खानेपानी तथा सरसफाइ योजनाको दिगोपनाका लागि गुर्भाकोटमा पालिका स्तरीय मर्मत–सम्भार कार्यशाला सम्पन्न

सुर्खेत ,२६ जेठ ।
गुर्भाकोट नगरपालिकामा सञ्चालनमा रहेका खानेपानी, सरसफाइ तथा स्वच्छता योजनाहरूको दिगोपना र प्रभावकारी सञ्चालन सुनिश्चित गर्ने उद्देश्यले पालिका स्तरीय मर्मत–सम्भार कार्यशाला गोष्ठी सम्पन्न भएको छ।
गुर्भाकोट नगरपालिका र एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रमको साझेदारीमा, हेल्भेटास नेपालको आर्थिक सहयोग तथा सुन्दर नेपाल संस्थाको सामाजिक तथा प्राविधिक सहजीकरणमा आयोजित कार्यशाला गोष्ठी गुर्भाकोट नगरपालिकाका नगरप्रमुख हस्त पुनको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा उपप्रमुख मैना विकको विशेष आतिथ्यता रहेको थियो।

कार्यक्रममा गुर्भाकोट नगरपालिकाका १ देखि १४ वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, विषयगत शाखाका प्रमुख तथा कर्मचारीहरूको सहभागिता रहेको थियो। साथै ५२० र ५६७ ग्रान्ट अन्तर्गत सञ्चालन भएका खानेपानी तथा सरसफाइ योजनाका अध्यक्ष, सचिव, कोषाध्यक्षलगायत पदाधिकारीहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यशालामा खानेपानी तथा सरसफाइ योजनाहरूको दीर्घकालीन सञ्चालन, नियमित मर्मत–सम्भार, सेवा प्रवाहमा देखिएका चुनौती, स्थानीय तहको भूमिका तथा समुदायको सहभागिताका विषयमा विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले योजनाहरूको दिगोपना कायम राख्न आवश्यक नीति, व्यवस्थापन र स्रोत परिचालनका उपायबारे आफ्ना सुझावसमेत प्रस्तुत गरेका थिए।

कार्यक्रममा वक्ताहरूले खानेपानी तथा सरसफाइका पूर्वाधार निर्माणसँगै तिनको नियमित मर्मत–सम्भार र प्रभावकारी व्यवस्थापनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए। उनीहरूले स्थानीय सरकार, उपभोक्ता समिति तथा सरोकारवाला निकायबीचको सहकार्यलाई अझ सुदृढ बनाउँदै गुणस्तरीय सेवा प्रवाह सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याए।
कार्यशालाले गुर्भाकोट नगरपालिकाभित्र सञ्चालित खानेपानी तथा सरसफाइ योजनाहरूलाई थप व्यवस्थित, दिगो र प्रभावकारी बनाउन महत्वपूर्ण आधार तयार गरेको सहभागीहरूले बताएका छन्।






