डोल्पाका छोरीहरू भन्छन्– अवसर होइन, आधारभूत अधिकार देउ

सुर्खेत ,१७ जेठ ।
वीरेन्द्रनगरमा जारी दोस्रो कर्णाली छोरी सम्मेलन अन्तर्गत आइतबार आयोजित ‘छोरीका मनका कुरा’ सत्रमा डोल्पाका छोरीहरूले अवसर नभई आफुहरुका आधारभूत अधिकार सुनिश्चित हुनुपर्ने माग गरेका छन् । सत्रकी वक्ता त्रिपुरासुन्दरी नगरपालिकाकी कल्पना सार्कीले डोल्पामा शिक्षा र स्वास्थ्य सेवा अझै पहुँचबाहिर रहेको बताइन् । दलित समुदायकी छोरीका रूपमा आफूले सानैदेखि विभेद र अभाव भोग्दै आएको उल्लेख गर्दै उनले विद्यालय पुग्न घण्टौँ हिँड्नुपर्ने, आधारभूत स्वास्थ्य सेवा समेत सहज रूपमा उपलब्ध नहुने अवस्था अझै कायम रहेको बताइन् । प्राविधिक शिक्षा अध्ययनका लागि जुम्ला पुग्न तीन दिनसम्म पैदल यात्रा गर्नुपरेको अनुभव सुनाउँदै उनले २१औँ शताब्दीमा पनि डोल्पामा आधारभूत पूर्वाधारको अभाव रहेको गुनासो गरिन् ।
यस्तै, ठूलीभेरी नगरपालिकाकी सोनु बुढाले सडक सञ्जालको अभाव डोल्पाका अधिकांश समस्याको जड भएको बताइन् । गर्भवती महिलालाई उपचारका लागि घण्टौँ डोको वा स्ट्रेचरमा बोकेर लैजानुपर्ने बाध्यता रहेको उल्लेख गर्दै उनले समयमै उपचार नपाउँदा धेरै महिलाले ज्यान गुमाउने गरेको बताइन् । विद्यालय टाढा हुँदा धेरै छोरीहरू पढाइबाट वञ्चित हुनुपरेको उनको भनाइ थियो । छाउपडी प्रथाबारे बोल्दै कल्पना सार्कीले महिनावारीलाई अझै अशुद्धताको दृष्टिले हेरिने र छोरीहरूलाई गोठमा बस्न बाध्य पारिने गरेको बताइन् । उनले महिलामाथिको हिंसा, असुरक्षा र छोराछोरीबीचको विभेद अझै गम्भीर समस्याका रूपमा रहेको धारणा राखिन् । सत्रकी वक्ता सोनु बुढाले पनि छाउपडीलाई अन्धविश्वास र लैङ्गिक विभेदको प्रतीक भन्दै यसको अन्त्य आवश्यक रहेको बताइन् । काइके गाउँपालिकाकी शारदा बुढाले आफ्नो क्षेत्रमा बाल्यकालमै विवाह तय गर्ने ‘तसिलाउने’ प्रथा अझै कायम रहेको बनाइन । यसले छोरीहरूको स्वतन्त्र निर्णय गर्ने अधिकार कुण्ठित गरेको भन्दै उनले शिक्षा र चेतनाको अभावले यस्ता प्रथा जीवित रहेको बताइन् । उनले दशकौँदेखि निर्माणाधीन भेरी करिडोर सडक समयमै सम्पन्न नहुँदा स्थानीय नागरिकले सास्ती खेप्नुपरेको गुनासो गरिन् ।
जगदुल्ला गाउँपालिकाकी छाया बस्नेतले विद्यालय र स्वास्थ्य संस्था भए पनि दक्ष जनशक्ति तथा औषधिको अभाव रहेको बताइन् । सडक र पुल नहुँदा सेवा प्रवाह प्रभावित भएको उल्लेख गर्दै उनले ग्रामीण बासिन्दा अझै धामीझाँक्रीको भर पर्नुपर्ने अवस्था रहेको बताइन् । मुड्केचुल्ला गाउँपालिकाकी सम्झना शाहीले डोल्पाका विद्यालयमा शिक्षाको गुणस्तर कमजोर रहेको, शिक्षकको नियमितता नहुने र छोरीमैत्री पूर्वाधारको अभाव रहेको बताइन् । उनले बालविवाह नियन्त्रण, छात्रवृत्ति, सीपमूलक तालिम, विद्यालयमा नर्सको व्यवस्था तथा छोरीहरूलाई आत्मनिर्भर बनाउने कार्यक्रम सञ्चालन गर्न सरकारसँग माग गरिन् ।






