आगलागीबाट एक हजार स्याउका बिरुवा नष्ट
जुम्ला, २७ माघ । जुम्लाको तातोपानी गाउँपालिको– १ स्थित तरापी लेकमा आगलागी हुँदा एक हजार स्याउका बिरुवा जलेर नष्ट भएका छन् । सो वडाका चार स्थानीय बासिन्दाका करीब एक हजार स्याउका बिरुवा आगलागीबाट नष्ट भएको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए । यहाँका स्थानीयवासीले दुःख गरेर हुर्काएका बिरुवा आगोले खाएपछि किसान चिन्तित भएका वडाध्यक्ष पे्रमबहादुर कठायतले बताए । उनले भने, ‘पानीको चरम अभाव भएको सो वडाको तरापी गाउँका किसानले बोकेरै सिँचाइ गरेर हुर्काएका एक हजार बढी स्याउका बिरुवा नष्ट भएका छन् ।’ गाउँका चार जना किसानको बगैँचामै आगलागी भएको छ ।


छिट्टै कार्यपालिकाको बैठकबाट निर्णय गरी राहत उपलब्ध गराउने गाउँपालिकाले जनाएको । आगलागीबारे अनुसन्धान भइरहेको वडा कार्यालयले जनाएको छ । आगलागी हुँदा नौ लाख क्षति पाल्पाको रैनादेवी छहरा गाउँपालिका– ४ बस्ने युवराज रजालीको फर्निचर उद्योगमा आगलागी हुँदा नौ लाख बराबरको क्षति भएको छ । रजालीको एकतले जस्तापाताको छानो भएको कच्ची फर्निचर उद्योगमा अचानक आगलागी भएको प्रहरीले जनाएको छ । सोमबार बिहान करीब ४ः३० बजेको समयमा लागेको आगो बिहान ५ः५० बजे इलाका प्रहरी कार्यालय मुझुङ पाल्पाबाट खटिएको प्रहरी टोलीले आगो नियन्त्रणमा लिएको हो । आगलागीबाट फर्निचरभित्र रहेका मेसिन, काठ, तयार भएका फर्निचर तथा प्लाइउडलगायतका सामान जलेर पूर्णरुपमा नष्ट भएको छ । विद्युत् सर्ट भई आगलागी भएको हुनसक्ने अनुमान प्रहरीको छ । घटनाबारे भने थप अनुसन्धान भइरहेको छ ।