय गर्नेहरुको संख्यामा बढेकाले मागसंगै उत्पादनमा पनि वृद्धि भएको उनको भनाई छ । दश वर्ष पहिलेसम्म सुर्खेतको बजारमा विशेष गरी तिहारको बेला प्लाष्टिकका कृत्रिम फुल र मालाले वर्चस्व बढाउँदै लगेको देखेपछि मौलिक परम्पराको संरक्षणसंगै व्यवसायपनि हुने सम्भावना देखेर आफुहरु व्यसायिक फुलखेतिमा लागेको थापाले जानकारी दिइन् ।

वीरेन्द्रनगर नगरपालिकाको वडा नं. ३ मा रहेको खुशी कृषि तथा पशुपंक्षी फर्मले पनि यसवर्ष चार कठ्ठा जग्गामा नौ सय बिरुवा सयपत्री फुल उत्पादन गरेको छ । हरेक वर्ष आउने ठूला चाडपर्व, विवाह, समारोहहरु जस्ता फुलको अत्यावश्यक पर्ने समयमा फुलको माग र अभाव भएको देखेर आफुहरुले पनि फुलखेती गर्ने योजना बनाएको फर्म सञ्चालक रमा खड्का के.सीले जानकारी दिइन् ।

अहिले तिहारको माहौल भएकाले सात सय पचास रुपैयाँमा एक के.जी फुल बिक्रि गरिरहेको उनले जानकारी दिइन् । दशैदेखि अहिलेसम्म ४० के.जी बिक्रि गरेको सञ्चालक के.सीले जानकारी दिइन् । अझैंपनि उत्पादन कम र माग बढि भएकाले मूल्यमा बृद्धि भएको उनको भनाई छ । सुर्खेतमा फुल व्यवसायको सम्भावना अत्याधिक भएको उनको अनुभव छ । आफुले उत्पादन गरेको पूmल तिहारका लागि एक क्विण्टल सयपत्री बुकिङ्ग भैसकेको पनि उनले जानकारी दिइन् ।

प्लाष्टिक मालापनि छ्याप–छ्याप्ति

हिन्दू धार्मिक परम्परा अनुसारका चाडपर्वमा सोहि अनुसारका फुल र माला प्रयोग गर्नुपर्ने भएपनि विश्वकर्मा बाबाको पूजादेखि तिहारसम्मैपनि कतिपयले प्लाष्टिकका माला प्रयोग गर्ने गरेका छन् । सुर्खेतको बजारमा रहेका कस्मेटिक पसलदेखि सडकछेउका ठेलामा समेत प्लाष्टिकका रंगीचंगी मालाको छ्याप–छ् याप्ति देखिन्छ ।

सरकारले प्लाष्टिकका फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण र भण्डारणमा पूर्ण रोक लगाएको छ । तरपनि तिहार नजिकिदै गर्दा बजारभरी प्लाष्टिकका माला छ्याप छ्याप्ति देखिन्छन । चाडपर्वमा चाहिनेजति फुलको माग धान्न नसकेर पनि छिमेकी देश भारतबाट हरेकवर्ष धेरै मात्रामा प्लाष्टिकका मालाहरु भित्रिने गरेको छ । सुर्खेतमा प्राकृतिक फुलले अभाव पूर्ति गरेपनि कर्णालीका पहाडी जिल्लाहरुमा भने अहिलेपनि थानका थान भारतीय बजारमा बनेका प्लाष्टिकका रेडिमेड माला नै पुग्ने गरेका छन् ।

सुर्खेतमा करिब २० वर्षदेखि कस्मेटिक व्यवसाय गर्दै आएका बुटवलका जुल्फकर अलीले कर्णालीका पहाडी जिल्लाहरुबाट हरेक वर्ष चाडपर्वमा प्लाष्टिकको मालाको माग बढ्ने गरेको जानकारी दिए । ‘चाडपर्वको सिजनमा पहाडी जिल्ला र सुर्खेतको पश्चिमतिरको व्यवसायीले अधिकांश माला लैजानुहुन्छ’, उनले भने, ‘पहिलेजस्तो फुलपनि नपाइने भएकाले प्लाष्टिककै मालाले पनि धेरै विक्री हुने गरेको छ ।’

गाउँघर चाहिनेजति फुलका बोटविरुवा लगाएपनि मौसमी परिवतर्नका कारण तिहारको समयमा कि अघि कि पछि फुलने जस्ता समस्यालाई पनि प्लाष्टिकको मालाको माग र आवश्यक्ता बढाएको अनुमान गर्न सकिन्छ । वीरेन्द्रनगरको तल्लो बजारमा रहेको फिरोज कस्मेटिक पसलपनि अहिले प्लाष्टिकका मालाले ढपक्कै ढाकिएको छ ।

दशै सकिएलगत्तै पूरै पसलभरी मालाले मात्रै ठाउँ पाएको छ । अहिले ५० रुपैयाँ पर्ने यस्ता प्लाष्टिक माला हरेक वर्ष तिहारको समयमा यसरी नै सजाउँदै र विक्री गर्दै आएको पसल सञ्चालक फिरोज खानले बताए । ‘पहिलो कुरा त माला बनाउने फुलनै अभाव हुन्छ, पाइएपनि महंगो पर्छ ।’

उनले भने, ‘पैसा नहुनेले त चाडपर्वका बेला सात सय रुपैयाँ फुलमालामा खर्चिनुभन्दा बरु खानपिनमै खर्च गर्छन ।’ विशेष गरी तिहारको समयमा फुलकै लागि लाखौँ पैसा बाहिरी देशहरुमा गईरहेको समयमा आफुहरुले उत्पादन गरेको फुलहरुले बाहिरबाट भित्रिने कृत्रिम फुलमा आयत कमी हुने सुर्खेतमा फुलको व्यवसाय गर्दै आएका नर्सरी सञ्चालकहरुको भनाई छ ।

सुर्खेतमा फस्टाउँदै फुलको व्यवसायः गाउँतिर प्लाष्टिक मालाकै जग्जगी

सम्पादकीय : कहिले सच्चिने ?

सुर्खेतमा फस्टाउँदै फुलको व्यवसायः गाउँतिर प्लाष्टिक मालाकै जग्जगी

जुम्ला विमानस्थल ः आकाशमा उड्न धर्तीमा युद्ध

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds