‘अधिकार कागजमा होइन, व्यवहारमा चाहियो’

सुर्खेत, १७ जेठ ।
वीरेन्द्रनगरमा जारी दोस्रो कर्णाली छोरी सम्मेलन अन्तर्गत आइतबार आयोजित ‘छोरीका मनका कुरा’ सत्रमा जाजरकोटका छोरीहरूले अधिकार कागजमा नभई व्यवहारमा लागु हुनुपर्ने बताएका छन् । उनीहरुले शिक्षा, स्वास्थ्य, बालविवाह, लैङ्गिक विभेद, भूकम्पपछिको पुनर्निर्माण तथा आधारभूत सेवाको अभावलाई प्रमुख चुनौतीका रूपमा औल्याएका छन् । सत्रमा भेरी नगरपालिकाकी समिरा गौतमले जाजरकोटका धेरै बस्तीमा अझै पनि आधारभूत सेवा र पूर्वाधारको अभाव रहेको बताइन् । उनले कतिपय क्षेत्रमा छाउपडी प्रथा कायम रहेको, विद्युत् तथा सडक पहुँच कमजोर रहेको र २०८० सालको भूकम्पपछि विद्यालय भवनहरू ध्वस्त हुँदा विद्यार्थीहरू असुरक्षित टहरामा अध्ययन गर्न बाध्य भएको बताइन् । भूकम्पपछिको अस्थिरताले बालविवाहको जोखिम समेत बढेको उनको भनाइ थियो ।
शिवालय गाउँपालिकाकी विष्ना खत्रीले कर्णालीका छोरीहरूलाई चुलोचौकोमा सीमित राख्ने सोच अझै विद्यमान रहेको बताउँदै बालविवाह, लैङ्गिक विभेद र हिंसाविरुद्ध स्थानीय तहले सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याइन् । उनले छोरीहरूलाई नेतृत्व र निर्णय प्रक्रियामा सहभागी गराउनुपर्ने धारणा राखिन् । बारेकोट गाउँपालिकाकी सुरक्षा सिंहले आफ्नै विद्यालयका साथीहरू सानै उमेरमा विवाह गरेर पढाइ छाड्न बाध्य भएको अनुभव सुनाइन् । बालविवाहले किशोरीहरूको स्वास्थ्य, शिक्षा र भविष्यमा नकारात्मक असर पार्ने भएकाले यसको नियन्त्रणका लागि कडा कानुनी कार्यान्वयन आवश्यक रहेको उनको भनाइ थियो । यस्तै, भेरी नगरपालिकाकी सुप्रिया घर्ती मगरले भूकम्पपीडित परिवार अझै अस्थायी टहरामा बस्न बाध्य रहेको बताइन् । हावाहुरी र वर्षात्का कारण टहरामा बसोबास असुरक्षित बन्दै गएको उल्लेख गर्दै उनले पीडित परिवारलाई सुरक्षित आवासको व्यवस्था गर्न सरकारसँग माग गरिन् । कुसे गाउँपालिकाकी सुवेज्ञा खड्काले जाजरकोटमा शिक्षाको पहुँच बढे पनि गुणस्तरमा गम्भीर समस्या रहेको बताइन् । विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले आधारभूत पाठसमेत राम्रोसँग पढ्न नसक्ने अवस्था रहेको उल्लेख गर्दै उनले गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताइन् । उनले बालविवाह, स्वास्थ्य सेवा र यातायातको अभाव एकअर्कासँग जोडिएका समस्या भएको उल्लेख गर्दै दुर्गम क्षेत्रका गर्भवती महिलाले स्वास्थ्य सेवाको अभावमा जटिल समस्या भोग्नुपरेको अनुभव सुनाइन् ।






