कोहलपुरमा विट पत्रकारिता तथा आचारसंहिता सम्बन्धी तीन दिने तालिम सुरु

बाँके ,४ जेष्ठ ।

सञ्चारकर्मीहरुको पेशागत दक्षता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा तथा कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा विट पत्रकारिता तथा पत्रकार आचारसंहिता विषयक तीन दिने तालिम आइतबारदेखि कोहलपुरमा सुरु भएको छ।

उक्त तालिमको उद्घाटन कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले गर्नु भएको हो। उद्घाटन सत्रमा बोल्दै उहाँले पत्रकार महासंघसँगको संस्थागत सहकार्यका लागि पालिका प्रतिबद्ध रहेको जनाउनु भयो। सञ्चारकर्मीहरुलाई आग्रह र पूर्वाग्रहबाट मुक्त रहेर पत्रकारिता गर्न सुझाव दिँदै उहाँले भन्नु भयो, “जनप्रतिनिधिलाई खबरदारी गर्नु तपाईहरूको कर्तव्य हो, तर आग्रह वा पूर्वाग्रहबाट सञ्चार गरेमा पत्रकारिताको मूल मर्मबाट विचलन हुन सक्ने खतरा रहन्छ।”

प्रमुख आचार्यले कोहलपुर नगरपालिकाभित्र सञ्चार क्षेत्रको विकास र सञ्चारकर्मीको हौसला अभिवृद्धिका लागि सञ्चार नीति निर्माणको अन्तिम चरणमा रहेको जानकारी समेत दिनु भयो।

त्यसैगरी तालिम उद्घाटन गर्दै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईंले पछिल्लो समय विट पत्रकारिताप्रतिको आकर्षण बढेको उल्लेख गर्दै, “विट पत्रकारिता पेशागत दक्षता विकासको महत्वपूर्ण आधार बन्न सक्छ,” भन्नु भयो। साथै, पेशागत आचारसंहिताको पूर्ण पालना गर्न सम्पूर्ण पत्रकारलाई आग्रह गर्नुभयो।

महासंघ बाँके अध्यक्ष नवीन गिरीले पत्रकारिता अनुशासनसहितको अभ्यास हुनुपर्नेमा जोड दिनु भयो। “पत्रकारहरुले कतिपय अवस्थामा आफ्नो पेशागत सीमारेखा नाघ्दा समस्या देखिन्छ,” भन्दै गिरीले यस्ता तालिमहरुले पेसागत जीवन सहज बनाउने विश्वास व्यक्त गर्नुभयो।
तालिमको पहिलो दिन लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईंले पत्रकार आचारसंहिता, कालपृष्ठ दैनिकका सम्पादक कमल खत्रीले खेलकुद विट तथा कान्तिपुरकी पत्रकार रुपा गहतराजले मिडियामा महिला मुद्दा विषयमा सहजीकरण गर्नुभएको थियो।

तीन दिनसम्म चल्ने तालिमले कोहलपुरका पत्रकारहरुलाई पेशागत दक्षता र नैतिकताको सुदृढीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
तालिममा महासंघ बाँकेका सचिव कृष्ण ओलीले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रम सहसचिव भगतराम थारुले सञ्चालन गर्नु भएको थियो।

 

Leave a comment

Your email address will not be published. Required fields are marked *