विभेदविरुद्ध लड्न राजनीति रोजेकी चन्द्रा
टेकराज केसी
सुर्खेत, ४ असार ।
दैलेख नारायण नगरपालिका वडा नम्बर १ पुरानो बजारमा चन्द्राकुमारी नेपालीको २०३९ सालमा जन्म भयो । मध्यम परिवारमा जन्मिएकी चन्द्राका सात भाइबहिनी मध्ये उनी घरको कान्छो छोरी हुन् । कान्छो छोरी भएरै होला चन्द्राको बाल्यकाल सहजरुमा गाउँमै बित्यो । उनले आधारभुत तहसम्म शिक्षा दैलेखकै भाषा पाठशालाबाट लिइन । ६ कक्षादेखि त्रिभुवन मावि दैलेख बजारमा पढिन् । उनका दाई दिदीहरु जागिरे थिए ।
उनीहरुले चन्द्रालाई पढ्नलाई हौसलासँगै प्रेरणा दिइरहन्थे । विद्यालय तहको शिक्षा लिनेबेला उनले कुनै आरोह अवरोह खेप्नु परेन । पढाइ पनि राम्रै थियो, पढाइप्रति लगाव राख्ने चन्द्रा २०५६ सालमा एसएलसी उत्तीर्ण भइन । त्यतिबेला एसएलसी पास हुने महिलाहरु खासै हँुदैन्थे ।
एसएलसी पास भएको दिनमा चन्द्राको घरमा धेरै खुशियाली छाएको थियो । चन्द्रा भन्छिन्, ‘मेरो माइतीमा दाई भाउजुहरुले मेरो पढाइमा धेरै सहयोग गर्नुभएको हो । त्यतिबेला विद्यालय जाने छात्राहरु धेरै हुनुहुन्थेन । छोरीहरुलाई पढाउनु पर्छ भन्ने सोच समाजमा थिएन । तर मेरो माइती परिवारमा त्यस्तो सोच थिएन । विद्यालय तहको शिक्षा मैले सहजैसँग प्राप्त गर्ने अवसर पाएँ ।’
बिहेपछि पढाइलाई निरन्तरता
एसएलसी पासपछि चन्द्राको विवाह भयो । उतिबेला सानै उमेरमा बिवाह गराउने चलन थियो । त्यही चलनअनुसार चन्द्राको पनि विहे भयो । विवाहको चार वर्ष उनले आफ्नो पढाइ रोक्नुपरयो । आफ्नो पढाइ पुरा गर्ने उनको सोच पुरा हुन्न की भन्ने चिन्ता चन्द्रामा थियो । तर घरपरिवारको सहयोग उनले पाइन ।
‘मेरो रोकिएको पढाइलाई निरन्तरता दिन्छु भनेर एकदिन मैले घरपरिवारमा प्रस्ताव राखेँ,’ चन्द्रा भन्छिन्, ‘अनि श्रीमान र सासु ससुराले पढ्ने मान्छेले पढ्नुपर्छ भनेर हौसला दिनुभयो, अनि म वीरेन्द्रनगरको इत्राम स्कुलमा नाम लेखाएँ । अनि मेरो रोकिएको पढाइ फेरी सुुुरु भयो त्यतिबेला म निकै खुशी भएँ ।’
विवाहपछि पढ्न विद्यालय जाँदा गाउँ समाजमा अब विवाहपछि पनि के पढ्नुपर्यो ? घर व्यवहार गरेर बस्नुपर्छ भन्ने गरिन्थ्यो । तर चन्द्रा र उनको परिवारले त्यसको कुनै प्रवाह गरेँन । चन्द्रा जब १२ कक्षा पास भइन । समाजमा प्रशंसा बटुल्न थालिन । समाजका सार्वजनिक कार्यहरुमा चन्द्रलाई नै अगाडि सार्न थालियो ।
सामाजिक काममा सक्रिय हुने चन्द्राको चन्द्रा सानैदेखि विद्रोही स्वभावकी थिइन । कोही कसैमाथि भएको अन्याय उनलाई असह्य हुन्थ्यो । आफ्नो छिमेकमा होस् या विद्यालयमा उनले कसैमाथि अन्याय भए जाइलाग्नसमेत पछि पर्नुहुन्थेन । उनको स्वभाव देखेर विद्यालयका साथीहरुले समेत केही समस्या परेको खण्डमा उनलाई नै सुनाउथे ।
जब मन्दिरमा पस्न दिइएन…
धार्मिक आस्था अनुसार व्रत बस्ने चलनअनुसार एकदिन चन्द्रा र उनका दिदीबहिनीहरु दैलेखमा मन्दिरमा गए । मन्दिरका पुजारीले चन्द्रालाई चिन्थेनन् । पछि दलितको छोरीहरु भन्ने थाहा पाएपछि मन्दिर जुठो भयो भनियो । त्यतिबेला चन्द्राले सोचिन की हामी पनि यही समाजका मानिस हौँ, हामीलाई मन्दिरमा पुजा गर्न नदिइनुको कारण केहो ? उनले पुजारीसँग सोधिन ।
पुजारीले गैरजिम्मेवार जवाफ दिएपछि समाजमा रहेको यो सोचलाई अब परिवर्तन गर्नैपर्छ भनेर चन्द्राले योजना बनाइन । त्यही योजना अनुसार उहाले दैलेखका अगुवा नागरिकहरुसँग मिलेर जातीय विभेदविरुद्धको अभियानमा सामेल भइन ।
उनी सानैदेखि विद्रोही स्वभावकी थिइन । उनलाई घरपरिवार गाउँसमाजमा कुनै विभेदको सामाना गर्नुपरेको थिएन । अरु केही दलितमाथि विभेद भएको सुनेकी थिइन । तर आफैले त्यस्तो भोगेको अनुभव थिएन । एकदिन भुर्तीको मन्दिर दर्शन गर्न पुगिन ।
त्यहाँ नेवार समुदायको बाहुल्यता धेरै थियो, पुजारीले चिनेनन् अनि पुजा गरेर बाहिर निस्किएपछि कसले पुजारीलाई भनिदिएछ, दलितका छोरीहरु छिरे भनेर । चन्दा भन्छिन्, ‘मन्दिर जुठो भयो भनियो । त्यसले मलाई समाज रुपान्तरणको अभियानमा लाग्नुपर्ने अवस्था सिर्जना गर्यो । अनि केही अगुवाहरुसँग मिलेर त्यो छुवाछुतविरुद्ध माफी समेत मगाइयो भने यसका विरुद्ध सचेतनाका कार्यक्रमहरुमा समेत चलायौँ ।’
राजनीतिमा प्रवेश
चन्द्रा विद्यालय शिक्षादेखि नै राजनीतिमा चासो राख्थिन । अझै भनौँ सामाजिक कार्य गर्नु उनको रुचिको विषय थियो । उतिबेला छोरीहरुलाई नपढाउने, जातीय आधारमा विभेदका घटनाहरु हुने यी सबै उहाँले परिवर्तन गर्नुपर्छ भन्ने सोच राख्थिन । आफैपनि मन्दिरमा पुजा गरेको निहुँमा परेको विभेदले उनलाई राजनिती गर्नुपर्छ भन्ने सोच जगायो । कही कतै कोही व्यक्ति अन्यायमा परेँ त्यसको प्रतिकारमा उनी उत्रिनु हुन्थ्यो ।
उनको विवाहपछि उनले केही वर्ष छोराछोरी हुर्काउन र रोकिएको पढाइलाई पुरा गर्न लागिन । सँगै उनले सामाजिक कार्यहरु पनि गर्थिन । छिमेकका दिदीबहिनीहरु पनि उनलाई अगाडि सारेर सामाजिक काममा अगुवाइ गर्न पठाउथे । चन्द्रा भन्छिन्, ‘म बिवाहपछि पनि सामाजिक कार्यमा सक्रिय थिएँ, केही सामुहिक काम परेको खण्डमा मलाई अगाडि लगाइन्थ्यो ।
मैले पनि सामुहिक भावना समेटिनेगरी काम गर्थे । टोलका विकासका काम हुन अथवा महिला अधिकारका सवालहरुमा म सधैं अगाडि सर्थेँ । सबैले मेरो विश्वास मान्दै जानुभयो, अनि मेरो श्रीमान र घर परिवारले पनि मलाई धेरै सहयोग गर्नुभयो ।’
सरकारले २०७४ सालमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गर्यो । २० वर्षपछि हुन लागेको निर्वाचनको माहोल धेरै तात्तिएको थियो । सधै सामाजिक कार्यमा सक्रिय रहने चन्द्रालाई पनि निर्वाचनमा लड्न अगाडि सारियो । उनको रुचीको क्षेत्र पनि भएकाले वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ७ को जनप्रतिनिधि हुन तयार भइन । उनको घरपरिवारले पनि निर्वाचनमा होमिन सहयोग गर्ने बताएपछि उनी जनप्रतिनिधि हुन तयार भइन ।
उनले कांग्रेसबाट सहजै रुपमा टिकट पाइन । अनि निर्वाचनबाट भारी मतका साथ वडा सदस्यमा निर्वाचित भइन । सुरुमा त जनप्रतिनिधि हुँदा कसरी काम गर्ने भन्ने त्यति थाहा नपाएकी उनले विस्तारै अनुभव विभिन्न सिकाइबाट थाहा पाइन । अनि उनले टोलको समस्या समग्र समस्याको पहिचना र समाधानमा पहल थालिन ।
त्यति मात्रै नभएर दलित, महिला र पछाडि पारिएका समुदायको लागि काम गर्ने गरेकी छिन । ‘वडा अध्यक्षसँग पनि समन्वय र सहकार्य राम्रो बनाउने गरेको छु । वडा कार्यवाहक जिम्मेवारी समेत पाउँछु भने मैले राखेका प्रस्तावहरुको राम्रो सुनुवाइ हुन्छ,’ चन्द्रा भन्नुहुन्छ ।
वडाध्यक्ष बन्ने चाहना
जनताको मन जितेरै होला, उनी २०७९ को निर्वाचनबाट समेत दोस्रो कार्यकालको लागि जनप्रतिनिधि दोहोरिएकी छन् । उनलाई पार्टीमा समेत सम्मानजनक स्थान दिइएको छ । उनी अहिले नेपाली काँग्रेस सुर्खेतको जिल्ला कमिटी सदस्य समेत छन् । तर राजनीतिक दलहरुले समग्रमा महिलाहरुलाई खासै अवसर नदिने गरेको भन्दै यसलाई परिवर्तन गर्नुपर्ने बेला आएको उनी बताउँछिन ।
उनी पहिलो कार्यकालको अनुभवसँगै अष्टे«लियन सरकार र द एसिया फाउन्डेसनको स्थानीय सबलीकरण कार्यक्रमको आर्थिक सहयोगमा दलित महिला केन्द्रले दिँदै आएको क्षमता विकास तालिमले अझै काम गर्न र अगाडि बढ्न सहज बनाएको बताउँछिन् ।
‘हामीजस्ता दलित महिला जनप्रतिनिधिहरुको लागि सीडब्लुएनले धेरै कुरा सिकाउनुभएको छ, यसले गर्दा झनै वडामा काम गर्न र योजनाहरु बनाउन मात्रै होइन, अगाडि बढ्ने साहस समेत बढेको छ ।’ दुई कार्यकाल वडा सदस्य भइसकेकी चन्द्राले आगामी निर्वाचनमा समेत सामेल हुने योजना बनाएकी छन् । उनले आगामी कार्यकालमा वडा अध्यक्षमा दाबी रहेको बताइन । राजनीतिबाटै उनीको नीति निर्माण तहमा पुगेर सामाजिक सोच परिवर्तन गर्दै समतामुलक समाज निर्माण गराउने आगामी योजना छ ।