कर्णालीमा कोरोना संक्रमण ख्यालख्यालमै भयाभहको संकेत

सुर्खेत । पछिल्लो समय कोरोनाको त्रास छैन । सामाजिक दुरी र स्वास्थ्य मापदण्ड अपनाउन छोडिएको छ । दलहरुले गाउँ–गाउँमा भेला, सम्मेलन र भेटघाटलाई तीब्र पारेका छन् । बजार क्षेत्र र कार्यालयहरुमा सेवाग्राहीको भिडले कोरोनाकाल अन्त्य भएको महसुस गराउँछ ।
यद्यपी प्रशासनको निषेधाज्ञा भने बैशादेखि नै जारी छ । सामाजिक दुरी र मास्कको अनिवार्य प्रयोग गर्न प्रशासनको औपचारिक आग्रह रोकिएको छैन । कार्यान्वयन भने ठिक उल्टो छ । कोरोनाप्रति नागरिकले गरेको वेवस्था हेर्दा लाग्छ, दैनिकी सामान्य अवस्थामा फर्कि सकेको छ । तर वास्तविकता त्यस्तो छैन ।
कोरोना संक्रमणको दर रोकिएको छैन । बरु भुसको आगो जस्तै गरेर कोरोना संक्रमण भयाभहको अवस्थामा पुगिसकेको छ । किनकी पछिल्लो हप्ता दिनमा मात्रै कर्णाली प्रदेशमा झण्डै पाँचसय संक्रमित थपिएका छन् ।
तथ्याङ्क अनुसार भदौं ४ गते एकसय आठजना, ५ गते ४४ जना, ६ गते १५ जना, ७ गते ३५ जना, ८ गते ८० जना संक्रमित थपिएका हुन् । त्यस्तै भदौं ९ गते ७० जना, १० गते ५१ जना र ११ गते (शुक्रबार) ७१ संक्रमित थपिएका छन् ।
संक्रमणको तथ्याङ्कलाई हेर्दा ख्यालख्यालमै कोरोना संक्रमण भयाभह हुने संकेत देखिएको छ । एक हप्तामै प्रदेशभर सातसय ५० जना संक्रमित थपिएका छन् । संक्रमित थपिएका मात्रै होइनन् अस्पतालहरुमा उपचारका लागि जानेको संख्या भने बृद्धि हुँदै गएको छ ।
तथ्याङ्क अनुसार शुक्रबारसम्म ५७ जना संक्रमित प्रदेशका विभिन्न अस्पतालमा उपचाररत छन् । जसमध्ये प्रदेश अस्पताल सुर्खेतमा १० जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा १९ जना र बाँकी २८ जना विभिन्न जिल्ला अस्पतालहरुमा जटिल प्रकृतिका संक्रमितले उपचार गराई रहेका छन् ।
सुर्खेतमा १४ प्रतिशतले मात्र पूर्ण खोप
यसैबीच सुर्खेतमा हालसम्म १४ प्रतिशत नागरिकले कोरोना विरुद्धको पूर्ण खोप पाएका छन् । अनुमानित चार लाख २३ हजार जनसंख्यामध्ये हालसम्म १४ प्रतिशतले कोरोना बिरुद्धको खोपको पूर्णमात्रा पाएका छन् ।
शुक्रबार जिल्ला जनस्वास्थ्य कार्यालयले प्रस्तुत गरेको तथ्याङ्क अनुसार पहिलो र दोस्रो गरेर एकलाख २६ हजार चारसय ८५ जनालाई कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । जसमध्ये ५९ हजार नौसय ९७ जनाले पहिलो र दोस्रो गरेर पूर्ण मात्रा खोप लगाएका छन् । बाँकी ६८ हजार चारसय ८९ जनाले पहिलो मात्राको खोप मात्र प्राप्त गरेका छन् ।
तथ्याङ्क अनुसार २७ हजार दुईसय ९६ जनालाई कोभिशिल्ड खोपको पहिलो डोज लगाईएकोे जनस्वास्थ्य कार्यालयका सुचना अधिकारी गणेश गौतमले जनाए । जसमध्ये आठहजार पाँचसय ८९ जनाले मात्रै पहिलो र दोस्रो दुबैगरी पूर्ण मात्राको खोप लगायका छन् ।
त्यस्तै ४७ हजार पाँचसय ५७ जनालाई कोरोना बिरुद्धको भेरोसेल खोप लगाईएको छ । जसमध्ये ३५ हजार तीनसय ९७ जनाले पहिलो मात्रा लगाएका छन् । तिमध्ये पनि १२ हजार एकसय ६० जनाले दुबै मात्राको खोप लगाएका छन् ।
यस्तै २२ हजार सातसय ५२ जनाले जोनस एण्ड जोनसन खोप लगाएका छन् । २० हजार दुईसय ९१ जनालाई आस्ट्राजेनेका खोप लगाईएकोमा पाँच हजार सात ९६ जनाले पहिलो मात्रा लगाएको हुन् । आस्ट्राजेने पनि १४ हजार चारसय ९५ जनाले पहिलो र दोस्रो दुबै मात्राको खोप लगाएका छन् । यसरी समग्रमा कुल १४ प्रतिशत नागरिकले मात्रै कोरोना बिरुद्धको खोप लगाएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
नाकामा पुनः हेल्थडेष्क सञ्चालन गर्ने तयारी
यस्तै कर्णाली प्रदेश सरकारले नाकाहरुमा पुनः हेल्थ डेष्क सञ्चालनमा ल्याउने तयारी गरेको छ । प्रदेश भित्रिने प्रमुख नाकामा हेल्थ डेस्क सञ्चालन र परीक्षण गर्ने तयारी भइरहेको प्रदेश सरकारले जनाएको छ । सल्यानको कपुरकोट तथा सुर्खेतको बबई र कुइने गरी तीनवटै नाकामा प्रदेश सरकारले स्वास्थ्य चेकजाँच र अस्पताल सञ्चालन गर्ने तयारी गरेको हो ।
चाडपर्व नजिकिएसँगै मौसमी रोजगारीमा गएकाहरुदेखि वैदेशिक रोजगारीमा गएका नागरिकहरु फर्कने थालेका छन् । नागरिकहरु स्वदेश फर्कदा संक्रणको जोखिम बढ्ने भन्दै नाकामा हेल्थ डेष्क सञ्चालन गर्ने तयारी गरिएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निमित्त निर्देशक डाक्टर रविन खड्काले जनाए ।
तीज दशैं–तिहार लगायतका चाडपर्वमा भारत गएका नागरिकहरु फर्कने क्रम सुरु भएकाले त्यस्ता नागरिकलाई सीमा नाकामै चेकजाँच गरेरमात्रै प्रदेश भित्र्याउने सरकारको योजना छ । यसअघि सरकारले प्रदेशभर एकसय १४ भन्दा बढी हेल्थ डेस्क स्थापना सञ्चालन गरेको थियो ।
कोरोनाको तेस्रो लहरसँग जुध्न प्रदेश सरकारले कोरोना नियन्त्रण तथा रोकथामका लागि गरिने परीक्षण, उपचार र प्रतिकार्यका लागि मात्रै ५३ करोड ९८ लाख रुपैयाँ बजेट छुट्याएको छ । त्यस्तै कोरोनाकालमै स्वास्थ्य प्रणालीको सुदृढीकरण गरी गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चितताका लागि चालु आर्थिक बर्षमा दुई अर्ब ६१ करोड रकम छुट्याइएको छ ।
आठसय अक्सिजन सिलिन्डर तयारी अवस्थामा
यस्तै कर्णाली प्रदेश सरकारले आठसयबढी अक्सिजन सिलिन्डर र तीनसय कन्सनटे«टर तयारी अवस्थामा राखेको छ । कोरोनाको तेस्रो हलरलाई मध्ये नजर गर्दैै अक्सिजन सिलिन्डर र कन्सनटे«टर तयारी अवस्थामा राखेको हो । दोस्रो चरणमा प्रदेशले अक्सिजनको ठूलो हाहाकार झेलेको थियो ।
यही कारण तेस्रो लहर आउनु अघि नै सिलिन्डर तयारी अवस्थामा राखिएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । प्रदेशभर हाल ६ वटा अक्सिजन प्लान्ट स्थापना भएका छन् ।
हाल प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र चौरजहारी सामुदायिक अस्पतालमा ठूला क्षमताका अक्सिजना प्लान्ट सञ्चालनमा छन् । यस्तै जुम्ला, सुर्खेत र कालीकोटमा तीनवटा ठुला अक्सिजन प्लान्ट निर्माण नगरिने तयारी छ ।






