२०८२ फाल्गुन २९ गते
×

Now Playing

वीरेन्द्रनगरमा सवारी चापको व्यवस्थापनः अदालतमा मुद्दा परेपछि रोकियो, पार्किङस्थल बनाउने योजना

सुर्खेत, १२ पुस ।

वीरेन्द्रनगरको मंगलढी चोक नजिक यसअघि बसपार्कको रुपमा प्रयोग गरिएको स्थान (पुरानो बसपार्क) एक महिनादेखि प्रयोगविहीन बनेको छ । सुविधायुक्त सिटी बसपार्क सञ्चालनमा आएसँगै पुरानो बसपार्क प्रयोगविहीन बनेको हो । सिटी बसपार्क गत मंसिर १६ गतेदेखि सञ्चालनमा आएको छ ।

बसपार्क सरेसँगै वीरेन्द्रनगर नगरपालिकाले मंगलढी नजिक रहेको उक्त बसपार्क रहेको क्षेत्रलाई पार्किङस्थल बनाउने योजना बनाएको थियो । तर खाली भएको एक महिनासम्म मंगलगढीमा पार्किङस्थल बन्न सकेको छैन । यसअघि वसपार्क सञ्चालनमा रहँदा बसेका व्यवसायीले हट्न नमानेपछि समस्या भएको हो । वीरेन्द्रनगर नगरपालिकाले त्यहाँका व्यवसायीलाई ३५ दिनभित्र हट्न सार्वजनिक आह्वान गरेको थियोे । तर व्यवसायीले हट्न मानेका छैनन् ।

घर टहरामा लगानी गरिसकेको भन्दै व्यवसायीहरू हट्न नमानेका हुन् । व्यवसाय सञ्चालनका लागि ऋण गरेर घरटहराहरू निर्माण गरेको तर लगानी उठाउन नपाउँदै नगरपालिकाले हटाउन थालेको भन्दै व्यवसायीहरू न्याय माग्दै अदालत पुगेका छन् । टहरा निर्माण गरेको केही समयमै बसपार्क र त्यसैमाथि नगरपालिकाले हटाएर बिचल्ली पार्न खोजेको भन्दै व्यवसायीहरूले उच्च अदालत सुर्खेतमा नगरपालिकाविरूद्व मुद्दा दिएका छन् । कानुनतः भाडामा लिएको सरकारी जग्गामा अस्थायी प्रकृतिमा मात्रै टहरा बनाउन पाइन्छ । केही व्यवसायीहरू हट्न नमानेकै कारण पार्किङस्थल बनाउने काम रोकिएको वीरेन्द्रनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकनलले जनाए ।

‘पार्किङ स्थल बनाउनको लागि व्यवसायीलाई ३५ दिनभित्र हट्न आहान गर्याै, तर व्यवसायी उल्टै अदालत जानुभयो’ उनले भने, ‘अब मुद्दाको फैसला नभएसम्म मंगलगढीको पुनारो बसपार्क रहेको स्थान प्रयोमा ल्याउन सकिदैन ।’ अदालतको फैसलामा आएपछि पार्किङस्थल निर्माणको प्रक्रिया थाल्ने ढकालको भनाइ छ । सवारी साधनको चाप बढ्दो क्रममा भए पनि वीरेन्द्रनगरमा एउटा पनि पार्किङस्थल छैन । पार्किङस्थल अभावका कारण बजार क्षेत्रमा दुर्घटनाको उच्च जोखिम छ । यही समस्यालाई मध्यनजर गर्दै वीरेन्द्रनगर नगरपालिकाले बजारका तीन स्थानमा पार्किङस्थल बनाउने योजना बनाएको छ ।

नगरपालिकाले जन माध्यमिक विद्यालयको पछाडिको खाली भाग, नेकपा पार्टी कार्यालयको अगाडि र मंगलगढीको पहिलेको बसपार्कलाई पार्किङस्थल बनाउने लागेको छ । पार्किङस्थलका रूपमा तत्कालै प्रयोगमा ल्याउन सकिने मंगलगढी क्षेत्रमै नगरपालिकाले बाधा झेल्नु परेको हो । नगरपालिकाले पहिलो चरणमा मंगलगढीको बसपार्क क्षेत्रलाई पार्किङ स्थलको रूपमा प्रयोगमा ल्याइने जनाएको छ ।

अदालतको प्रक्रिया टुंगिएपछि ठेक्का प्रक्रिया अगाडि बढाएर तत्काल सशुल्क पार्किङस्थल प्रयोगमा ल्याउने नगरपालिकाले जनाएको छ । सवारीको चाप बढ्न थालेपछि पाँचवर्ष पहिले वीरेन्द्रनगर नगरपालिकाले केही समय बजार क्षेत्रमै सशुल्क पार्किङ व्यवस्थापन गरेको थियो । नगरपालिकासँगको सहकार्यमा केही समय सहारा नेपालले बजार क्षेत्रमै सशुल्क पार्किङ बनाएको थियो । तत्कालीन समयमा बजार क्षेत्रको मुख्य भाग मंगलगढीचोकदेखि वीरेन्द्रचोकसम्म सवारीसाधनहरु पार्किङ गर्दा शुल्क लिने गरिएको थियो । तर बजारका स्थानीय र व्यापारीहरुले पार्किङस्थल सञ्चालनमा अवरोध गरेका थिए । व्यवसायीहरुले पसल अगाडि सवारी साधन पार्किङ गराउँदा व्यापार नभएको भन्दै पार्किङ वन्द गराएका थिए ।

