ओली समूहमा नलागेपछि नगर प्रमुखले हटाए कर्मचारी

जाजरकोट, २१ फागुन ।
जाजरकोटको भेरी नगरपालिकाले प्रधानमन्त्री केपी ओली समूहमा आवद्ध नभएको भन्दै तीन कर्मचारीलाई बर्खास्त गरेको छ । ओली समूहमा नलागेको भन्दै नगरपालिकामा कार्यरत एमआईएस अपरेटर पवन शर्मा, सरोज वली र सहायक चौथो पदमा कार्यरत भरतकुमार शर्मालाई मंगलबार बर्खास्त गरेको हो । ओली समूहमा नलागेको भन्दै नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्तीको ठाडो निर्देशनमा तीन कर्मचारीलाई बर्खास्त गरिएको हो ।

ओली समूहका केन्द्रीय सदस्य रहेका नगर प्रमुख घर्तीले प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बुढाले उठाएको टिप्पणी सदर गरेका छन् । कर्मचारी बर्खास्त गर्दा अधिकृतले सदर गर्नुपर्ने भए पनि नगर प्रमुख आफैँले सदर गरेर हटाएको बर्खास्त परेका एक कर्मचारीले बताए । प्रचण्ड–नेपाल समूहमा लागेको भन्दै तीनै कर्मचारीलाई नगरपालिकाले स्पष्टीकरणसमेत सोधेको थियो ।

नगरपालिकाले ‘तपाईंहरू प्रचण्ड र माधव समूहको प्रेस संगठन कर्णाली प्रदेश सदस्य रहेका कारण किन बखास्त नगर्ने’ भनेर स्पष्टीकरण सोधेको थियो । तीनै जनाले आफूहरू कुनै पक्षमा नलागेको, तर विगतदेखि नै प्रेस संगठनमा रहेको जवाफ पठाएका थिए । आफू हरू प्रेस संगठनमा रहे पनि काममा बाधा नपारेको पत्रमा उल्लेख गरेका छन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *