कालीकोटका छोरीहरू भन्छन्, ‘आत्मविश्वासले मात्र छोरीहरूलाई आत्मनिर्भर बनाउँछ’

सुर्खेत, १७ जेठ ।
वीरेन्द्रनगरमा जारी दोस्रो कर्णाली छोरी सम्मेलन अन्तर्गत आइतबार आयोजित ‘छोरीका मनका कुरा’ सत्रमा कालीकोटका छोरीहरुले शिक्षा, आत्मनिर्भरता, मानसिक स्वास्थ्य, सामाजिक विभेद र महिला सशक्तीकरणका विषयमा आफ्ना अनुभव र भोगाई व्यक्त गरेका छन् । सहभागीहरूले छोरीहरूलाई आत्मनिर्भर बनाउन शिक्षा, सीप, आत्मविश्वास र अवसरको समान पहुँच आवश्यक रहेको बताए ।
कालीकोटको रास्कोट नगरपालिकाकी दीपा बोहराले छोरी आत्मनिर्भर बन्नका लागि सर्वप्रथम आफैं सक्षम हुनुपर्ने बताइन । यसका लागि गुणस्तरीय शिक्षा र अवसरलाई मुख्य आधारका रूपमा उनले प्रस्तुत गरिन् । यस्तै, शुभकालिका गाउँपालिकाकी शान्ति चौलागाई र नरहरिनाथ गाउँपालिकाकी स्मृति बिष्टले पनि शिक्षा, सीप र आत्मविश्वासले मात्र छोरीहरूलाई आत्मनिर्भर बनाउन सक्ने धारणा राखे । सत्रमा बोल्दै तिलागुफा नगरपालिकाकी अस्मिता नेपालीले आफूले विभिन्न अभियान र कार्यक्रममा सहभागी हुने अवसर पाएको अनुभव सुनाउँदै अवसर केही व्यक्तिमा मात्र सीमित नभई सबै छोरीसम्म पुग्नुपर्ने बताइन् । उनले कालीकोटमा अझै पनि जातीय विभेद, छाउपडी र सामाजिक कुसंस्कार कायम रहेको उल्लेख गर्दै मेलापर्व र धार्मिक कार्यक्रममा दलित समुदायमाथि विभेद हुने गरेको तिता सत्य सुनाइन । शिक्षाको पहुँच बढे पनि व्यवहारमा परिवर्तन आउन अझै चुनौती रहेको उनको भनाइ थियो । सान्नीत्रिवेणी गाउँपालिकाकी प्रतिभा सन्ज्यालले बाल क्लब र सञ्जालमार्फत सामाजिक कुरीतिविरुद्ध अभियान सञ्चालन गर्दा परम्परागत सोचका कारण चुनौती सामना गर्नुपरेको बताइन् । छाउपडी, जातीय विभेद र छुवाछुतमा केही सुधार देखिए पनि पूर्ण रूपमा अन्त्य हुन नसकेको उल्लेख गर्दै उनले नयाँ पुस्ताले यी विकृतिहरू अन्त्य गर्न सक्ने विश्वास व्यक्त गरिन् ।
सत्रमा मानसिक स्वास्थ्य र एक्लोपनका विषयमा पनि छलफल भएको थियो । अधिकांश सहभागीहरूले आफूहरूलाई परिवारको साथ र सहयोग प्राप्त भएकाले मानसिक तनाव भोग्न नपरेको बताए । तर, समग्र रूपमा हेर्दा कालीकोटका धेरै किशोरीहरूले आफ्ना समस्या खुलेर परिवारसँग साझा गर्न नसक्ने अवस्था रहेको उनीहरूको धारणा थियो । समस्या लुकाउनुभन्दा विश्वासिलो व्यक्ति, साथी वा परिवारसँग खुला संवाद गर्नुपर्नेमा उनीहरूले जोड दिए । भविष्यको कर्णालीबारे आफ्नो कल्पना प्रस्तुत गर्दै सहभागीहरूले आगामी पाँच वर्षमा छाउपडी, जातीय विभेद, महिला हिंसा, बलात्कार र अन्य सामाजिक कुरीतिहरू अन्त्य भएको समाज देख्न चाहेको बताए । दुर्गम क्षेत्रमा गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, रोजगारी र अवसरको विस्तार हुनुपर्ने उनीहरूको अपेक्षा छ ।

कालीकोटका छोरीहरू भन्छन्, ‘आत्मविश्वासले मात्र छोरीहरूलाई आत्मनिर्भर बनाउँछ’

हुम्लाका छोरीहरूको आवाज : शिक्षा, स्वास्थ्य र

Leave a comment

Your email address will not be published. Required fields are marked *