तत्कालीन समयमा पार्किङस्थलकै कारण व्यापारमा घाटा लाग्यो भन्दै केही व्यापारीहरुले सुर्खेत उद्योग वाणिज्य संघमा उजुरी दिएका थिए । पार्किङस्थलका कारण विवाद बढ्न थालेपछि एक महिना नपुग्दै सशुल्क पार्किङस्थल बन्द गरिएको थियो । पछि उद्योग वाणिज्य संघ, नगरपालिका र जिल्ला ट्राफिक प्रहरीको समन्वयमा बजार क्षेत्रमा दुरी कायम गरेर दाया र बाँयाँ साइडमा निशुल्क पार्किङ गर्न पाइने व्यवस्था गरिएको थियो ।

आकाशेपुलको योजना अलपत्र

सवारी साधनको दुर्घटना न्यूनिकरण र ट्राफिक व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले वीरेन्द्रनगरका तीन स्थानमा निर्माण गर्ने भनिएका आकाशेपुलको योजना अलपत्र परेको छ । रकम अभावका कारण आकाशेपुलको योजना अलपत्र परेको हो । ‘आकाशे पुल निर्माणका लागि सम्भाव्यता अध्ययन गरेर प्रदेश सरकारसँग रकम माग गरेका थियौं, तर बजेट प्राप्त हुन सकेन’ वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले भने, ‘बजेट अभावका कारण तत्कालै आकाशेपुल बन्ने सम्भावना छैन ।’

चालु आर्थिक वर्षमा बजेट नभए पनि आगामी बर्षमा आकाशेपुल निर्माण कार्य अघि बढ्ने ढकालले बताए । वीरेन्द्रनगरका बजार क्षेत्रमा हुने सवारी साधन दुर्घटनाको दीर्घकालीन समाधानको लागि आकाशेपुल अनिवार्य रहेको उनको तर्क छ । पैदल यात्रुलाई मुख्य स्थानहरुमा आवतजावत गर्न सहज तथा दुर्घटना कम गराउन आकाशेपुल अनिवार्य जस्तै भइसकेको छ ।अहिले बढ्दो जनघनत्व, सवारी साधनको चापमा बृद्धि, साँघुरा सडकका कारण पैदल यात्रुलाई सकस हुँदै आएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले वीरेन्द्रनगरका आधा दर्जन बढी ठाउँलाई सम्भावित जोखिम स्थल भनेर पहिचान गरेको छ ।

वीरेन्द्रचोक, मंगलगढीचोक, एरीचोक, बाँगेसिमल, एयरपोर्ट चोकलगायतलाई बढी जोखिमस्थल भनेर पहिचान गरेको छ । यता जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले पनि बढ्दो दुर्घटना न्यूनीकरणका लागि सर्वसाधारणको बढी चहचलपहल हुने स्थानहरुमा आकाशपुलको बनाउनुपर्ने जनाएको छ । वीरेन्द्रनगरका मुख्य चौकमा आकाशेपुल भए दुर्घटनामा कमी आउने सुर्खेतका ट्राफिक प्रहरी इन्चार्ज प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यले बताए । उनले वीरेन्द्रनगर प्रदेशकै सवैभन्दा ठूलो शहर भएको र दुर्घटना पनि बढी हुने हुँदा अब सम्बन्धित निकायहरुले बढी चहलपहल हुने र दुर्घटना हुने स्थानहरुमा आकाशेपुलको आवश्यकता भएको तर्क गरे ।

वान–वे पनि अन्यौलमा

वीरेन्द्रनगरमा सवारी चाप र दुर्घटना न्यूनिकरणका लागि अगाडि सारिएको वान–वे अर्थात एकतर्फ मात्र सवारी आवागमनको योजना पनि अलपत्र परेको छ । एक बर्षअघि जिल्ला ट्राफिक प्रहरी कार्यालयले वीरेन्द्रनगरका केही सडकलाई वान–वे बनाउने तयारी थालेको थियो । तर ट्राफिक लाइन व्यवस्थापनमै रकम अभाव भएपछि वान–वे को योजना पनि अलपत्र परेको छ ।

प्रहरीले मंगलगढी चोकदेखी वीरेन्द्रचोकसम्म एकतर्फी सवारी साधनको आवागमन बनाउन वीरेन्द्रनगर नगरपालिका र जिल्ला प्रशासन कार्यालयसँग सहयोग मागेको थियो । सडकलाई वान–वे बजारका भित्री सडकबाट मुख्य बजार भएर गुड्ने गाडीहरु अनिवार्य वीरेन्द्रचोक भएर मात्र बाहिरिनु पर्ने, मंगलगढी चोक जान वीरेन्द्रचोकबाट घुमेर यरीचोक वा पिपल चौतारी, बुद्धपथ, गोदामलाइन भएर जानुपर्ने, सवारी साधनले हटियालाइन, सिर्जना मेडिकल हलदेखि दक्षिणतर्फको बाटो, शनिहललाइन, वुद्धपथबाट नेताचोक हुँदै बीच बजार भएर मंगलगढीतर्फ फर्कन नपाउने जस्ता योजना तयार गरेको थियो । तर हाल यो आयोजना अन्यौलमा परेको छ ।

वीरेन्द्रनगरमा सवारी चापको व्यवस्थापनः अदालतमा मुद्दा परेपछि रोकियो, पार्किङस्थल बनाउने योजना

कर्णालीलाई पराजित गर्दै लुम्बिनी सेमिफाइनल नजिक

वीरेन्द्रनगरमा सवारी चापको व्यवस्थापनः अदालतमा मुद्दा परेपछि रोकियो, पार्किङस्थल बनाउने योजना

थप ४८१ जनामा कोरोना पुष्टि, २४ घण्टामा

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds