गुराँसमा निवर्तमान गाउँपालिका अध्यक्ष वलीको रजाइँ
सुर्खेत ,३२ असार ।
दैलेखको गुराँस गाउँपालिकाका निवर्तमान अध्यक्ष खेमराज वलीले नायब सुब्बा कर्ण थापाको सहयोगमा पदीय दुरुपयोग गरेको पाइएको छ । नासु थापाकै बलमा गाउँपालिकाको बजेटमा वर्सेनि लाखौं रकम हिनामिना हुने गरेको खुलासा भएको छ । आर्थिक हिनामिना गर्न नासु थापाले महत्वपूर्ण फाइलसमेत लुकाउने गरेका छन् ।
आन्तरिक आय नभएकाले पालिकाले हालै करार कर्मचारी राख्न नसक्ने भन्दै नवीकरण रद्द गर्ने निर्णय गरेको थियो । उक्त निर्णयपछि उत्पन्न विवादसँगै नासुको बलमा निवर्तमान पालिका अध्यक्ष वलीले मनोमानी गरेको विषय बाहिर आएको हो । निवर्तमान अध्यक्ष वली र नासु थापाको मिलेमतोमा धेरै कीर्ते कार्य भए गरेको खुलेको गाउँपालिकाले जनाएको छ ।
नासु थापा गाउँपालिकामा नयाँ जनप्रतिनिधि आए पनि निवर्तमान अध्यक्षको खटनपटनमा रहँदै आएको बुझिएको छ । जसको ज्वलन्त घटना असार ६ गते वडा नं ७ का जयबहादुर बीसीले आफ्नी श्रीमतीलाई पाठेघरको क्यान्सर भई कोहलपुरको अमित मेमोरियल अस्पतालमा अप्रेसन भएको भन्दै आर्थिक सहयोगको लागि पालिकामा निवेदन दिएका थिए ।
बीसीले दिएको निवेदनउपर वर्तमान अध्यक्ष टोपबहादुर बीसीले सोही दिन प्रमुख प्रशासकीय अधिकृत ललितकुमार थापालाई नियमानुसार गर्न तोक लगाएका थिए । बीसीको फाइल नासु थापाकहाँ पुग्यो । उनले उक्त फाइल प्रशासकीय अधिकृतकहाँ नपु¥याई निवर्तमान अध्यक्ष वलीकहाँ पुर्याए ।
वलीले नासु थापालाई कोड गर्दै रु १० हजार भुक्तानी दिनु भनी तोक लगाइदिए । पालिकामा नयाँ अध्यक्ष आएर कार्यभार सम्हालिसकेको अवस्थामै निवर्तमान अध्यक्ष वलीले तोक लगाएका थिए ।
शुक्रबार गाउँपालिकाले करार कर्मचारीको म्याद नथप्ने निर्णयविरुद्ध कर्मचारीले आन्दोलन गरे । उक्त आन्दोलन गर्न नासु थापा र निवर्तमान अध्यक्ष वलीले कर्मचारीहरुलाई उक्साएको आरोप लगाइएको छ । नासु थापाले भूलवस त्यो फाइल आफूले झोलामा हाली लगेको र निवर्तमान अध्यक्ष वलीले हस्ताक्षर गरेको स्वीकार गरेका छन् ।

‘गल्तीले भएको कामलाई त्यति ठूलो इस्यु बनाउनुपर्ने कारण म देख्दिनँ । भन्नेले के भने मलाई थाहा छैन, त्यो फाइल मेलै नै पेश गरेको हो, अध्यक्षज्यूले हस्ताक्षर गरिदिनु भयो’, उनले भने, ‘नयाँ आएका जनप्रतिनिधिलाई जानकारी नहोला भनेर देखाएको हुँ तर उहाँले हस्ताक्षर गरिदिनु भएछ ।’
निवर्तमान अध्यक्ष वलीले पनि आफू हतारमा भएकाले भूलवस हस्ताक्षर गरेको स्वीकारे । सुर्खेतबाट दैलेख जाँदै गरेको अवस्थामा कर्मचारी थापाले बाटोमै फाइल देखाएकाले पुरानै होला भनी आफूले हस्ताक्षर गरेको उनले बताए । नासु थापा केही दिनदेखि बिदामा छन् । शुक्रबार भएको घटनामा उनको पनि संलग्नता रहेको भन्दै पालिकाले प्रहरीसमक्ष किटानी जाहेरी दिएको छ ।
करार अवधि थप नगर्ने पालिकाको निर्णयविरुद्ध आन्दोलित कर्मचारीको प्रर्दशनले उग्र रुप लिएपछि अवस्था नियन्त्रण बाहिर गएको थियो । प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले गोलीसमेत चलाएको थियो । घटनामा दुई जना घाइते भएका थिए । उनीहरुको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको छ ।
स्रोत : नेपालप्रेस





