आधा करोड खर्चेर संचालन गरिएको वायुउर्जा बिग्रियो
सुर्खेत, २१ फागुन ।
सुर्खेतको बराहताल गाउँपालिका–३ को हर्रेकाँडा बस्ती । बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको सुन्दर बस्ती । भौगोलिक रुपमा विकट । जहाँ ३५ घरधुरी मात्र छन् । तिमध्ये आधा घरधुरी दलित छन् । आर्थिक रुपमा पनि नागरिकहरु विपन्न छन् । केही वर्षअघि गाउँमा कच्ची सडक पुग्यो । तर हाल नियमित सवारी साधान चल्दैनन् । राष्ट्रिय विद्युत प्रशारण लाइन पुग्न सकेको छैन ।
यही बस्तीलाई सात वर्षअघि अर्थात २०७० मंसिर १५ गतेदेखि उज्यालो बनाउने प्रयास गरियो । गाउँलाई दियालो र टुक्कीमुक्त गर्ने अभियानको नेतृत्व गरे पूर्वशिक्षक विष्णुबहादुर शाहीले । उनको यो अभियानमा जिल्ला समन्वय समिति सुर्खेत, पूर्वसञ्चार राज्यमन्त्री तप्तबहादुर विष्ट, तत्कालीन तरंगा गाविस र स्थानीयहरुले हातेमालो गरे ।
विष्टले क्षेत्र विकास कोषबाट आठ लाख ५६ हजार दुईसय ३१ रुपैयाँ, एपीसी आयोजनाबाट ३९ लाख ९२ हजार पाँचसय, तत्कालीन गाउँ विकास समिति तरंगा विकासबाट दुईलाख १४ हजार आठसय ५० रुपैयाँ र उपभोक्ताले १६ हजार लगानी गरे । आयोजना सफल बनाउन पाँचलाख ८६ हजार बराबरको स्थानीयले जनश्रमदान गरे । कुल ५६ लाख ६६ हजार चारसय ३८ रुपैयाँको लागतमा ०७४ साउन ५ गते विधिवत रुपमा हर्रेकाँडा वायुउर्जा उत्पादन सुरु भयो । आयोजना सञ्चालन भएपछि गाउँमा उज्यालो छायो ।
३५ घरधुरी मध्ये २५ घरधुरीमा लाइन विस्तार भयो । तर ५६ लाखको उक्त आयोजना दुईवर्ष पनि टिकेन । २०७६ साउनमा चट्याङका सोलारमा क्षति पुग्यो । गाउँमा पुनः अन्धकार छायो । आधा करोड खर्च गरेर बनाएको वायु उर्जालाई पुनःसञ्चालनमा ल्याउन कसैले पहल गरेनन् । आयोजना मर्मत सम्हार गर्न स्थानीयहरु एक जुट भएनन् ।
आयोजना सञ्चालन गर्ने जिम्मेवारी पाएको समितिले पनि आर्थिक अभाव र स्थानीयको विमतिका कारण मर्मत गर्न सकेन् । यही कारण हाल वायु उर्जाबाट विद्युत उत्पादन बन्द भएको छ । आयोजना बिग्रीएको साढेएक वर्ष भइसक्दा पनि मर्मतसम्हार हुन सकेको छैन । यसको मारमा स्थानीय परेका छन् । उनीहरु पुनः दियालो र टुक्की बाल्नुपर्ने अवस्थामा पुगेका छन् ।
आयोजनामा राजनीति
हर्रेकाँडामा स्थानीयहरु राजनीतिक आस्थाका रुपमा विभाजित छन् । अन्य ठाउँमा जस्तै हर्रेकाँडामा नेपाली काँग्रेस र नेकपाप्रति आस्थाका रुपमा विभाजित छन् । आयोजनामा नेपाली काँग्रेसका नेता एवम् पूर्वसञ्चार राज्यमन्त्रीले क्षेत्र विकास कोषबाट आठलाख ५६ हजार दुइसय ३१ रुपैयाँ लगानी गरे ।
आयोजनाको अगुवाकर्ता पनि विष्टप्रति नजिक थिए । आयोजना बनाउँदा पूर्वशिक्षक विष्णुबहादुर शाही आफै उपभोक्ता समितिको अध्यक्ष बने । सबैको सहकार्यमा आयोजना बन्यो । तर आयोजना बिग्रिएपछि मर्मत गर्ने सन्दर्भमा राजनीति भयो । केही स्थानीयहरुले काँग्रेसका कारण आयोजना बनेको भनेपछि तत्कालीन एमालेका कट्टर आस्थावानहरु मर्मत सम्हार गर्न तयार भएनन् ।
विद्युत उत्पादन बन्द भएपछि काँग्रेसले बनाएको आयोजना भन्दै कम्युनिष्टहरुले अबदेखि प्रयोग नगर्ने अडान लिए । केहीले विद्युतको तारसमेत फिर्ता गरिदिए । यही राजनीतिक दाउपेजका कारण आयोजना मर्मतमा कसैले चासो दिएनन् । वायुउर्जा मर्मत र संरक्षणका लागि स्थानीयहरु एकजुट भएनन् । परिणामतः विद्युत उत्पादन बन्द भएको साढे एकवर्ष वित्दा पनि मर्मत हुन सकेको छैन ।
‘राजनीतिक दलहरु मिलेको भए गाउँपालिका र स्थानीय सरकारले पनि सहयोग गथ्र्याे’ नाम उल्लेख नगर्ने सर्तमा एक स्थानीयले भने, ‘आयोजनामा राजनीति गर्न खोजेकै कारण मर्मत सम्हारमा कसैले पर्यास गरेनन् ।’ विद्युत उत्पादन बन्द भएपछि सोलारका पाता, विद्युतका पोल र तारहरु जिर्ण बनिसकेका छन् ।
मर्मत गर्ने पैसा छैन
आयोजना सञ्चालन र रेखदेखको जिम्मेवारी पाएका स्थानीयले भने आर्थिक अभावकै कारण चट्याङ्ले क्षति पु¥याएको वायुउर्जाको मर्मत गर्न नसकेको बताएका छन् । ‘चट्याङ्ले सोलारका पाता र मुख्य भागमा क्षति पु¥याएको छ’ स्थानीय प्रेम गौतमले भने, ‘हामीलाई कुन ठाउँमा मर्मत हुन्छ भन्ने पनि थाहा छैन ।’
आर्थिक स्रोत नभएकै कारण आफूहरुले मर्मतको प्रयास नभएको उनको तर्क छ । ‘आर्थिक स्रोत नभएकै कारण मर्मत गर्न सकेका छैनौं’ उनले भने, ‘वायुउर्जा बिग्रिएपछि डेढ बर्षदेखि गाउँ नै अन्धकारमा छ ।’ यस्तै अर्का स्थानीय शेरबहादुर कुँवरले मर्मतका लागि वडापालिका र गाउँपालिकालाई जानकारी गराए पनि वेवास्ता गरेको गुनासो गरे । विद्युत उत्पादन बन्द भएपछि स्रोत हुनेहरुले घरमा सोलार किनेका छन् ।
निम्न बर्गलेहरु भने दियालो बाल्नुपर्ने पुरानै अवस्थामा पर्कनु परेको छ । सोलार नहुनेहरु मोवाइल चार्ज गर्नसमेत अर्काको घरमा धाउनुपर्छ । विद्युत उत्पादन बन्द भएपछि गाउँमा असुरक्षा बढेको तथा रातीमा काम गर्न असहज भएका े स्थानीयहरुल े जनाएका छन् ।
सोलार दिने वडाको घोषणा
यता बराहताल गाउँपालिकाका वडाध्यक्ष दत्तबहादुर बरालले अब वायुउर्जा मर्मत गर्नेभन्दा प्रत्येक घरधुरीलाई सोलार बाँढ्ने बताएका छन् । ‘वायुउर्जा मर्मत गर्नुपर्ने जिम्मेवारी स्थानीय नागरिकको हो’ उनले भने, ‘वडाले वायु उर्जा मर्मत गर्दैन, बरु सबै घरधुरीलाई सोलार दिन्छ ।’ चालु आर्थिक वर्षभित्रै हर्रेकाँडा सबै स्थानीयले सोलार पाउने उनको भनाइ छ ।
‘गाउँपालिकाले एक घर, एक सोलार कार्यक्रम चलाएको छ’ उनले भने, ‘गाउँलाई उज्यालो बनाउन हामी सबै घरधुरीलाई सोलार वितरण गर्दैछौँ ।’ यस्तै गाँउपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले भने आयोजना बिग्रिएकोबारे गाउँपालिकालाई समयमै जानकारी नभएको बताए ।
यसअघि कसैले पनि लिखित रुपमा जानकारी मर्मतमा ढिलाइ भएको उनको तर्क छ । ‘वायुउर्जा विग्रिएको जानकारी समयमै पाएनौँ’ उनले भने, ‘अब गाउँपालिकाको हिउँदे धिवेशनबाट मर्मत गर्ने योजना पेश गर्छौँ ।’ अधिवेशनबाट बजेट बिनियोजना गरेर मर्मत गरिने उनको भनाइ छ ।