जुम्लामा दुई किसानका २० भेडा मरे, लाखौंको क्षति
गोल्डेन बुढा
जुम्ला,४ जेष्ठ
जुम्लाको गुठिचौर गाउँपालिका–२, झुलेनीमा चट्याङले दुई जना किसानका २० वटा भेडा मरेका छन्। शनिबार साँझ करिब पाँच बजे परेको चट्याङले हिरबहादुर ऐडीका १६ वटा र धनकृष्ण रोकायाका ४ वटा भेडा मारेको हो।
स्थानीय विरेन्द्र बोहोरा अनुसार, पानी परेका बेला किसानले भेडालाई रुखमुनि ओतमा राखेका थिए। सोही क्रममा चट्याङ खस्दा भेडा घटनास्थलमै मरेका हुन्।
पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द्रसिंह बुढ्थापाले किसानको ठूलो क्षति भएको पुष्टि गरे। उनका अनुसार हिरबहादुरका ५० र रोकायाका ३० वटा भेडाबाख्रामध्ये चट्याङले गरी २० वटा मारेको हो।
भेडाको न्यूनतम मूल्य १५ हजारदेखि २५ हजार रुपैयाँसम्म पर्ने भएकाले हिरबहादुरको झण्डै २ लाख ४० हजार रुपैयाँ र रोकायाको ६० हजार रुपैयाँ बराबरको क्षति भएको छ।
किसान हिरबहादुर ऐडीले भने, “यही पेसाबाट घरखर्चदेखि छोराछोरीको पढाइ खर्च चल्दै आएको थियो। अब अन्य आयस्रोत नभएको अवस्थामा राहतको आवश्यकता छ। सम्बन्धित निकायसँग सहयोगको अपिल गर्दछु।”
गुठिचौर गाउँपालिकाको पूर्वी क्षेत्र जिल्लामै बढी भेडापालन हुने ठाउँका रूपमा चिनिन्छ। गाउँमा १७५ घरधुरीमध्ये १०० भन्दा बढी परिवारले भेडाबाख्रा पाल्ने गर्छन्। हाल करिब ३ हजार ५ सयभन्दा बढी भेडाबाख्रा रहेका छन्।
वडाध्यक्ष दीपबहादुर ऐडीले स्थानीय सरकारबाट हुने सम्भावित सहयोगमा कन्जुस्याइँ नगर्ने बताउँदै गाउँपालिकाको विपद् व्यवस्थापन शाखामा घटना राखिने आश्वासन दिएका छन्।
पशु सेवा कार्यालयका अनुसार, पाटन र खर्कमा व्यवस्थित भेडीगोठ नहुँदा हरेक वर्ष यस्ता घटना दोहोरिने गरेका छन्। सम्बन्धित निकायले दीर्घकालीन समाधानका लागि ध्यान दिनुपर्ने स्थानीयको माग छ।