कर्णाली शिक्षालय अस्तव्यस्त

जुम्ला, २४ फागुन ।
स्थापना भएयता कर्णाली प्राविधिक शिक्षालयमा २६ जना प्रमुख भएका र फेरिएका छन् । तर, शिक्षालयको मुहार फेरिएको छैन । नेपालको पहिलो कर्णाली प्राविधिक शिक्षालय निकै जीर्ण बनेको हो । यहाँका भौतिक संरचना भत्कने अवस्थामा पुगेका छन् । हिँड्ने बाटो उप्किएको छ । उचित घेराबार नहुँदा पशुबस्तु चरण क्षेत्र झैँ 
देखिन्छ । २०३० सालमा कर्णालीलाई प्राविधिक शिक्षाको केन्द्र बनाउने हेतुले स्थापना भएको यो शिक्षालय निकै भद्रगोल र अव्यवस्थित हुन पुगेको हो । अहिले पनि शिक्षालयमा खानेपानीको चरम अभाव छ। जसका कारण विद्यार्थी, शिक्षक र प्रशिक्षक दूषित पानी पिउन बाध्य छन् । ४० वर्ष पहिले बनेका भौतिक संरचना पुनःनिर्माण त के मर्मत समेत हुन सकेका छैनन् । चुहिने छानामा विद्यार्थी शिक्षक बस्न
र पढ्न बाध्य छन् । दरबन्दी अनुसारका शिक्षक पनि छैनन् । प्राविधिक शिक्षालयजस्तो महत्व बोकेको कर्णाली प्राविधिक शिक्षालय निकै छाडा र उजाड बनेको स्थानीय बताउँछन् । प्राविधिक शिक्षालयको मर्मत सम्भार र संरक्षणमा कसैको चासो पुगेको छैन । उनका अनुसार हरेक क्षेत्रको मुहार कोर्ने प्राविधिक जन्माउने यो
थलो अहिले उजाड हुन पुगेको छ । ‘भवनमा लगाएका चुना पुरानो भएको छ, भवन भत्किएका छन्, घेरबार नहुँदा शिक्षालय असुरक्षित छ, तर सरोकारवाला निकाय रमिते बनेर टुलुटुलु हेरिराखेको छ, यो जस्तो लाजमर्दो विषय अरू हुन सक्दैन,’ स्थानीय कर्णबहादुर भण्डारीले भने, ‘६ सय ५२ रोपनी क्षेत्रफलभित्र रहेको कर्णाली
प्राविधिक शिक्षालय निकै उदेकलाग्दो छ, विकासको प्रतिक्षा गरिरहेको अवस्थामा छ, शिक्षालयका शौचालय निकै फोहोर छन्, संघीयता आइसकेपछि प्राविधिक शिक्षालयको अवस्था गिर्दो छ ।’





