विभेदविरुद्ध जुम्लाका छोरीहरूको प्रश्न

सुर्खेत ,१७ जेठ
वीरेन्द्रनगरमा जारी दोस्रो कर्णाली छोरी सम्मेलन अन्तर्गत आइतबार आयोजित ‘छोरीसँग मनका कुरा’ सत्रमा जुम्लाका छोरीहरूले दुर्गम क्षेत्रका शिक्षा, स्वास्थ्य, बालविवाह, लैङ्गिक विभेद र सामाजिक सोचका विरुद्ध आवाज उठाएका छन् । सत्रमा गुठीचौर गाउँपालिकाकी एलिसा चौलागाईंले जुम्लामा अझै पनि छोरीलाई पढाउन नहुने, छोरी पराइ घर जाने जात हो भन्ने पुरातन सोच विद्यमान रहेको बताइन । उनले परिवारको सकारात्मक सहयोग भए पनि समाजको दृष्टिकोण चुनौतीपूर्ण रहेको बताइन् । पातारासी गाउँपालिकाकी जमुना रावतले दुर्गम क्षेत्रमा बालविवाह अझै गम्भीर समस्या रहेको बताइन् । उनले छोरी जन्मिँदा निराशा र छोराको जन्ममा खुसी मनाउने प्रवृत्ति अझै कायम रहेको उल्लेख गर्दै छोरीको अस्तित्व र पहिचानप्रति समाजले समान दृष्टि राख्नुपर्ने आवश्यकता औँल्याइन् । उनले छोरीहरू आत्मनिर्भर बन्न शिक्षा नै मुख्य आधार भएको धारणा राखिन् । यस्तै, तिला गाउँपालिकाकी मेनका शाहीले सार्वजनिक स्थलदेखि विद्यालयसम्म छोरीहरूलाई हेर्ने दृष्टिकोण विभेदपूर्ण रहेको अनुभव सुनाइन् । उनले छोरीलाई कमजोर ठान्ने मानसिकता, असहयोगी टिप्पणी र सामाजिक अपमानका कारण आत्मविश्वासमा असर पर्ने बताए पनि छोरीहरू सक्षम भएरै अघि बढ्नुपर्नेमा जोड दिइन् । साथै स्थानीय तहका कार्यक्रमहरूमा बालबालिकाको सुझाव लिइए पनि कार्यान्वयन कमजोर रहेको उनको टिप्पणी थियो । हिमा गाउँपालिकाकी रिता शाहीले दुर्गमबाट सुर्खेतसम्मको आफ्नो यात्रा सहज नभए पनि परिवारको सहयोग र आत्मविश्वासले अघि बढ्न प्रेरणा दिएको बताइन् । उनले संघर्ष र कठिनाइबीच पनि शिक्षा र आत्मबलले सफलतामा पु¥याउने विश्वास व्यक्त गरिन् । सत्रमा सहभागी छोरीहरूले परिवारको सहयोगले आत्मविश्वास बढेको अनुभव सुनाएपनि सामाजिक कुसंस्कार, छाउपडी, बालविवाह र लैङ्गिक विभेद अझै जरा गाडेर बसेको गुनासो गरेका थिए । उनीहरूले नीति कागजमा मात्र सीमित नभई व्यवहारमा लागू हुनुपर्नेमा जोड दिए ।






