‘छोरीलाई दया भाव नभई अवसर चाहिएको छ’

सुर्खेत, १७ जेठ ।
रुकुम पश्चिमकी छोरी विजया पुन मगरले छोरीहरूलाई दयाको भाव नभई अवसर आवश्यक रहेको बताएकी छन् । श्री ज्योति फाउन्डेसनको आयोजनामा शनिबारदेखि जारी कर्णाली छोरी सम्मेलनको दोस्रो संस्करणको दोस्रो दिन छोरिका मनका कुरा सत्रमा बोल्दै उनले शिक्षा, स्वास्थ्य, नेतृत्व विकास र सुरक्षाको सुनिश्चितता गर्न सरकारसँग गम्भीर हुनुपर्ने बताइन । उनले अझै पनि कतिपय स्थानमा महिनावारी, बालविवाह, छुवाछुत र यौन दुर्व्यवहारजस्ता समस्याहरू कायम रहेको उल्लेख गर्दै अभिभावक तथा समुदायको चेतना अभिवृद्धिमा जोड दिइन् ।
यस्तै सत्रका अर्का वक्ता हिरा राउतले रुकुम पश्चिममा शिक्षाको पहुँच विस्तार भए पनि गरिबी, घरायसी जिम्मेवारी र असमान अवसरका कारण धेरै छोरीहरू अझै गुणस्तरीय शिक्षाबाट वञ्चित भइरहेको गुनासो गरिन । उनले सबै छोरीलाई समान अवसर उपलब्ध गराउन स्थानीय तहले गाउँ–गाउँमा पुगेर आवश्यकता पहिचान गर्नुपर्ने धारणा राखिन् । रुकुम पश्चिमकै हिरा कुसारीले छोरीहरूलाई सक्षम बनाउन सबैभन्दा पहिले समाजको सोच परिवर्तन हुनुपर्ने बताइन् । छोरी र बुहारीबीच हुने विभेद, महिलामाथि हुने हिंसा तथा असुरक्षाका घटनाले आत्मविश्वास कमजोर बनाउने भन्दै उनले चेतनाको विकास, पारिवारिक सहयोग र सरकारी लगानीलाई सशक्तीकरणको आधार मानिन् । ‘छोराले गर्न सक्ने काम छोरीले पनि गर्न सक्छ भन्ने सोच स्थापित हुनुपर्छ,’ उनले भनिन् । वक्ता सुशान्त शाहले रुकुम पश्चिममा महिनावारीसम्बन्धी विभेद पहिलेको तुलनामा कम भए पनि अझै भान्छामा प्रवेश निषेध गर्ने र छुट्टै भाँडा प्रयोग गराउने चलन कायम रहेको बताइन । उनले अशिक्षा र परम्परागत सोचका कारण छोरीहरूको शिक्षामा पनि विभेद हुने गरेको उल्लेख गरिन । लैङ्गिक विभेदबारे छलफलका क्रममा सहभागीहरूले कतिपय परिवारमा छोरालाई निजी विद्यालय वा बाहिर पढ्न पठाउने तर छोरीलाई गाउँकै विद्यालयमा सीमित गर्ने प्रवृत्ति अझै विद्यमान रहेको बताएका थिए । अभिभावककै सोच परिवर्तन नभएसम्म विभेद अन्त्य हुन नसक्ने उनीहरूको निष्कर्ष थियो ।
सहभागीहरूले संविधानले महिलाको अधिकार, शिक्षा र सुरक्षाको व्यवस्था गरे पनि ती अधिकार व्यवहारमा पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको गुनासो गरे । छोरीहरूको आवश्यकता र स्थानीय समस्याका आधारमा नीति तथा कार्यक्रम निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्नुपर्ने उनीहरूको माग थियो ।






