छोटा फिल्म प्रतिस्पर्धामा १०८ स्क्रिप्ट छनौट

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालको आयोजना रहेको ले ‘म केही गर्छु’ शीर्षकको छोटो फिल्म प्रतिस्पर्धामा १०८ स्क्रिप्ट छनौट भएका छन् । प्रतिस्पर्धामा प्राप्त एकसय १५ स्क्रिप्ट मध्ये १०८ फिल्म बनाउन उपयुक्त भनेर छानिएका हुन् ।
छनौटमा परेको स्क्रिप्टमा फिल्म बनाउनेहरूको लागि एक दिने ओरेन्टियसन कार्यक्रम समेत आयोजना गरिएको छ । हालै चलचित्र विकास बोर्डको हलमा छनोट भएका स्क्रिप्टका लेखकलाई युवा संघले विज्ञहरुलाई सहभागी गराएर फिल्म बनाउने ओरेन्टियसन कक्षा समेत गराएको छ ।
सो अवसरमा कार्यक्रममा निर्देशक मिन भाम, छायाँकार विष्णु कल्पित, नेपाल फिल्म कलेजका प्रिन्सिपल शिशिर उप्रेती, फिल्मकर्मी अर्जुन देव जोशीले सहभागीहरुलाई फिल्म निर्माण सम्बन्धी विभिन्न जानकारी दिएका थिए ।
कार्यक्रमको सहजीकरण चलचित्र पत्रकार संघ नेपालका महासचिव समिर बलामीले गरेका थिए । कोरोनाको कारण घरमै रहेका युवाहरुको समयको सदुपयोगका लागि छोटो फिल्म स्पर्धा आयोजना गरिएको राष्ट्रिय यूवा संघ नेपाल उपाध्यक्ष क्षितिज थेवेले बताए ।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, युवा संघ नेपालका उपाध्यक्ष पुष्पराज श्रेष्ठ, उर्मिला सुनुवार, अशोक चौलागाईं, महासचिव रमेश आचार्यलगायत थुप्रैले छोटो फिल्मको महत्वको विषयमा प्रकाश पारेका थिए ।
छानिएका स्क्रिप्टले उद्यमशीलता र रोजगार, पर्यटन, कृषि तथा उद्योग, राजनीति र सुशासन, शिक्षा, स्वास्थ्य, खेलकुद, लैंगिक समानता र विविधता, कला संस्कृति र मनोरञ्जन लगायतका विषयमा बढीमा ५ मिनेटसम्मको छोटा फिल्म बनाउनुपर्नेछ ।
छानिएका स्क्रिप्टबाट छोटो फिल्म निर्माण गरि युवा संघ नेपाललाई बुझाउनुपर्नेछ । त्यसरी बुझाइएका फिल्म मध्येबाट छानिएका उत्कृष्ट तीनमध्ये प्रथम २ लाख ५० हजार, दोश्रो हुनेलाई १ लाख ५० हजार र तेश्रो १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । उत्कृष्ट तीनसहित ५ फिल्मलाई एक समारोह बीच विशेष प्रदर्शनी गरिने आयोजक जनाएको छ ।






